काठमाडौं २२ पुस ।
मुख राजनीतिक दलहरू संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सहमतिका लागि दिएको सोमबारसम्मको म्याद बेवास्ता गर्दै अघि बढ्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटामार सोमबार बसेको कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा सहमति जुट्न नसकेपछि सभाध्यक्षले दिएको सोमबारसम्मको म्याद गुज्रिएको हो।
सभाध्यक्षले सहमतिका लागि दिएको म्यादबारे आफूहरूको कुनै टिप्पणी नभएको भन्दै दलहरूले उनको निर्देशन ‘इग्नोर’ गरेका हुन्।
‘संविधानसभा अध्यक्षलाई म्याद तोक्ने अधिकार कहाँ छ?’ चार दलको बैठकमा सहभागी मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्नपूर्णसँग भने, ‘त्यस विषयमा सभाअध्यक्षलाई नै सोध्नुस्।’
नेम्बाङले बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरूलाई भनेका थिए, ‘सोमबारसम्म विवादित विषयमा सहमति गर्नुस्। यसो भए प्रक्रिया छोट्ट्याई नियम निलम्बन गरेर माघ ८ गते संविधान जारी गर्न सकिन्छ।
मेरो प्राथमिकता यसैमा छ। यसो गर्न सक्नुभएन भने ब्याक अफ दी माइन्ड एउटा बिन्दुसम्मका नियम निलम्बन गरेर संविधानको प्रारम्भिक मस्यौदा पेस गर्ने अधिकार मलाई दिनुस्।’
सभाध्यक्षले दिएका दुई विकल्पमा दलहरूले कुनै निर्णय लिन नसकेपछि माघ ८ मा नयाँ संविधान आउने सम्भावना करिबकरिब टरेको छ।
चार राजनीतिक शक्तिको बैठकमा एमाओवादी र मधेसी मोर्चाका नेताले संविधानबारे गठबन्धनका ३० दलको नौबुँदे साझा अवधारणा राखेका थिए। ‘हामीले ३० दलीय मोर्चाले निर्णय गरेको संविधानका विषयमा नौबुँदे अवधारणा चार दलको बैठकमा पेस गरेको छौं’, बैठकपछि सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘हाम्रो प्रस्तावमा कांग्रेस-एमालेको धारणा मागेका छौं।’
एमाओवादी र मधेसी मोर्चाले ३० दलको अवधारणा पेस गरेर बाहिरिएपछि कांग्रेस-एमाले नेतामात्रै बालुवाटारमा अबेरसम्म छलफलमा बसेका थिए। दुई सत्तासीन दलको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले सबै पार्टीका आआफ्ना अडान भएकाले सबै एक कदम अघि बढेर सहमतिका लागि तयार हुनुपर्ने धारणा राखेका थिए।
सभाध्यक्षले दिएका दुई विकल्पमा दलहरूले कुनै निर्णय लिन नसकेपछि माघ ८ मा नयाँ संविधान आउने सम्भावना करिबकरिब टरेको छ।
कांग्रेस-एमालेले संघीयता र शासकीय स्वरूपमा एमाओवादी र मधेसी मोर्चालाई थप लचिलो हुन आग्रह गरेका छन्। ‘सबै दल अडानबाट माथि उठेर अघि बढौं भन्ने दुई दलको निष्कर्ष हो’, बैठकमा सामेल कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘मंगलबार बस्ने बैठकमा विस्तृत छलफल हुन्छ।’
बैठक सुरु भएलगत्तै कांग्रेस-एमालेले एमाओवादी र मधेसी मोर्चासँग केके विषयमा लेनदेन गर्न सकिन्छ भन्ने विषयमा पहिला आफैंभित्र कुराकानी गर्नु आवश्यक भएको भनेपछि सहमतिका लागि मंगलबार विस्तृत छलफल हुने भएको छ।
‘तपाईंहरू (एमाओवादी र मधेसी मोर्चा) सँग केके विषयममा लेनदेन गर्न सकिन्छ, पहिला हामी छलफल गर्छौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘तपाईंहरूसँग मंगलबार विस्तृत छलफल गर्छौं।’
अन्नपूर्णपोष्टबाट