छोरालाई विदेश उडाउन राखेको डेढ लाख मुसाले चपाएपछि…….

767
  •  
  •  
  •  

काठमाडौं ३ माघ ।
छोरालाई विदेश पठाउन घरमा लुकाएर राखेको डेढ लाख रुपैयाँ मुसोले काटेर टुक्राटुक्रा बनाएपछि धनुषाको भूचक्रपुर–४ निवासी रामनारायण महतोको परिवार चिन्तामा परेको छ ।
आर्थिक अवस्था कम्जोर रहेको महतोको परिवारले छोरोलाई विदेश पठाउन दुईटा बैंकबाट ऋण लिएको डेढ लाख रुपैयाँ चोरी हुनबाट जोगाउन माटोमुनि गाडेको थियो ।
माटोमुनि गाडेको सबै रकम मुसाले टुक्राटुक्रा पारेको अवस्थामा भेटिएपछि परिवारमाथि नै ठूलो बज्रपात भएको महतोले बताए । गाउँमै मुरहीकचरी बेचेर गुजारा चलाईरहेका महतोले जेठा छोरा लालबाबु महतोलाई विदेश पठाउन भैंसी र खसी बेचेर ५० हजार जुटाएका थिए ।
आफ्नो व्यवसायबाट जम्मा गरेको ४० हजारसँगै दुईवटा बैंकबाट ६० हजार कर्जा लिई जम्मा गरेको डेढ लाख रुपैंया छोराहरुलाई थाहा नदिई पत्नी वर्तनिया देवीलाई मात्र थाहा दिएर महतोले माटोमुनि राखेका थिए ।
प्लाष्टिकको बट्टामा बाँधेर गाईबस्तु बाँध्ने गोठको किल्लामुनि गाडेको रकम मुसोले बट्टासहित टुक्राटुक्रा पारेर दुलोभित्र समेत हुलेको अवस्थामा भेटिएको महतोले दुखेसो पोखे । खर्चालु स्वभावका चारजना छोराले थाहा पाएर खर्च गरिदिने डरले दुई वर्षदेखि जम्मा भएको पैसा महतोले माटोमै गाडेर लुकाउँदै आएका थिए ।
मुसाले टुक्राटुक्रा पारेको नोटको थुप्रो
‘एक महिनाअघि खनेर हेर्दा पैसा सुरक्षित थियो’, महतोले सुनाए, ‘तर एक साताअघि खनेर हेर्दा मुसोले काटेर दुलो भित्रसम्म लगिसकेको अवस्थामा नोटका टुक्रा भेट्टाएँ ।’ मुसाको दुलो खन्दै जाँदा २० हजार मात्र काम लाग्नसक्ने नोट भेटिएका थिए । अरु सबै नोट मुसाले काटेर बर्बाद पारिसकेको महतोले बताए ।
जीवनभरीको कमाई मुसोले काटेर बर्बाद पारेपछि छोराहरुलेसमेत गाली गरेको महतोले गुनासो गरे । मुसाले नोट काटेपछि बैंकबाट लिएको ऋण तिर्ने चिन्ताले  महतोलाई दिनरात सताएको छ ।
अन्न्पूर्णपोष्टबाट

  •  
  •  
  •