काठमाडौं ८ असार (ओएनएस) बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल बौद्धनाथ स्तुपाको एक शताब्दीपछि जोर्णोद्धार गरिएको छ ।
बौद्ध नाथ स्तुपको म्हाने भित्ताहरु र बगैंचाको पुर्ननिर्माण गरिनुको साथै रंगरोगन गरिएको हो । यसअघि लोडसेडिङको बेला अँध्यारो देखिने बौद्धनाथ स्तुप जिर्णोद्धारपछि हरेक साँझ झलमल्ल देखिन्छ । ‘दुई लाइन बत्ती र स्वचालित जेनेरेटरको व्यवस्था गरेका हौं’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्ण कुमार लामाले भने ।
जिर्णोद्धार गरिएको मध्ये स्तुपलाई वरिपरि आड दिने म्हाने भित्ताको इतिहास रोचक छ । तिब्बतबाट आएका धर्मगुरु शाक्य तोकतेनश्रीले आफ्नै नीजि लगानीमा सय बर्षअघि घुम्ने म्हानेसहितको भित्ता बनाएर मुल स्तुपलाई सुरक्षित पारेका थिए ।
उनको पालामा नसकिएपछि छोराहरुले पुरा गरेको म्हानेभित्ता धेरै अघिदेखि उक्किएको, म्हाने विग्रिएको र काठहरु मक्किएको भएपनि जीर्णोद्धार हुन सकेको थिएन । अध्यक्ष लामाका अनुसार संस्कृति मन्त्रालय अन्र्तगत रहेको बौद्धनाथ क्षेत्र विकास समितिले ५० लाख लगानीमा नयाँ स्वरुप दिएको हो ।
‘म्हाने फ्रेमहरु कुहिदै गइसकेको थियो’ समितिका अध्यक्ष सम्पुर्ण कुमार लामाले भने, ‘७५ वटा त नयाँ नै हाल्यौं ।’
म्हाने भित्तासँगै वगैंचा व्यवस्थापन र मुल स्तुप लगायत आसपासमा रंगरोगन समेत गरिएको लामाले बताए । भित्तामा भने बज्र प्लास्टर गरिएको छ । बौद्ध परम्परामा प्रचलित यो प्रविधि लामो समय टिक्ने मानिन्छ । निर्माण ताका तिब्बती गुरु शाक्य तोकतेनश्रीले पनि बज्र प्लास्टर नै गरेका थिए ।
जिर्णोद्धारपछि अवतारी लामा लोप्साङ नामग्याल रिम्पोछेले बौद्धनाथ स्तुप परिसरमा प्राण–पतिष्ठा (¥हाप्ने पुजा) गरेका थिए । बौद्धमार्गीहरु यसलाई ¥हाप्ने पुजा भन्छन् । कुनै पनि काम सम्पन्न भएपनि प्राणप्रतिष्ठा तथा सु–प्रतिष्ठाको रुपमा ¥हाप्ने गर्ने चलन बौद्ध परम्परामा छ ।
पाँचौं शताब्दीमा एउटी सामान्य महिला झ्याझिमाले बौद्धनाथ स्तुपा निर्माण शूरु गरिएको मानिन्छ । पछि उनका चार छोराले सयबर्ष लगाएर निर्माण पुरा गरेका थिए ।