मेडिकल कलेजमा मनपरी भर्ना

906
  •  
  •  
  •  

काठमाडौं ९ पुस ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट सम्बन्धन पाएका दुई कलेजले प्रवेश परीक्षा नै नदिएका र अनुत्तीर्ण विद्यार्थी अनधिकृत रूपमा भर्ना लिएको भेटिएको छ। वीरगन्जस्थित नेसनल मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले प्रवेश परीक्षा नै नदिएका र फेल भएका गरी ४१ विद्यार्थीको अवैधानिक भर्ना लिएको फेला परेको हो।

आइओएमअन्तर्गतका कुनै पनि कलेजमा मेडिकल शिक्षा (एमबिबिएस/बिडिएस) अध्ययनका लागि संस्थानले लिने प्रवेश परीक्षामा कम्तीमा ५० प्रतिशत अंक ल्याएर अनिवार्य उत्तीर्ण हुनुपर्छ।

नेसनलले २२ अनुत्तीर्ण र १३ परीक्षा नै नदिएका भारतीयलाई अनलाइनमार्फत भर्ना लिएको हो। युनिभर्सलले पनि ५ अनुत्तीर्ण र १ जना परीक्षा नदिएका भारतीयलाई भर्ना लिएको पाइएको छ।

आइओएमअन्तर्गतका मेडिकल कलेजमा यस शैक्षिक सत्रका लागि भर्ना म्याद सोमबारै सकिएको छ। यस अवधिमा भर्ना पाएका विद्यार्थीको सूची अध्ययन गर्दा यस्तो तथ्य खुलेको हो।

आइओएमअन्तर्गतका कलेजले तोकिएका सिटमा अनलाइनबाटै विद्यार्थी भर्ना लिने प्रावधान छ। आइओएम, अख्यितार दुरुपयोग अनुसन्धान आयोग र नेपाल मेडिकल काउन्सिलको संयुक्त अनुगमनपछि यो वर्षका लागि युनिभर्सलले १ सय ३५ र नेसनलले १ सय २५ सिटमा विद्यार्थी भर्ना अनुमति पाएका छन्।

नेसनल राजधानीको घट्टेकुलोमा नयाँ मेडिकल कलेज खोल्ने प्रक्रियासमेत अघि बढाइसकेको कलेज हो।

प्रवेश परीक्षामा अनुत्तीर्ण र परीक्षा नै नदिएका विद्यार्थीलाई भर्ना लिएको खुलेपछि आइओएमका उच्च पदाधिकारीको बैठक बसे पनि दुई कलेजमाथि कस्तो कदम चाल्ने भन्ने निर्णयमा पुगिसकेका छैनन्। आइओएमका सहायक डिन डा. शरद वन्तले यसरी भर्ना भएका विद्यार्थी ‘भेरिफाई’ गर्नुपर्ने बताए। ‘गुणस्तरका लागि नै आइओएमले प्रवेश परीक्षा लिन सुरु गरेको हो,’ उनले मंगलबार नागरिकसँग भने, ‘प्रक्रिया नपुर्यापई आएका सबै अनभ्यालिड हुन्छन्।’

नेपाली विद्यार्थीबाट लिनेबराबर शुल्क भारतीय रुपैयाँमा लिन यस्ता कलेजले पाएसम्म भारतीय विद्यार्थी भर्ना लिने गरेका छन्।

नेपाल मेडिकल काउन्सिल ऐनमा चिकित्सा विज्ञान पढ्ने विद्यार्थीले भर्नाअघि प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ। कलेजहरूले भने यो नियम नेपाली विद्यार्थीका लागि मात्र लगाउने गरेका छन्, भारतीयलाई परीक्षाबिनै भर्ना लिन्छन्। आइओएमले भने महाराजगन्ज कलेजमा पढ्ने विदेशी विद्यार्थीका लागि पनि प्रवेश परीक्षा लिने गरेको थियो। डा. वन्तका अनुसार नेपालमा जुनसुकै कलेजमा, जुनसुकै देशबाट आएर पढ्ने भए पनि न्यूनतम योग्यतामा एकरुपता कायम गर्न यस्तो निर्णय लिइएको बताए।

मनपर्दी भर्ना लिँदा कलेजले एमबिबिएस उत्तीर्ण गराइदिनेसम्म ‘ठेक्का’ लिने गरेको, परीक्षा सञ्चालन गर्न जाने चिकित्सकलाई पास गराउन ठूलो दबाब दिने गरेको तथ्य अख्तियारद्वारा गठित छानबिन समितिले २०७० वैशाखमा दिएको प्रतिवेदनले नै औंल्याएको थियो।

त्यस्ता कलेजमा पढ्ने नेपाली विद्यार्थीको पनि गुणस्तरमा असर परेको भन्दै अख्तियारले प्रवेश परीक्षाबिना विद्यार्थी भर्ना बन्द गर्न शिक्षा र स्वास्थ्य मन्त्रालय तथा मेडिकल काउन्सिल र विभिन्न विश्वविद्यालयलाई निर्देशन दिएको थियो।

अख्तियारको निर्देशनलगत्तै आइओएमको १६७ औं विद्या परिषद बैठकले आफ्ना कलेजमा स्नातक तहका सम्पूर्ण शैक्षिक कार्यक्रममा भर्ना लिन स्वदेशी तथा विदेशी विद्यार्थीका लागि एउटै प्रवेश परीक्षा लिइने र उक्त प्रवेश परीक्षाको केन्द्र काठमाडौंमै रहने निर्णय गरेको थियो। यो आइओएमको सबैभन्दा उच्च निकाय हो।

