दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता कार्यान्वयन गरिने

897
  •  
  •  
  •  

काठमाडौं, ६ जेठ, ओएनएस । नेपाल भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०७१÷७२ को बजेट तथा राजस्व सम्बन्धी ऐनहरुमा व्यवस्था गर्नुपर्ने विषयको सम्बन्धमा राजस्व प्रशासनका पदाधिकारीहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संघले आयकर ऐन, मूल्य अभिवृद्धि ऐन, अन्तशुल्क ऐन तथा भन्सार ऐनमा हाल रहेको केही व्यवस्थालाई समसामयिक परिमार्जन गर्नुपर्ने र कतिपय व्यवस्थालाई त्यसको आशय अनुसार कार्यान्वयन गर्नुपर्ने सम्बन्धमा कार्यपत्र पेश गरेको थियो । संघका सदस्यहरुले कार्यपत्रका अतिरिक्त राजस्वका समसामयिक विषयमा समेत आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र तथा सदस्यहरुले उठाएको विषयको सन्दर्भमा आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले विभागले प्रशासन गर्ने ऐनहरुको सम्बन्धमा तथा भन्सार विभागका महानिर्देशक सुरेश आचार्यले भन्सार विभागको तर्फबाट कार्यान्वयन गुर्नुपर्ने विषयमा उठेका जिज्ञासाहरुको स्पष्ट पारेका थिए ।

उक्त अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्माले नेपाल सरकारले गरेको दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता भएको व्यवस्थालाई कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिने सम्बन्धमा राख्नु पर्ने धरौटी एवं निर्माण कार्य दर्ता भएका व्यक्तिबाट नगराई आफैले गरेमा त्यस सम्बन्धमा कर कानुनमा भएका व्यवस्था एवं त्यसको औचित्यता समेत स्पष्ट पारे ।

उक्त अवसरमा महानिर्देशक शर्माले लगानीकर्ताहरुलाई कर कानुनको कुनै व्यवस्थामा द्विविधा परेमा विभागबाट त्यसलाई स्पष्ट पारिने हुंदा निर्धक्क भई लगानी गर्न तथा व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए ।


  •  
  •  
  •