काठमाडौँ, २२ जेठ (ओएनएस): नेपाली बजारको खाद्यन्न, तेल, सिमेन्ट, जलविद्युत, हर्बल निष्कर्षन, निर्माण, बैकिङ, वित्त लगायत अन्य विभिन्न क्षेत्रमा योगदान दिँदै आएको के.एल. दुगड ग्रुपका उपाध्यक्ष नरेश दुगडलाई मेक्सिकी परराष्ट्र मन्त्रालयद्वारा मेक्सिकोका लागि वाणिज्य दूत नियुक्त गरिएको छ ।
नरेश दुगडको नेतृत्वमा के.एल. दुगड ग्रुपले अन्तर्राष्ट्रिय व्यवसाय र व्यापारका क्षेत्रमा निकै सफलताहरु हासिल गरेको कम्पनिले जनाएको छ । के.एल. दुगड ग्रुपको उपाध्यक्ष हुनुका साथै दुगड नेपाल वाणिज्य संघका कार्यकारी सदस्य र कुमारी बैँकका निर्देशक पनि हुन् ।
मेक्सिकोका वाणिज्य दूतमा नरेश दुगडको औपचारिक नियुक्तिका साथै नेपालमा वाणिज्य दूतावास कार्यालयको उद्घाटन र दुवै देशको ध्वज उत्थापन समारोहका लागि मेक्सिकी परराष्ट्र मन्त्रालयद्वारा नेपालमा विशेष समारोहको आयोजना गरिएको छ । नेपालमा मेक्सिकी वाणिज्य दूतावास कार्यालय के.एल. दुगड ग्रुपको चारखाल, डिल्लीबजार स्थित परिसरमा नै खोलिएको छ । बुधवार आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका लागि मेक्सिकोका राजदूत जेमी नुवालार्ट पनि उपस्थित भएका थिए ।