माघ ८ पछि ठूला मुद्दा दायर गर्ने अख्तियारको तयारी

835
  •  
  •  
  •  

काठमाडौं ७ माघ ।  एक महिनादेखि रंगेहात घूस र नक्कली प्रमाणपत्र अभियोगमा मुद्दा दायर गर्नमै सीमित अख्तियार दुरुपयोग अनुसन्धान आयोग माघ ८ सम्म ‘पर्ख’ र ‘हेर’ को रणनीतिमा रहेको छ । आयोगले संविधान घोषणा गर्ने पूर्वनिर्धारित मिति नजिकिँदै गएका बेला दलहरूको ध्यान अन्यत्र नमोडियोस् भनेर माघ ८ पछिमात्रै भ्रष्टाचारका ठूला मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

‘संविधानसभाबाट संविधान जारी गर्न प्रमुख दलहरूमध्ये सत्तापक्षले प्रक्रिया अघि बढाउन खोजेको र विपक्षीले सहमतिमा जोड दिँदै सभा अवरुद्ध गरिरहेका बेला भ्रष्टाचारका ठूला मुद्दा अघि सार्दा ध्यान बिथोलिने निष्कर्षका साथ आयोग केही समय मौन भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘अहिले सामान्य प्रकृतिका भ्रष्टाचारमुद्दामा मात्रै निर्णय गर्ने र माघ ८ पछिमात्रै ठूला मुद्दा अघि बढाउने तयारी छ ।’ आयोगका पदाधिकारीहरूबीच पछिल्लो एक महिना आक्रामक योजनालाई थाती राख्ने योजना बनेको स्रोतले बतायो ।

मंसिर र पुसमा अख्तियारले भ्रष्टाचारका दुइटा मात्रै ठूला प्रकृतिका मुद्दा दायर गरेको छ । त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीहरूको ८० लाख रंगेहात घूस र एमबीबीएस प्रश्नपत्र चुहावट प्रकरणबाहेक ठूला प्रकृतिका अरू छानबिन निर्णयमा पुगेका छैनन् । तर आयोगले झोले विद्यालय, रंगेहात घूस र नक्कली प्रमाणधारी विरुद्ध दिनहुँजसो एउटा मुद्दा दायर गरिरहेको छ । आयोगले साना प्रकृतिका रंगेहात घूससहित संलग्न पक्राउ गर्ने अभियान भने जारी राखेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाले आयोगले नियमित रूपमा आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए । ‘ठूलो/सानो भन्ने नै हुँदैन, आयोगले नियमित रूपमा काम गरिरहेको छ,’ सापकोटाले कान्तिपुरसित भने, ‘नियमित रूपमा आफ्नो काम जारी राखेको आयोगले अरू परिस्थिति हेरेर निर्णय गर्ने होइन ।’ आयोगले कुनै कालखण्ड उल्लेख गरेर छानबिन रोक्ने निर्णय नगरेको पनि उनले दाबी गरे ।

स्रोतका अनुसार निर्णय नभए पनि केही ठूला प्रकृतिका अनुसन्धान टुंगिएको अवस्थामा छन् । अखिल नेपाल फुटबल संघ -एन्फा), पशुपति क्षेत्र विकास कोष, नेपाल पर्यटन बोर्ड जस्ता निकायमा भएको अनियमिततामा छानबिन निष्कर्षउन्मुख छ । ‘माघ ८ को सेरोफेरोमा यस्ता मुद्दा अघि सार्न उपयुक्त नहोला भनेर केही समय पर्खिएको हो,’ स्रोतले भन्यो, ‘लगत्तै केही मुद्दाबारे आयोगको बोर्डले निर्णय गर्नेछ ।’

पशुपति क्षेत्र विकास कोषमा भएको अनियमिततामा छानबिन चलिरहेको छ ।

सामान खरिद र बालुवा ठेक्का लगायतका घटनामा कोषका केही तत्कालीन पदाधिकारीहरूको पनि संलग्नता देखिएको स्रोतले बतायो । कोषको छानबिनमाथिको निर्णय माघ ८ लगत्तै हुने सम्भावना रहेको आयोगकै एक कर्मचारीले बताए । छानबिन सकिएका केही मुद्दा पनि माघ ८ अघि अनिणिर्त हुने भएका छन् । लेखा समितिको निर्देशनमा छानबिन भइरहेको नेपाल पर्यटन बोर्डमा भएको अनियमितताको अनुसन्धान पनि माघ ८ पछि मात्रै निष्कर्षमा पुग्ने आयोग स्रोतले बतायो । त्यसैगरी एन्फा अनियमितता र शान्ति कोषको रकम दुरुपयोग छानबिनमा पनि समय लाग्ने आयोगले जनाएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन गत मंसिर २२ गते आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त लोकमानसिं कार्कीले ‘ठूला माछा’ समाउन उपयुक्त समय चाहिने बताएका थिए । आयोगलगायत अरू दुई संस्थाको आयोजनामा भएको कार्यक्रममा उनले भनेका थिए, ‘नेपालमा राजनीतिक तरलता लगायतका समस्या छन् । आयोगले उपयुक्त समयमा ठूला माछा पनि समाएर आम जनताको बीचमा ल्याउनेछ ।’ नीतिगत र ठूलो परिमाणमा भ्रष्टाचार गर्ने राजनीतिकर्मी र उच्चपदस्थ अधिकारीहरूमाथि कारबाहीमा अख्तियार सक्रिय हुन नसकेको भनी आलोचित हुने गरेको छ ।

गत वर्ष संविधानसभा निर्वाचनका क्रममा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सुरु भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमाथिको निर्णय, मुद्दा दायर र

अन्य कारबाहीलाई केही समय निष्त्रिmय बनाएको थियो । निर्वाचनको दुई महिना अवधिमा एकाध अपवादबाहेक एउटा पनि मुद्दा दायर गरेको थिएन भने केही विवादास्पद अनियमितता प्रकरण छानबिन पनि बीचमै रोकेको थियो । कान्तिपुरबाट


  •  
  •  
  •