काठमाडौं, २४ साउन : नेपालबाट प्लाष्टिकका झोला २०७१ सालसम्म घटाऔं, २०७२ सम्म हटाऔं भन्ने मूल नाराका साथ दि जेन नेप–राष्ट्र पहिले युवा सञ्जालले अभियान सञ्चालन गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै दि जेन नेप–राष्ट्र पहिले युवा सञ्जालले नेपालमा प्लाष्टिकका झोला वातावरणीय, आर्थिक र सामाजिक दृष्टिकोणले पनि प्रयोग गर्न अत्यन्तै हानिकारक हुने भन्दै यसलाई पूर्णरुपमा बन्देज गर्नुपर्ने बताएको छ ।
सञ्जालमा आवद्ध सवै युवाहरूले यसवारे जनचेतना फैलाउन देशव्यापी अभियान समेत सञ्चालनमा ल्याउन लागेका छन् । सञ्जालले प्लाष्टिकका झोला प्रतिबन्ध गर्ने उद्देश्यले “नो थ्याङ्स, आई क्यारी माई आवन ब्याग ” भन्ने नारा समेत सार्वजनिक गरेको छ । दि जेन नेप–राष्ट्र पहिलो युवा सञ्जालका अध्यक्ष प्रदिप खतिवडाले आफूहरू नेपालबाट प्लाष्टिकका झोला हटाई छाड्ने उद्घोषका साथ यो अभियानमा लागेको बताउँदै सवैलाई यो अभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले भने, ‘प्लाष्टिकका झोलाका प्रयोग गर्नु कुनै पनि हिसावले राम्रो होइन । हामी अहिलेका युवा एक जिम्मेवार पुस्ता हौं र त्यसै कारण हामी आफूले गरेको फोहोर भावी पुस्ताको लागि छाडेर जाँदैनौ । मलाई विश्वास छ, यो अभियानले हाम्रो वातावरण अत्यन्तै सुन्दर बनाउन सहयोग गर्नेछ ।’
त्यस्तै कार्यक्रममा हिमालयन क्लाईमेट इनिसिएटिभ अन्तर्गत नेपालमा प्लाष्टिकको विकल्पका लागि ल्याइएको हाम्री बहिनी नामक कार्यक्रमकी नेतृत्वकर्ता सिलसिला आचार्यले नेपालमा प्लाष्टिकका झोला किन प्रयोग गर्न हुँदैन भनेर प्रकाश पारेकी छिन् । आचार्यले काठमाडौंमा मात्रै दैनिक ४७ लाख प्लाष्टिकका झोलाहरू प्रयोग भएको जानकारी दिँदै प्लाष्टिकका झोला प्रयोग पश्चात् अत्यन्तै अव्यवस्थित् रुपमा फालिँदा वातावरण नै प्रदुषण भएको बताइन् ।
कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र अभिनेता कर्मा शाक्यले पनि यो अभियानमा ऐक्यबद्धता व्यक्त गरेका छन् । उनीहरूले आफूहरू पनि प्लाष्टिकका झोला प्रयोग गर्नुहुँदैन भनेर विगत ७ महिनादेखि यो अभियानमा लागेको प्रष्ट पारेका छन् । अभिनेत्री ऋचा शर्माले त आफूले जिन्दगीमा कहिल्यै पनि प्लाष्टिक प्रयोग नगर्ने भनेर प्रतिबद्धता नै व्यक्त गरेको स्मरण गर्दै आगामी दिनमा सवैलाई प्लाष्टिकका झोलालाई प्रतिबन्ध गर्न समेत आग्रह गरेकी छिन् ।