जिल्लाबाट लखेटिए दुई एमाले सांसद

1009
  •  
  •  
  •  

राकेश प्रसाद चौधरी
महोत्तरी, २७ कात्तिक(ओएनएस) : महोत्तरीबाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका दुई सांसद जिल्लाबाट लखेटिएका छन् ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशीको भावना विपरीत निर्मित संविधानमा हस्ताक्षर गर्नेहरुलाई जिल्ला प्रवेशमा रोक लगाएपनि महोत्तरी क्षेत्र नम्बर ३ का सांसद रामदयाल मण्डल तथा क्षेत्र नम्बर ५ का सांसद दिपनारायण साह दिपावली मनाउन घर आएका थिए । जलेश्वर नगरपालिका ८ रतबारास्थित घरमा दिपावली मनाएका सांसद मण्डल छठअगाबै जिल्ला छोडेका छन् । त्यस्तै मोर्चाले २४ घण्टाभित्र जिल्ला छा्ड्न उर्दी दिएलगत्तै समसी गाउँ विकास समिति ८ स्थित घरमा दिपावली मनाएका सांसद साह जिल्ला छाडेका छन् ।
भोट दिएकाहरुले नै ‘गो ब्याक काठमाडौँ’ को नारासहित सांसदहरुलाई हुलहज्जत गर्न थालेपछि उनीहरु भागेको मोर्चाको दाबी छ । सुरक्षाकर्मीले नेकपा एमालेका दुवै सांसदलाई स्कर्टिङ्ग गरि बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्गसम्म पुर्‍याइदिएका थिए ।
महोत्तरीको क्षेत्र नम्बर १ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका सांसद शिक्षामन्त्री गिरीराजमणि पोखरेल, क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काग्रेसकी सांसद किरण यादव तथा क्षेत्र नम्बर ६ बाट निर्वाचित नेपाली काग्रेसका सांसद सीताराम भण्डारीसँगै तीन दलका सामानुपातिक सांसदहरुलाई समेत आन्दोलनरत मोर्चाले जिल्ला प्रवेशमा रोक लगाएको छ ।


  •  
  •  
  •