‘देउवा पक्षले ५० प्रतिशत भाग मागेको कारण महाधिवेशन स्थगित’

1360
  •  
  •  
  •  

nsuकाठमाडौं, कार्तिक ३०, (ओएनएस) नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको लागि सभापति पदमा उमेद्धवारी घोषणा गरेका आठ विद्यार्थी नेताहरुले बरिष्ठ नेता शेर बहादुर पक्षधरले प्रतिनिधि छनौटमा ५० प्रतिशत भाग खोजेका कारण महाधिवेशन स्थगित भएको दाबी गरेका छन् ।

आईतबार पत्रकार सम्मेलन गर्दै क्षितिज भण्डारीले नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित हुनुमा प्रधानमन्त्री एवम पार्टी सभापति सुशील कोइराला नभई प्रतिनिधि छनौटमा ५० प्रतिशत हिस्सेदारी माँग्ने देउवा पक्ष दोषी रहेको आरोप लगाए ।

उनले भने–‘‘विवादित २२ जिल्ला र उपत्यका क्याम्पसमा देउवा पक्षले ५० प्रतिशत भाग मागेको कारण महाधिवेशन स्थगित भएको हो, सार्कको सूरक्षा संवेदनशीलताको कारण भन्ने तर्क हावादारी हो ।’’

कुन्दनराज काफ्लेले नेविसंघ भित्र खसी बोकाको जस्तो भागबण्डाले समस्या उत्पन्न गरेको भन्दै वर्तमान सभापति रञ्जित कर्ण र ऋषिकेशजंग शाहले महाधिवेशन गर्न नसेकेको दाबी गरे । उनले तत्काल नयाँ महाधिवेशनको मिति तय गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग पनि गरे ।

दिपक अधिकारीले नेतृत्वले समयमै मतदाता नामावली तयार पार्न नसक्दा अधिवेशन स्थगित् भएको आरोप लगाउँदै वर्तमा नेतृत्व असफल भएको दाबी गरे ।
पदमराज पन्तले वर्तमान सभापति रञ्जित कर्णका कारण अधिवेशन स्थगित भएको दाबी गर्दै राजिनामा माग गरे ।

कार्यक्रममा सिर्जना अधिकारी, बाबुराम कोइराला, गणेशराज भट्ट लगायतले तत्काल नयाँ महाधिवेशनको माग गरेका थिए ।


  •  
  •  
  •