नेपाल किन बनेन ? भन्ने प्रश्नको सजिलो जवाफ बनाउनुपर्नेले नबनाएकोले बनेन भन्ने हो । अब बनाउनुपर्ने को हो ? भन्ने प्रश्न आउँछ । पूराना कुरा छाडेर बनाउनुपर्ने राजनीतिक पार्टीहरुले हो ।
पाँचसात वर्षयताको घटनाक्रमलाई हेर्दा बनाउनुपर्ने पार्टी नबनेकोले नेपाल नबनेको हो । अन्य देशको इतिहासलाई हेर्दा परिवर्तनको यतिका समयमा देश बनाउने पार्टी बनिसकेका हुन्छन् तर हामी कहाँ त्यस्तो हुन सकेन ।
समाज र राज्यका बिचमा जसले मध्यस्थता गर्छ त्यो पार्टी हो । त्यो मध्यस्थता राम्रो गर्न सकियो भने पार्टीले समाज, यसको विकास र अग्रगतिलाई राज्यसँग जोड्छ । राज्यलाई जोड्छ भन्नाले त्यसका सबै अंगसँग जोड्छ ।
यसलाई हेर्दा हामी कहाँ समस्या भनेको यो मुलुक बनाउने पार्टी बनेन जसले राम्रो मध्यस्थता गर्न सकोस् । राज्य र समाजका बिचमा आदर्श मध्यस्थता गर्छ त्यस्तो पार्टी हामी कहाँ भएन ।
अनि यो पार्टी नबन्नुमा पनि समस्या छन् । हिजो लोकतान्त्रिक सत्ताका लागि पार्टीहरु लडे । जब लोकतान्त्रिक सत्ता स्थापना भयो त्यसपछि बाँकी भएको सत्ताका लागि पार्टीहरु वरिपरी गर्न थाले । आज पार्टीहरु केका लागि बनिरहेका छन् भन्दा तिनका काम कारबाही, गतिविधि हेर्दा सत्ता र शक्तिका लागि बनेका छन् ।
त्यो गर्दै गर्दा उनीहरु राज्य सत्तामा पुग्न पार्टी भित्र पनि पार्टी सत्ताको अभ्यासमा केन्द्रीत छन् । त्यो किन गरिरहेका छन् भने राज्यको सत्ताका लागि पार्टीको सत्ताको अभ्यास गर्नुपर्ने भयो । यसो गर्दा पार्टीहरु, पार्टीका मान्छेहरु, नेताहरु अहिले मुलतः सत्ता अभ्यासमा लागेका छन् ।
राज्यको सत्ता अभ्यासका लागि पार्टीको सत्ता अभ्यास गर्नैपर्ने भएकोले यिनीहरु त्यसमा लागेका हुन् । त्यस्तो अभ्यासमा अहिले भारतसँगको मित्रतामा सजिलो हुने गरेको छ । अब यो तर्सिने कुरा चाँही होइन । हामी भारतबाट शासित छैनौ अथवा उनीहरुको निर्देशनबाट निर्देशित छैनौ भनेर हामीले कल्पना गरेर हुने कुरा होइन ।
यदि त्यस्तो कल्पना गर्ने हो भने सुधीर शर्माको ‘प्रयोगशाला’ किताबको खण्डन गरे भयो । त्यो किताबको समग्र कुराको त्यसका पात्रहरुले खण्डन गर्नसक्न पर्यो । साँचो कुरा त्यहि हो भने किन लुकाउनु पर्यो । अझ यस्ता कुरा उधिँनिएकै छैन । सारा नेपालीले बुझ्ने गरी, सबैले बुझ्ने गरी तिनीहरुको मथिंगल खलबलिने गरी अझै ‘प्रयोगशाला’हरु लेखिनु पर्यो । जसको प्रतिक्रिया हाम्रो सामान्य मनोविज्ञान र पार्टीमा पर्नुपर्छ । त्यसो भयो भने अलिकति सुरु हुन्छ कि ।
यो कुरा लुकाएर हुँदैन । विदेशीहरुले हामी माथि खेलेको कुरालाई नभनौ यसले हाम्रो मनोविज्ञानलाई विगार्छ भन्ने सोचाइ राखेर हुँदैन ।
अन्त्यमा, राम्रो राष्ट्र बनाउने हो भने राम्रो पार्टी बनाउनुपर्छ । राम्रा पार्टी बनाउनका लागि पत्रकार, बुद्धिजीवीलगायत समाजका सबै मानिसको दायित्व हो । आज दिनमा हाम्रा लागि राम्रो पार्टी भनेको कम्तिमा एउटा स्वाधिन विचार राखेर देशका लागि काम गर्ने पार्टी हो ।
(आउटलाइन मिडियाले आयोजना गरेको नेपाल किन बन्न सकेन ?’ शीर्षकको छलफलमा एमाले नेता तथा माक्र्सवादी चिन्तक भुषालले राखेको विचारको सम्पादीत अंश ।)