मेक्स नेपालद्धारा कमोडिटिजमा चाँदीको कारोबार शुरु

593
  •  
  •  
  •  

काठमाडौं, २४ जेठ (ओएनएस): कमोडिटिजको कारोबार गर्ने संस्था मर्कन्टालय एक्सचेन्ज नेपाल (मेक्स नेपाल) ले विहिवारदेखि नेपालमा पहिलो पटक चाँदीको कारोबार शुरुगरेको छ । कम्पनिले चाँदीको भौतिक हस्तान्तरणसहितको करार शुरु गरेको जानकारी दिएको छ । कम्पनिले सेन्चुरी कमर्सियल बैंकसँग सहकार्य गरि २० किलोग्रामको एक लट तोकेर कारोबार शुरु गरेको हो । एक्सचेन्ज प्रकृयाबाट हुने भौतिक हस्तान्तरणमा लगानीकर्ताले आफूले माग गरे बमोजिमको चाँदी बैंकको तोकिएका शाखाहरुबाट लिनसक्ने बताईएको छ । कम्पनिका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रनले आगामी दिनमा स्थानिय बजार र स्थानिय वस्तुको व्यापारमा सहजिकरण गर्नका लागि स्थानिय कृषि उपजलाई पनि सफ्टवेयरमा स्थान दिने बताए ।

चाँदीको कारोबार गर्न लगानीकर्ताले सेन्चुरी बैंकमा खाता खोल्नुपर्ने र मेक्स नेपालमा ग्राहकका रुपमा दर्ता गराउनुपर्नेहुन्छ । भौतिक हस्तान्तरणका लागि कुल करार रकमको १५ प्रतिशत रकम मात्र जम्मा गर्नुपर्नेछ भने करार अवधि १५ दिनको हुने बताईएको छ । कम्पनिले प्रतिस्पर्धात्मक मुल्यमा चाँदीको कारोबार गराउने जानकारी दिएको छ भने करारको लागि कमिशन १२०० रुपैंया र भ्याट तिर्नुपर्नेछ ।

यो करार नेपालमा स्वचालित सफ्टवेयरबाट पूर्ण विकसित रुपमा भौतिक हस्तान्तरण गर्न मिल्ने पहिलो धातुजन्य वस्तुको करार भएको कम्पनिको भनाई छ ।


  •  
  •  
  •