एसपीए कप क्रिकेटको उपाधि न्यू होराइजनको पोल्टामा

785
  •  
  •  
  •  

धनगढी, २४ माघ (ओएनएस) : धनगढीमा भएको एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन कलेज भैरहवाले जितेको छ । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार भएको फाइनलमा न्यू होराइजनले सनसाइन कलेज भैरहवालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै न्यू होराइजनले ५ लाख रुपैंयाँ हात पारेको छ । टस जितेर पहिले ब्याटिङ थालेको न्यू होराइजनले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले जनाएको छ ।

उसका लागि सोमपाल कामीले तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए । सन्दिप सुनारले २१ ब्लमा पाँच चौका र एक छक्काको मदतमा ३४ रन बनाए । निर्मल थापाले २६, शौरभ खनालले २४ र प्रकाश केसीले २३ रनको योगदान गरे ।

सनसाइनका दीपेन्द्र यादवले २ विकेट लिए । मनबहादुर थापा, सुवोध श्रीनिवास र शवन अलीले समान एक/एक विकेट लिए । जवाफमा मैदान उत्रिएको सनसाइन १९ दशमलव ५ ओभरमा १ सय ६४ रन जोड्दा अलआउट भयो ।

सनसाइनका लागि सुबोधले ४६ रन बनाए भने मायांक यादवले ४४ र अन्तिम थापाले ३७ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । न्यू होराइजनलाई उपाधि दिलाउने क्रममा शक्ति गौचन र शौरभ खनालले समान ३/३ विकेट लिए ।

सोमपाल कामी र सुसन भारीले एक/एक विकेट लिए । शौरभ क्यान अफ दि म्याच बने । प्रतियोगितामा न्यू होराइजनका शौरभ खनाल प्लेयर अफ दि सिरिज बनेका छन् ।

कैलाली बहुमुखी क्याम्पसका विपिन रावल राइजिङ प्लेयर, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विनोद लामा उत्कृष्ट फिल्डर, पेन्टागनका राहुल विक उत्कृष्ट बलर तथा सुनराइजका अमृत श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् ।


  •  
  •  
  •