बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

भित्रभित्रै फैलिएको बाल यौन दुराचार

Kabita Rajya Shah

हाम्रो समाजले खाली महिला वा बालिका मात्र यौन दुर्व्यवहार/यौन शोषणमा पर्छन् भन्ने ठान्छ । त्यसैले बालकहरुमाथि हुने यौन दुर्व्यवहारको विषय बाहिर आएको छैन । हामीले त्यस्ता धेरै बालकहरु भेटेका छौँ, जो यौन शोषण/दुर्व्यवहारमा परेका छन् । भित्रभित्रै यो ठूलो समस्याका रुपमा रहेको छ । र, यो समस्या निकै अफ्ठेरो खालको छ ।

हाम्रो समाजमा यो विषय थाहा भएर पनि बाहिर ल्याइँदैन, आउँदैन । यसको एउटा प्रमुख कारण जनचेतनाको कमी हो । धेरै बालक आफू स्वयं यौन दुर्व्यवहारमा परेको नै थाहा पाउँदैन । ऊ सुरुमा आफै अलमलमा परिरहेको हुन्छ । आफूलाई के भइरहेको हो भनेर समेत खुट्याउन सकिरहेको हुँदैन ।

यस्तो समस्याबाट पीडित बालकले आफूमाथि भइरहेको यौन शोषण वा दुर्व्यवहारबारे कसलाई भन्ने ? कसरी भन्ने ? यो अर्को समस्या हो । परिवारलाई त्यो कुरा भन्दा त्यसलाई कसरी लिने हुन् भन्ने चिन्ता हुन्छ । साथीभाइले कसरी लिन्छन् भन्ने पीर पनि हुन्छ ।Mali repe boy sexual voilecence

हाम्रो समाजले खाली महिला वा बालिका मात्र यौन दुर्व्यवहार/यौन शोषणमा पर्छन् भन्ने ठान्छ । त्यसैले बालकमाथि हुने यौन दुर्व्यवहारको विषय बाहिर आएको छैन । भित्रभित्रै यो ठूलो समस्याका रुपमा रहेको छ ।

यस्ता समस्या बाहिर नआउनुको अर्को कारण हो, कुनै बालक यौन दुर्व्यवहारमा पर्दा कानुनी प्रक्रियामा कसरी जाने भन्ने सूचना र जानकारीको अभाव । सँगैसँगै अर्को पक्ष के छ भने हाम्रो समाजले जहिले पनि बालिका मात्र यौन शोषणमा परेको छ भन्ने हिसाबले हेरिरहेको हुन्छ ।

कुनै बालक यौन शोषणमा परिसकेपछि उसको परिवारले आफ्नो इज्जतमा धक्का पुग्ने वा समाजको हेराइ फरक हुन सक्ने भयले पनि यस्ता कुरा लुकाउँछन् । बालकले आफ्नो घरपरिवारलाई समस्याबारे बताए पनि समाज र इज्जतको डरले भित्रभित्रै लुकाइएका प्रशस्त घटनासँग हामी परिचित छौँ ।

कसरी थाहा पाउने ?

अब प्रश्न उठ्छ, कुनै पनि बालकले आफू यौन दुर्व्यवहारमा परेको कसरी थाहा पाउने त ?

यस्तो शोषण र दुर्व्यवहार गर्नेहरु आफूभन्दा वयष्क वा आफू समानको व्यक्तिले उसका गुप्तांग/यौनांगहरु चलाउने, चलाउन लगाउने गर्छन् । यौन क्रियामा आकर्षित गर्ने खालका व्यवहार गर्छन् ।

यौन आशय झल्काउने कुराहरु, जस्तै तस्बिरहरु पठाउने, मेसेजहरु पठाउने गर्छन् । यस्ता खालका गतिविधि गरेमा त्यसको नियतचाहिँ खराब छ भनेर बुझ्नुपर्छ । बालकलाई फकाएर, ऊसामु राम्रो व्यक्ति बनेर, राम्रो साथी बनेर वा ऊसँग नजिक भएर पनि यस्ता दुराशय भएका व्यक्तिले फकाइरहेका हुन्छन् ।

तसर्थ, यौन दुर्व्यवहार बालकलाई होस् वा बालिकालाई, त्यसको पीडा एउटै हुन्छ ।

हामीले बालिकाहरुलाई कतै बाहिर जान जति सचेतता अपनाएका हुन्छौँ, बालकलाइ पनि त्यस्तै गर्नुपर्छ । जस्तै कुनै बालिका राति ९ बजे घर आयो भने कहाँ गएको, कोसँग गएको भनेर केरकार गर्छौँ । त्यसैगरी बालकलाई पनि सोध्नुपर्छ । निगरानीमा राख्नुपर्छ ।

