काठमाडौं, जेठ २२ (ओएनएस): नेपाली उपभोक्तामा पनि अर्गानिक उत्पादनतर्फ आकर्षण बढ्दै गएको सन्दर्भमा काठमाडौमा अर्गानिक उत्पादनहरुको आधुनिक बजार एग्रो अर्गानिक बजार सञ्चालनमा आएको छ । स्वदेशमा उत्पादीत अर्गानिक वस्तुहरुको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्धेश्यका साथ काठमाडौं दरवारमार्गस्थित मायालु सेन्टरमा स्थापना भएको बजारको उद्घाटन गदै कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले उपभोक्तालाई स्वस्थ खाद्य पदार्थ उपलव्ध गराउन अन्य क्षेत्रमा पनि अर्गानिक उत्पादनको बजार विस्तार गदै जानुपर्ने बताए ।
मन्त्री पराजुलीले पछिल्लो समय विदेशी बहुराष्ट्रिय कम्पनीहरु खाद्यन्नमा एकाधिकार जमाउने गरी अग्र्रानिकविरुद्ध लागिरहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि सचेत रहन आग्रह गरे । तरकारी तथा अन्य खाद्य वस्तुमा विषादी र रासायनिक मलको प्रयोग अधिकहुँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै मन्त्री पराजुलीले अर्गानिक नेपालको लक्ष्य पूरा गर्न पहाडी र मध्यपहाडी क्षेत्रमा अर्गानिक खेती विस्तार गर्नुपर्ने बताए । कृषिलाई एसियाली मापदण्डअनुरुपको लक्ष्यमा पुर्याउन पनि अर्गानिक खेती विस्तारको विकल्प नरहेको उनको भनाइ थियो ।
नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व उपाध्यक्ष भवानी राणाले स्वास्थ्यका दृष्टिले अति उपयोगी अर्गानिक खेती विस्तार गर्न महासंघले जोड दिने आश्वासन दिइन् । मुलुकको समग्र कृषि क्षेत्रको विस्तारका लागि आगामी आर्थिक वर्षदेखि एक जिल्ला एक उत्पादन कार्यक्रम १० जिल्लामा र एक गाउँ एक उत्पादन कार्यक्रम ३२ जिल्लामा विस्तार गर्न लागिएको उनले जानकारी दिइन ।
सभासद एंव युवा नेता गगन थापाले कृषि क्षेत्रमा लाग्ने तथा लाग्न चाहने युवामा वित्तीय पहुँचको अभाव रहेकोले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले खासगरी बैंक तथा वित्तीय संस्थाहरु कृषि लगानीमैत्री नभएको गुनासो गरेका थिए ।
प्राङगारिक कृषि प्रवद्र्धन केन्द्रका अध्यक्ष धर्मराज श्रेष्ठका अनुसार अर्गानिक उत्पादनतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यका साथ अर्गानिक उत्पादनको बजारीकरणका लागि अर्गानिक बजार सञ्चालनमा ल्याइएको हो । अर्गानिक बजारमा खासगरी पहाडी र उच्च हिमाली जिल्लाका विभिन्न उत्पादनहरु राखिएको छ ।