काठमाडौं, १९ जेठ (ओएनएस): नेपालमा भारतीय लगानी भित्र्याउन नेपाल भारतमा नेपाल इन्भेष्टमेन्ट समिट आयोजना हुने भएको छ । फेडरेशन अफ इन्डियन चेम्बरर्श अफ कमर्श एण्ड इन्डष्ट्रि(फिक्की) ले नेपालमा भारतीय लगानी अभिवृद्धि गर्ने उदेश्यका साथ भारतमा नेपाल इन्भेष्टमेन्ट समिट आयोजना गर्ने भएको छ । फिक्कीले नेपालमा भारतीय लगानीलाई अभिवृद्धि गर्ने उदेश्यका साथ नेपाल इन्भेष्टमेन्ट समिट गर्न लागेको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको सपथ ग्रहण समारोहमा सहभागी हुन गएका प्रधानमन्त्री सुशिल कोइरालासँग फिक्कीका अध्यक्ष सिद्धार्थ विरलाले भेटमा उक्त समिट गर्ने छलफल भएको बताईएको छ । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले नेपालमा स्थाई सरकारको आगमन र खुला अर्थव्यवस्थाका कारण आएका अवसरका बारेमा फिक्कीलाई जानकारी दिएका थिए ।
फिक्कीले लगानी बोर्डको सहकार्यमा उक्त संभावनालाई उजागर गर्न निकट भविश्यमा भारतमा नेपाल इन्भेष्टमेन्ट समिट गर्न लागेको फिक्कीका अध्यक्ष विरलाले भारतीय संचारमाध्यमलाई जानकारी दिएका हुन् ।
उक्त इन्भेष्टमेन्ट समिटको उदेश्य नेपालमा भारतीय लगानीलाई उत्प्रेरित गर्नु र दुई छिमेकीबिच व्यापार सन्तुलन गर्न नेपाललाई औद्योगिकीकरण क्षमता अभिवृद्धि गर्नु रहेको उनको भनाई छ ।
यता लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने इन्भेष्टमेन्ट समिट गर्ने कुराकानी मात्र भएको र त्यसको बारेमा केहि जानकारी नभएको बताए । यदि समिट गर्ने नै हो भने पनि कम्तिमा पनि ६ महिना लाग्ने भन्दै उनले ठोस लगानी आउने गरि मात्र समिट आयोजना गर्नुपर्ने धारणा व्यक्त गरे ।