काठमाडौं ५ असार (एजेन्सी) :
चीनको एक सैनिक शिविरको हतियार भण्डारणमा भएको विस्फोटमा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ।
मध्य चीनको हुनान प्रान्तको हेङ्गियाङ सहरको एक सैनिक शिविरमा उक्त विस्फोट भएको थियो। मङ्गलबार अपरान्ह भएको सो विस्फोटमा परी ती सैनिकको ज्यान गएको थियो। हतियार राखेको स्थानमा सो विस्फोट भएपछि त्यहाँ रहेका सत्रजना सैनिकको ज्यान गएको चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले जनाएको छ ।सो विस्फोटको कारण भने दिइएको छैन।
यस बारेमा अनुसन्धान जारी रहेको समाचारमा जनाइएको छ। यसै महिनाको सुरुमा पनि चिनियाँ जलसेनाको जहाज चिनियाँ पूर्वी प्रान्त झेजियाङ्मा दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा भएको क्षति तथा त्यसको कारणका बारेमा भने सेनाले केही बताएको छैन।चीन विश्वकै सबैभन्दा ठूलो सैनिक सङ्ख्या भएको देश हो। त्यहाँ २३ लाख सैनिक रहेका बताइन्छ।