छुट्टै ‘कार्यविभाजन प्रकरण’ छानबिन हुने

1135
  •  
  •  
  •  

काठमाडौं, जेठ २५ (ओएनएस) :  एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले छुट्टै कार्यविभाजन गरेको भन्ने सन्दर्भमा सार्वजनिक भएका सूचनाको छानबिन हुने भएको छ ।

एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको एमाओवादीको स्थायी समितिको बैठकले नेता डा. भट्टराईले आफ्ना पक्षका नेताहरूको कार्यविभाजन गरेको र सोसम्बन्धी सूचना सार्वजनिक रूपमा नै आएपछि छानबिन गर्नुपर्ने र त्यसो गरेको भए कारबाही नै गर्नुपर्ने आवाज उठेपछि स्थायी समिति बैठक बसेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । डा. भट्टराई पक्षले भने आफ्नो तर्फबाट कुनै पनि कार्यविभाजन नगरेको बताउँदै आएको छ ।

निर्वाचन प्रणालीमार्फत पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र अन्य समिति निर्माण भइसकेको बेला त्यसमा सहभागी पनि नहुने र तोकिएको जिम्मेवारी पनि पूरा नगर्ने अनि आफूखुसी कार्यविभाजन गर्दै हिँड्ने प्रवृत्ति जायज नभएको भन्दै केही स्थायी समिति सदस्यले डा. भट्टराई पक्षलाई कारबाही गर्नुपर्ने आवाज उठाएका थिए ।

‘कार्यविभाजनको सन्दर्भमा सार्वजनिक भएको तथ्यको छानबिन गर्ने निर्णय आजको बैठकले गरेको छ, पार्टी पद्धतिभन्दा बाहिर गएर कोही कसैले पनि गतिविधि गर्न पाउँदैन,’ स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगरले भने ।

कार्यविभाजनमा आफ्ना पक्षका नेता नसमेटेको र उचित जिम्मेवारी नदिएको भन्दै भट्टराई पक्षका नेताले पार्टीको शीर्ष नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन् । केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको आठबुँदे कार्यविधिमा भने कामकारबाहीमा एकरूपता र अभिव्यक्तिमा स्वतन्त्रतासहित फरक मतको सम्मान गर्ने भन्ने  थियो ।

प्रवक्ता शर्माले भने संस्थापन र भट्टराई पक्षले कार्यविभाजन प्रकरणको छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाउने सहमति भएको जानकारी दिए ।


  •  
  •  
  •