ट्रेकिङ्ग ग्रुपहरु अबरोध गर्ने पर्यटन मजदूरहरुको चेतावनी

860
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (अाेएनएस): आफ्ना माग पुरा नभएको भन्दै आउने अक्टोबर सिजनको शुरुबाटै सबै नाकाहरुमा ट्रेकिङ्ग ग्रुपहरु अबरोध गर्ने चेतावनी पर्यटन मजदूरहरुले दिएका छन् । अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले एक विज्ञप्ती जारी गर्दै आफ्ना मागप्रति टानले चासो नदेखाएको भन्दै तेस्रो चरणको विरोध कार्यक्रमअन्तरगत अक्टोबर सिजनको शुरुबाटै सबै नाकाहरुमा ट्रेकिङ्ग ग्रुपहरु अबरोध गर्ने चेतावनी दिएका हुन् ।

ट्रेड युनियनहरु र ट्रेकिङ्ग व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्टस एसोसिसन अफ नेपाल (टान) बीचमा पर्यटन मजदुरको समस्याका वारेमा भएका सहमति कार्यान्वयन नगरेसम्म टान लगाएको ताला नखोल्ने पर्यटन मजदूरहरुले बताएका छन् ।

संघका अध्यक्ष रामबहादुर बस्नेतद्वारा जारी विज्ञप्तीमा ‘२०६६ मा टान र मन्त्रालयबीच भएको ३३ प्रतिशत रकम मजदुरको पक्षमा कोष स्थापना गर्ने भनिएको टिम्सको ठूलो रकम सम्झौता अनुसार परिचालन नगरी हालसम्म अपारदर्शी र मनपरी ढंगले खर्च गरिएको छ’ भनिएको छ ।

टानमा भएको टीम्स कोषको अनियमितता र बेलायतको दातृ निकाय डीएफआईडीबाट प्राप्त तीन करोड रुपैंया बर्तमान टानका पदाधिकारीहरुले आफ्नो मनोमानीमा आधिकारीक सरकारी निकायको समेत अनुमति बिना आफ्नो क्षेत्रमा खर्च गरेको भन्दै छानविनको माग समेत गरिएको छ ।

संघले तेस्रो चरणका आन्दोलनका कार्यक्रमअन्तरगत असार १५ देखि आउने सिजनसम्म टानका पदाधिकारीद्वारा संचालित ट्रेकिङ कम्पनीहरुलाई कालो सूचीमा राख्ने र सोबारेमा सम्पूर्ण बिदेशी नियोगहरुमा जानकारी पठाउने, मजदुरका मागहरु समाधान नभएमा आउने अक्टोबर सिजनको शुरुबाटै सबैनाकाहरुमा ट्रेकिङ्ग गु्रपहरु अबरोध गर्नेलगायतका ६ बुँदे कार्यक्रम संघले ल्याएको जनाएको छ ।


  •  
  •  
  •