अझै सकिएन सार्कको टालटुल

780
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक ।
सार्क शिखर सम्मेलनका लागि भौतिक तयारीमा संलग्न निकायले सम्मेलन आइपुग्न १५ दिन बाँकी रहँदा पनि काम नसकेपछि थप समय मागेका छन्। राजधानीको सौन्दर्य बढाउने तथा सडक र पेटी सुधारका लागि निर्धारित समयसीमा मंगलबार सकिएको थियो।

यसमा संलग्न निकायका प्रतिनिधिले ‘करिब १५ प्रतिशत काम बाँकी रहेको’ भन्दै थप पाँच दिन समय मागेका हुन्। समयसीमा सकिएकै दिन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा सम्बद्ध सबै निकायका प्रतिनिधिबीच परराष्ट्र मन्त्रालयमा समीक्षा बैठक बसेको थियो। बैठकमा उपस्थित सडक, भौतिक पूर्वाधार तथा महानगरपालिकाका प्रतिनिधिले कामको प्रगति तथा बाधाबारे अवगत गराउँदै थप समय माग गरेका थिए।

परराष्ट्रका अधिकारीका अनुसार यी निकायका प्रतिनिधिले थपिएको पाँच दिनमा जसरी पनि काम सक्ने दाबी गरेका थिए। बैठकपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्बद्ध निकायका प्रतिनिधिले काम सक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

सार्क सम्मेलनमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका गाडी गुड्ने सडक (भीभीआईपी रुट) मा पर्ने अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर मण्डला र थापाथली हुँदै सोल्टी होटेलसम्म फुटपाथ सुधारको काम सकिएको छैन।

तीनकुनेदेखि मण्डलासम्मको सडकका बै ठाउँमा डिभाइडर नबनिसकेका कारण वृक्षरोपणसमेत हुनसकेको छैन। कतिपय स्थानमा रङसमेत लगाउन बाँकी छ। गौशाला-तीनकुने सडक खण्डको काम १० प्रतिशत, सिंहदरबार परिसरको काम पाँच प्रतिशत बाँकी छ भने तीनकुने-माइतीघर सडक खण्डको काम झन्डै ४० प्रतिशत बाँकी छ।

टेलिकम र विद्युत् प्राधिकरणले तारहरू व्यवस्थित गर्ने काम पनि निकै सुस्त रहेका कारण थप बाधा परेको उपत्यका विकास प्राधिकरणका एक अधिकृतले बताए। ‘सडक क्रस गरेर तार नलग्ने भनिएकोमा सीसीटीभी राख्ने क्रममा थुपै ठाउँमा तार क्रस भएको छ। सोलार बत्तीका खम्बामा पनि बिजुलीका तार देखिएका छन्’, ती अधिकृतले भने।

उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले रकम निकासा समयमा नहुँदा रङरोगन तथा सौन्दर्यकरणको काम बाँकी रहेको बताए। सडक र फुटपाथको काममा संलग्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख प्रभात झाले सडकमा ब्लक राख्नमात्र बाँकी रहेकोले कात्तिक मसान्तभित्र सकिसक्ने बताए। ठेक्काको म्यादसमेत मसान्तसम्म रहेको उनले बताए।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •