कृषिको विकासका लागि रणनीति महत्वपूर्णः कृषिमन्त्री

981
  •  
  •  
  •  

ललितपुर, २४ जेठ (ओएनएस): कृषिमन्त्री हरि पराजुलीले कृषिको विकास, स्तरोन्नती र कृषकका लागि कृषिमैत्री वातावरण निर्माणमा कृषि रणनीतिले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । सरकारले ल्याउन लागेको २० वर्षे दीर्घकालिन कृषि रणनीति निर्माणका क्रममा शुक्रबार आयोजना भएको राष्ट्रियस्तरको छलफलमा बोल्दै उनले मुलुकमा कृषिको व्यवसायिक विकासका लागि जल, जमिन र जंगल अपरिहार्य वस्तु भएको स्पष्ट पारे ।

रणनीतिले उत्पादकत्व बृद्घि गर्ने, खाद्य सुरक्षा कायम गर्न, गरिबी न्युनीकरण गर्न, पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने जस्ता लक्ष्य लिएको जनाउँदै मन्त्री पराजुलीले कृषि क्षेत्रमा संलग्न धेरै भन्दा धेरैको सुझाव आउनुपर्नेमा जोड दिए । रणनीतिले किसान र उपभोक्ताबीचको सम्बन्ध नजिक बनाएर बिचौलियालाई टाढा बनाउने पनि उनको भनाई थियो ।

कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले रणनीति कृषि विकासका लागि जीवन्त कागजात भएको भन्दै सरकारले सन् २०२२ मा नेपाललाई विकाससिल राष्ट्रको पंक्तिमा लैजाने लक्ष्यको मुख्य आधार रणनीति भएको दाबी गरे । अहिलेसम्म आएकमध्ये धेरैजसो नीति नियमहरू कार्यान्वयनमा भने कमजोर हुने गरेकोतर्फ ध्यानाकर्षण गर्दै सचिव खनालले विभिन्न १३ वटा दातृ निकायहरूको बारम्बार दबाबबाट आएको उक्त रणनीतिको कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका थिए ।

रणनीतिले कृषि उत्पादन र उपजमा प्रत्यक्ष भौचर प्रणालीमार्फत अनुदानको व्यवस्था तथा कृषिको आधुनिकीकरण र यान्त्रीकरणका लागि मेसिन तथा कृषि औजार खरिदमा अनुदानको व्यवस्था गरेको छ । कृषिलाई उद्यमको रूपमा विकास गरी प्रवासी मजदुरको रूपमा विदेश पलायन हुने युवाहरूलाई गाउँमै रोकी युवा उद्यम कार्यक्रम लागु गर्ने र यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने रणनीतिको मस्यौदामा बताइएको छ । महिला उद्यमशीलता र अपांगता भएका व्यक्तिहरूका लागि समेत यस्तो कृषि उद्यम सञ्चालन गर्ने नीति र कार्यक्रम रणनीतिले ल्याएको छ ।

रणनीतिले खाद्य तथा पोषण सुरक्षा, गरिबी निवारण, व्यापारिक बचत, समतामूलक उच्च आय, किसान अधिकबारजस्ता दृष्टिकोण लिएको छ । सुशासन, उत्पादकत्वमा बृद्घि, व्यवसायीकरण, प्रतिष्पर्धात्मकता, किसान अधिकानरको सुनिश्चितता रणनीतिका खम्बाको रूपमा लिइएको छ ।


  •  
  •  
  •