रोकिएन महिला हिंसाका घटना : १५ वर्षको उमेरदेखि नै हिंसा भोग्न बाध्य

सन्दर्भ : अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
71
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर(ओएनएस) । नेपालमा आइतबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

२०५४ सालदेखि नेपालमा पनि यस अभियान अन्तरगत लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिदैँ आएको छ । तर पनि हिंसाका घटनामा भने कमि आउन सकेको छैन् ।

नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ का अनुसार नेपालमा ६६ प्रतिशत महिला जसले शारीरिक वा यौनिक हिंसा भोग्न बाध्य छन् । उनीहरु सहयोगको खोजी गर्ने र हिंसाका प्रतिकार गर्ने वा रोक्नलाई आफ्ना अनुभव कसैसँग साट्ने गर्दैनन् ।

नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिलाहरुले १५ वर्षको उमेरदेखि नै शारिरीक हिंसा र ७ प्रतिशतले यौनिक हिंसा भोगेको उक्त सर्वेक्षणमा उल्लेख छ।

३४ प्रतिशत महिला जसले श्रीमानद्वारा शारिरीक वा यौनिक हिंसा भोगेका हुन्छन्, उनीहरुले चोट व्यहोरेका हुन्छन् ।
नेपाल प्रहरीको तथ्यांकले पनि पछिल्लो समय क्रमिक रुपमा महिला हिंसाका घटना बढेको देखाउँछ ।
आर्थिक वर्ष २०७२-७३ को तथ्यांक अनुसार ११ हजार ६ सय ९० वटा महिलाविरुद्ध हुने विभिन्न प्रकारका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएका छन् ।

जसमध्ये घरेलु हिंसा ९ हजार ३ सय ९८, एक हजार ९३ बलात्कारका घटना, बलात्कार प्रयासका ४ सय ५०, बहुविवाह ४ सय ६५, बेचविखन २ सय १२, बोक्सीको आरोप ३०, बालविवाह २० र गर्भवतनका २२ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७३-७४ को तथ्यांक अनुसार चौध हजार ९१ वटा महिलाविरुद्ध हुने विभिन्न प्रकारका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएका छन् ।

जसमध्ये घरेलु हिंसा ११ हजार ६ सय ५२, बलात्कारका ११ सय ३७, बलात्कार प्रयासका पाँच सय ३१, बहुविवाह ४ सय ६५, बेचविखन २ सय २७, बोक्सीको आरोप २४, बालविवाह २९ र गर्भपतनका २६ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७४-७५ मा महिला हिंसाका घटना बढेको देखाएको छ । तथ्यांक अनुसार १५ हजार चार सय ७० वटा महिलाविरुद्ध हुने विभिन्न प्रकारका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएका छन् ।

जसमध्ये घरेलु हिंसा १२ हजार २ सय २५, बलात्कारका १४ सय ८०, बलात्कार प्रयासका सात सय २७, बहुविवाह ६ सय २, बेचविखन ३ सय ८, बोक्सीको आरोप ४८, बालविवाह ६२ र गर्भवतनका १८ वटा उजुरी प्रहरीमा दर्ता भएका छन् ।

यस्तै पछिल्लो आर्थिक वर्ष २०७५-७६ को असोजसम्म बलात्कारका ६ सय १, बलात्कार उद्योगका २ सय ५२, बेचविखन ६४, गर्भपतन ५, बहुविवाह २ सय ११, बालविवह २९ र बोक्सीको आरोपका १७ वटा उजुरी दर्ता भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘हिंसामा पर्ने महिलाहरुमा उजुरी गर्नुपर्छ भन्ने सचेतना बढेको छ । पहिले हिंसाका घटना घटेमा गाउँमै मिलापत्र हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन् ।’

आयोगमा पनि उजुरी बढ्दो

महिलाको हक हितका लागि काम गर्दै आएको राष्ट्रिय महिला आयोगमा पनि हिंसाका उजुरी लिएर आउने महिलाको संख्या बढ्दो छ ।

आयोगको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४-७५ मा आठ सय ३८ वटा महिला हिंसाका घटना घटेका छन् ।
यस्तै पछिल्लो आर्थिक वर्ष २०७५-७६ को चार महिनाको अवधिमा ४ सय ५७ वटा उजुरी परेको आयोगका सूचना अधिकारी धु्र्व अधिकारी बताउँछन् ।

उनका अनुसार ३३ जनालाई कानूनी सहायताको लागि ल्याकमा सिफारिश गरिएको छ । ११ जनालाई कानूनी सहायताका लागि नेपाल बार एशोसियशनमा, ४ जनालाई सेलर्डमा, ४ जनालाई सुरक्षित आवासका लागि साथी संस्थामा, २ जनालाई शिक्षाका लागि आवश्यक सहयोगका लागि सिविन, ४१ जनालाई अन्य निकायमा पठाइएको छ ।

आयोगकी मनोविमर्षकर्ता पार्वती सुवेदी भन्छिन्,‘ हिंसाकै कारण डिप्रेसनमा परेर आउने महिलाहरु धेरै छन् । धेरै महिलाहरु जीवन देखि हरेस खाएर, आत्महत्याको प्रयास गरेर आउने पनि धेरै छन् ।’

अधिकारकर्मी राधा पौडेलले महिला, हकअधिकार सम्बन्धी भएका नीति नियम अक्षरांश पालना हुनुपर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘निमर्लाको जसरी न्यायको भिख माग्नुपर्ने वातावरण नआओस्, हरेक घर, परिवार, बाटो, सार्वजनिक स्थल, यातायात, कार्यालय लगायत क्षेत्रमा महिला सुरक्षित अनुभव गर्न सकुँन् ।’ संविधानले नै सुरक्षा र समानताको ज्ञारेन्टी गरेको भन्दै अधिकारकर्मी पौडेल त्यसको पूर्ण पालना हुनुपर्ने बताउँछिन् ।

 


  •  
  •  
  •