काठमाडौं, १८ जेठ (ओएनएस): नेपालमा कृषि क्षेत्रको विकासको प्रचूर संभावना भएको तर सरकारले लागू गरेका नीतिहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अर्बौ रुपैयाँको आयात गर्नुपरिरहेको गुनासो सरोकारबालाहरुले गरेका छन् । बल्खु कृषि तथा तरकारी बजारले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो आएको हो । कार्यक्रममा बोल्दै बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले राज्यले प्रोत्साहन दिएर कृषि क्षेत्रको विकास गर्नुपर्ने बिचार व्यक्त गरे ।
कृषि क्षेत्रको उत्पादन मात्र होइन बजारीकरणमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै उनले भने, राज्यले कर छुट तथा अन्य प्रोत्साहन दिएर कृषि बजारहरुको बिस्तार गर्नुपर्छ । यसले गर्दा किसानहरुले उचित मूल्य पाउनेछन र कृषि उत्पादनमा उनीहरुलाई प्रोत्साहन हुनेछ ।
नेपालले बर्षेनी तरकारी फलफूल र मासुजन्य बस्तु गरी करिब ४५ अर्ब रुपैयाँको आयात गर्ने गरेको छ । त्यस्तै चामल, गहुँ, तेल, दाल लगायतका बस्तु समेत गरी करिब ५५ अर्ब रुपैयाँ बराबरको आयात हुन्छ । यसरी भौगोलिक विविधता र अनुकूल हावापानीका कारण विविध किसिमका कृषि उपज स्वदेशमै उत्पादन गर्न सक्छन । तर औपचारिक च्यानलबाट करिब १०० अर्ब रुपैयाँ बराबरको आयात हुने गरेको छ ।
त्यसैगरि नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष बिज्ञान अधिकारीले नेपालमा कृषि, पर्यटन र जलबिद्युतको प्रचूर संभावना रहेको र विशेषगरी कृषि क्षेत्रको विकासका लागि राज्यले यथेष्ठ सहयोग गर्नुपर्ने बताए ।
बल्खु कृषि तथा तरकारी बजारमा माछा बिक्री गरिरहेका बारा मत्स्य व्यवसायी संघका अध्यक्ष जंगबहादुर साहका अनुसार अहिले जिउँदा माछाको बिक्री बढेपछि माछापालनमा किसानहरु उत्साहित भएका छन । अहिले भारतबाट माछा आउने क्रम घटेको छ । यसले गर्दा करोडौं रकम विदेशिनबाट बचेकोले माछा उत्पादनदेखि ढुवानीसम्म किसानहरुलाई सहुलियत छुट दिनुपर्छ ।
कार्यक्रममा सहभागीहरुले खाद्यान्न जोखिमलाई नियन्त्रण गर्न, प्रस्तिस्पर्धात्मक कृषि बजारहरु स्थापना गर्न, किसानहरुलाई समयमा मल बीउविजन तथा बजार सम्वन्धी जानकारीहरु दिनुपर्नेमा जोड दिएका थिए । साथै सहभागीहरुले स्वदेशमै कृषि उत्पादनलाई जोड दिनपर्ने र विनियोजित बजेटलाई प्रभावकारीरुपमा खर्च गर्ने व्यवस्था हुनुपर्नेमा पनि जोड दिएका थिए ।