काठमाडौँ, ११ जेठ (ओएनएस) : तपाई गरिव हुनुहुन्छ ? तर त्यसको तपाईसँग कुनै प्रमाण छैन भने अब नआत्निुहोस् । आगामि साउनमा तपाई गरिब भएको परिचय राज्यले उपलब्ध गराउने भएको छ । त्यसका आधारमा तपाईले सेवा सुविधा पनि पाउनुहुनेछ ।
आगामी साउन महिनासम्म गरिबले गरिबीको परिचयपत्र पाउने सरकार संसदलाई जानकारी गराएको छ । व्यवस्थापिका–संसद्, अर्थ समितिमा घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराईले साउनबाट परिचयपत्र वितरण सुरु हुने बताए ।
समितिका सभासपति भरतमोहन अधिकारीले समयसीमा तोकेर मन्त्रालय र मातहतका निकायलाई हालसम्मको प्रगतिबारे जानकारीको माग गरेपछि भट्टराईले सो जानकारी गराएका हुन् । पहिलो चरणमा छनोट भएका २५ जिल्लाका सबै घरपरिवारबाट विवरण सङ्कलन गरी तथ्याङ्क प्रशोधन गरिरहेको जनाएको छ ।
बोर्डले विभिन्न मापदण्डका आधारमा गरिबीको पहिचान गरी साउनसम्म पहिलो चरणका जिल्लामा गरिब परिचयपत्र वितरण गरिसक्ने कार्यकारी उपाध्यक्ष भट्टराईले बताए । त्यसपछि बाँकी ५० जिल्लामा पनि सोहीअनुसारको कार्यक्रम सञ्चालन हुने छ ।
अधिकांश सभासद्ले मन्त्रालय आफैँ गरिब र दयनीय अवस्थामा रहेको गुनासो गर्दै हाल निमित्त सचिवका भरमा सञ्चालन भएकाले तुरुन्त मन्त्री र सचिव नियुक्त गर्नका लागि पहल गर्न ज्येष्ठ सदस्य अधिकारीको ध्यानाकर्षण गराएका थिए ।