नर्सिङ कलेज खोल्न आफ्नै अस्पताल हुनुपर्ने

158
  •  
  •  
  •  

काठमाडौं, ११ कात्तिक ।  स्वास्थ्य मन्त्रालयले नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेको छ । सरकारी अस्पताल देखाएर निजी नर्सिङ कलेजको सम्बन्धन लिन नपाउने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार हाल सरकारी अस्पतालमा इन्टर्नसिप गराइरहेका कलेजहरूले तीन वर्षभित्र आफ्नै अस्पताल बनाउनुपर्नेछ । सीटीईभीटीका अनुसार अहिले सरकारी अस्पताल देखाएर २५ कलेज सञ्चालनमा छन् ।
यी कलेजले आफ्नै अस्पताल नबनाए तीन वर्षभित्र खारेज गर्ने सरकारी तयारी छ । २५ कलेजमध्ये राजधानीको वीर अस्पतालका नाममा मात्रै तीन निजी नर्सिङ कलेज सञ्चालनमा छन् । नियमअनुसार एउटा अस्पतालको नाममा २ वटाभन्दा बढी सञ्चालन गर्न पाइँदैन । मन्त्रालयले सरकारी अस्पताल देखाएर स्वीकृति लिएकाले तीन वर्षभित्र आफ्नै अस्पताल बनाउनुपर्ने र अब स्वीकृति लिँदा सरकारी अस्पताल देखाउन नपाउने निर्णय गरेको हो । भदौ ९ को उक्त निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई परिपत्र गरिसकेको छ । ‘पत्र आइसकेको छ,’ सीटीईभीटीका सदस्य सचिव रामहरि लामिछानेले भने, ‘एक्लैले कार्यान्वयन गर्न गाह्रो छ । स्वास्थ्य, शिक्षा मन्त्रालय र नर्सिङ परिषद्सँग पनि समन्वय गरेर अघि बढ्छौं ।’
अब नयाँ नर्सिङ कलेजले स्वीकृति लिँदा ५० शय्याको अस्पताल भएकाले २० र सय शय्या भएकाले ४० विद्यार्थी पढाउन पाउने व्यवस्था गरिएको छ । मन्त्रालयको पत्रमा स्वास्थ्य संस्था स्थापना, सञ्चालन एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड २०७० मा व्यवस्था भएअनुरूप सरकारी संस्था प्रयोग गरी प्राविधिक शिक्षण संस्था खोल्न नदिने व्यवस्था पालना गराउन भनिएको छ ।
पत्रमा उल्लेख छ, ‘यसअघि स्वीकृति लिएका संस्थालाई तीन वर्षभित्र आफ्नो अस्पताल स्थापना गरी सरकारी अस्पतालबाट अलग हुन निर्देशन दिने निर्णय भएकाले कार्यान्वयन गर्नु/गराउनु ।’ तर, आशयपत्र -एलओआई) पाइसकेकालाई भने सरकारी अस्पताल देखाए पनि सम्बन्धन दिने अर्को निर्णय गरेपछि कार्यान्वयनमा कठिनाइ भएको सीटीईभीटी स्रोतले जनाएको छ । स्रोतका अनुसार बर्दिया, दाङ, डोटी, बुटवलका ४ वटाले नर्सिङ कलेज सञ्चालनको एलओआई पाइसकेका छन् ।
‘दुईथरी निर्णय गरेपछि कार्यान्वयन गर्न अप्ठ्यारोमा परेका छौं,’ स्रोतले भन्यो, ‘त्यसैले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न सीटीईभीटीले सार्वजनिक सूचनासमेत जारी गरेको छैन ।’
स्वास्थ्य मन्त्री फेरिनेबित्तिकै निर्णय उल्टिने समस्या भएपछि कार्यान्वयन गर्ने वा नगर्ने अन्योलमा रहेको सीटीईभीटी स्रोतले जनाएको छ । ‘मन्त्रीको एकल निर्णयभन्दा पनि संस्थागत निर्णय भइदिएको भए जोसुकै मन्त्री आए पनि कार्यान्वयनको काम अघि बढाउँदा हुन्थ्यो,’ स्रोतले भन्यो । सीटीईभीटी स्रोतका अनुसार सरकारी अस्पताल देखाएर नर्सिङ कलेज सञ्चालन गर्नेमा झापाको लाइफलाइन, मदन भण्डारी, सुन्सरीको पिपुल्स, मकालु, मोरङको शैलजा मेमोरियल पोलिटेक्निक, सप्तरीमा छिन्नमस्ता, सिरहामा सगरमाथा, धनुषामा नेपाल टेक्निकल, पर्सामा एभरगि्रन, हिमालय, चितवनमा टीएमटी, रूपन्देहीमा देउराली जनता, मायादेवी, दाङमा दीपज्योति छन् । बाँकेमा भेरी नर्सिङ कलेज, सुर्खेतमा सुर्खेत एजुकेसन, धनगढीमा शैलेश्वरी र फारवेस्ट, महेन्द्रनगरमा सेती महाकाली छन् । नुवाकोटमा त्रिशूली टेक्निकल, काठमाडौं उपत्यकामा ख्वप पोलिटेक्निक, चक्रवती हवी, श्रद्धा, सुष्मा, नाइटिंगेल छन् । कान्तिपुरबाट

 


  •  
  •  
  •