प्रहरी दवावमा नक्कली कागज प्रकरण

1399
  •  
  •  
  •  

 

 

काठमाडौं, जेठ २९ (ओएनएस)  । महानगरीय प्रहरी अपराध महाशाखाले दवाव दिएर जवरजस्ति ५ करोड ९५ लाख ३२ हजार रुपैयाँको कागजात बनाएको प्रकरणमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको छ ।

सोलुखम्बु जमिङ की ४३ वर्षीया बन्दी ङिमा शेर्पासँग मिलेमतो गर्दै महाशाखाका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरि पालले बुढानीलकण्ठ बस्ने पासाङ नुरु शेर्पालाई जवरजस्ति लेनदेन मुद्दा भन्दै कागज गराएका थिए ।

बन्दी ङिमाको प्रलोभनमा परेर गत भदौं १४ देखि १६ सम्म महाशाखाको हिरासतमा राख्दै एसपी पालले चरम यातना दिएको पासाङले बताए । गलैचा निर्यात गर्दै आएका पासाङसँग धेरै रकम रहेको जानकारी पाएपछि प्रहरीसँग मिलेमतो गर्दै कागजात गराएको प्रकरण छानविनमा पुगेको हो । एसपी पालको प्रधान कार्यालय सरुवा भइसकेको छ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) पर्शुराम खत्रीसँग लाजिम्पाटको ग्यान्जोङ होटलमा कफी खाएर बसेको समयमा पासाङलाई शुक्रबारको दिन पारेर प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ गर्दा शनिबार पनि हिरासतमै राख्न पाउने उदेश्यले आफूलाई पक्राउ गरेको पासाङले बताए । यो प्रकरण प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालसम्म पुगेको छ । आइजीपी अर्यालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान अघि बढेको स्रोतले बतायो । पछिल्लो समय बन्दी ङिमाको परिवार यो प्रकरणले बदनाम भएको भन्दै मिल्न पासाङका परिवारसँग अनुनयविनय गर्न थालेको पासाङको परिवारले जनाएको छ । यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पाको नाम र आडमा ठगी भएको पासाङको परिवारको दावी छ ।

बन्दी ङिमा आङछिरिङकी बहिनी हुन् । एसपी पाल भने सम्पर्कमा आउन चाहेनन् । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले यो घटनाको प्रहरीले छानविन गरिरहेको बताए । उनले भने, ‘छानविन भइरहेको छ, केही समयपछि तथ्य बाहिर आउने छ ।’


  •  
  •  
  •