बैठकले स्वदेशी तथा विदेशी विद्यार्थीको प्रवेश परीक्षाको उत्तीर्ण सूची छुट्टाछुट्टै प्रकाशित गरी योग्यता क्रमअनुसार भर्ना लिने निर्णयसमेत लिएको थियो। सोही निर्णयअनुसार गत वर्ष आइओएमले नेपाली विद्यार्थीका लागि काठमाडौंमा र विदेशी विद्यार्थीका लागि कलेजमै पुगेर प्रवेश परीक्षा लिएको थियो। यस वर्ष भने विदेशीलाई पनि एकैठाउँ राखेर परीक्षा लिएको थियो। त्यस क्रममा २३ जना मात्रै विदेशी विद्यार्थीले प्रवेश परीक्षा पास गरेका थिए।

नेपाल मेडिकल काउन्सिल र आइओएम नियमअनुसार एमबिबिएस र बिडिएस शैक्षिक कार्यक्रममा भर्ना हुन आवेदन दिन नै विद्यार्थीले विज्ञान विषयमा उच्च माध्यमिक वा सोसरहको परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याएको हुनुपर्छ। यसका लागि फिजिक्स, केमेस्ट्री र बायोलोजी विषयमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्छ। योग्य विद्यार्थीबाट आएको दरखास्तका आधारमा आइओएमले प्रत्येक वर्ष प्रवेश परीक्षा लिन्छ।

आइओएमले गत भदौ १४ र १५ गते मातहतका ७ मेडिकल र २ डेन्टल कलेजमा चालु शैक्षिक वर्षको एमबिबिए र बिडिएस भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको थियो। जसमा साढे ९ हजार विद्यार्थी सामेल भएकोमा ५० प्रतिशतभन्दा बढी ल्याएर ६५ प्रतिशतभन्दा बढी उत्तीर्ण भएका थिए। तीमध्येबाट भर्ना भएकाको पठनपाठन मंसिर १ बाटै सुरु भइसकेको छ।

कलेजहरूले शैक्षिक सत्र सुरु भएको ३५ दिनसम्म मात्र भर्ना लिन पाउँछन्। जसअनुसार पुस ६ गते नै यस वर्षको भर्ना म्याद सकिएको छ।

कलेजका सञ्चालकले भने यो तथ्य इन्कार गरे। युनिभर्सलका सञ्चालक खुमा अर्यालले प्रवेश परीक्षा नै पास नभएका विद्यार्थी भर्ना गर्न नमिल्ने दाबी गर्दै त्यस्ता विद्यार्थी आफ्नो कलेजमा भर्ना नभएको बताए।

ती कलेजले आइओएमले तोकेको सीमाभित्र भर्नाका लागि पटक–पटक सूचनासमेत जारी गरेका थिए। तुलनात्मक रूपमा कमजोर पढाइ र महँगो शुल्कका कारण विद्यार्थी नपाएपछि अवैध भर्ना गराएका यी कलेजले पुनरावेदन अदालत, पाटनमा मुद्दा दायर गरेर आइओएम निर्णयलाई नै चुनौती दिएका छन्। उक्त मुद्दामा अदालतले पुस ११ सम्म भर्ना प्रक्रिया कार्यान्वयन नगर्न आदेश दिँदै सोही दिन दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

स्रोतका अनुसार अदालतको फैसला कुरिरहँदा आइओएमको भर्ना म्याद सकिने भएकाले ती कलेजले कानुनी लडाइँको बाटोसमेत खुला राख्न अयोग्य विद्यार्थी भर्ना लिएका हुन्।

अख्तियारको निर्देशनसँगै काउन्सिल र विश्वविद्यालयले समेत विदेशी विद्यार्थी भर्नामा कडाइ गरेपछि पछिल्लो समय तराई क्षेत्रका, कमजोर प्राज्ञिक क्षमताका कलेजले कोटाअनुसार विद्यार्थी नै नपाउने अवस्था आएको छ।

कलेजहरूले बढी शुल्ककै लागि भारतीय विद्यार्थी भर्ना गराउने गरेको भन्दै अख्तियारले प्रत्येक कलेजमा कम्तीमा ५० प्रतिशत नेपाली विद्यार्थी पढाउनुपर्ने व्यवस्था गर्न निर्देशन दिए पनि कलेजहरूले कार्यान्वयन गरेका छैनन्।
वेश परीक्षा पास नगरी भर्ना पाएकाहरू
नाम प्राप्तांक

अनामिका सिन्हा २४

अनुराग पाण्डे ४०

आयशा अन्जुम ३२

आयुश कुमार ४५

देवोप्रिया राय ३७

फैजान साहिद सेख २६

फाजल हाकुई ३५

कलहस्तिनागा जह्नावी ४२

कौशिकी सिन्हा ४९

नवजीवन खताना ४३

पालक बर्मा ३४

प्रशान्त सिंह ३६

सदाफ नेयाज ३६

सैयज अलाम अन्सारी ४४

साना फिरोज २९

सराफेराज अख्तर ३७

श्यामल कोली ३१

सिएद सोहेल २८

तब्रेज खान २६

उज्मा प्रविन ३६

यति गुप्ता २५

जरिया मसिह ३३

अमित जंग्रा ३५

अंकुरराज गुप्ता ३३

अंशुमान सिंह २५

अनुप्रिया रे २४

साक्षी सिंह ४८

प्रवेश परीक्षा नदिई भर्ना पाएकाहरू
आशा पाण्डे, बोब्बी कुमारी, दनिया दिलसाद, गौरव घोस, जे. विनोद रेड्डी, कृष्णेन्दु दास, नेदा नेयाज, ओइला रोय, ओलेती रवि, प्रियाद चौधरी, सहबाज नायार, स्वर्ण, सेडा मधिमा फहिम, तजिन कौसार
नागरिकबाट


  •  
  •  
  •