कुनै पनि व्यक्तिले बालक वा बालिका जसलाई सिकार गर्नु छ, उसलाई सुरुमा ग्रुमिङको प्रक्रियाबाट अगाडि बढाउँछ । राम्रोराम्रो उपहार दिन्छ । उसलाई मन पर्ने मीठामीठा कुरा गर्छ । उसको सबैभन्दा नजिकको व्यक्ति हो भन्ने महसूस गराउँछ ।

तिम्रो गाला कस्तो राम्रो, तिम्रो आँखा कस्तो राम्रो भनेर प्रशंसा गर्छन् । फुरुंग पार्छन् । अनि फोटो खिचेर पठाऊ भन्छन् । यी संकेतहरु भयो भने यो मान्छेले राम्रो नजरले हेरेको छैन भन्ने स्पष्ट हुन्छ ।

अर्को चरणमा पुग्दा अश्लील चित्र, अश्लील भिडियो वा मेसेजहरु पठाउन थाल्छन् । अनि प्रत्यक्ष प्रस्ताव राख्न पुग्छन् । ललाई फकाई गरेर उसका संवेदनशील अंगहरु चलाउने, चलाउन लगाउनेसम्म पुग्छन् ।

अर्को चरणमा पुग्दा अश्लील चित्र, अश्लील भिडियो वा मेसेजहरु पठाउन थाल्छन् । अनि प्रत्यक्ष प्रस्ताव राख्न पुग्छन् । ललाई फकाई गरेर उसका संवेदनशील अंगहरु चलाउने, चलाउन लगाउनेसम्म पुग्छन् ।

जबरजस्तीकरणी वा बलात्कार त यसको चरम रुप भइहाल्यो । हामीकहाँ यही चरणलाई मात्र यौन दुर्व्यवहार भन्ने—ठान्ने गरिन्छ ।

कसरी गर्ने सुरक्षा ?

कम्तीमा परिवारका सदस्यले बालकका कुरा सुनिदिनुपर्छ । सुन्ने बानी बसाल्नुपर्छ । तपाईँले आफ्ना बालबच्चाका कुरा सुन्नु भएन, ध्यान दिनुभएन भने उसले आफ्ना समस्या बताउन सक्दैन । कुनै पनि बालक यौन शोषणमा पर्यो भने उसले भन्न सक्ने वातावरण बनाउनु परिवारका वयष्क सदस्यहरुको दायित्व हो ।

उसले भनेका कुरा राम्रोसँग सुनिदिनुपर्छ । अर्काे कुरा, हामीले बालिकाहरुलाई कतै बाहिर जान जति सचेतता अपनाएका हुन्छौँ, बालकलाइ पनि त्यस्तै गर्नुपर्छ । जस्तै कुनै बालिका राति ९ बजे घर आयो भने विभिन्न कुराहरु सोध्छौँ । कहाँ गएको, कोसँग गएको भनेर केरकार गर्छौँ । त्यसैगरी बालकलाई पनि सोध्नुपर्छ । निगरानीमा राख्नुपर्छ ।

यौन दुर्व्यवहार गर्ने व्यक्ति कुनै झाडीमा लुकेर बसेको हुँदैन । ऊ हामीसँगै हुन सक्छ । हाम्रै समाजमा हुन सक्छ । र, जो पनि हुन सक्छ ।

यात्रा गर्दा पनि बालिकाहरुलाई जस्तै बालकलाई पनि विभिन्न किसिमका यौनजन्य व्यवहारहरु भइरहेका हुन सक्छन् । त्यसैले घरपरिवारले बालकलाई पनि यस्तो व्यवहार हुन सक्छ, सचेत होऊ भनेर भन्नुपर्छ । कुनै बालकले फलानो व्यक्ति मन पर्दैन भन्यो भने मन नपराउनुका कारणहरु पनि सोध्नु पर्छ । विभिन्न तरिकाले पत्ता लगाउने कोसिस गर्नुपर्छ ।

कानुनी व्यवस्था

पहिला बालकमाथि हुने यौन शोषणबारे कानुन मौन थियो । २०७२ मा संशोधित भएर आएका कानुनमा बाल यौन दुराचारी भन्ने शब्दावली परेका छन् ।

जबरजस्ती करणीको महलले बालकलाई यौन आशय झल्किने व्यवहार गर्न नपाइने उल्लेख गरेको छ । अप्राकृतिक मैथुन वा यौन शोषण गर्दा थप एक वर्ष कैद हुने भनेको छ ।

जस्तो बालिकालाई यौन शोषण गरेको प्रमाणित भयो भने १२ वर्ष कैद हुन्छ भने बालकलाई यस्तो कार्य गरेको पृष्टि भयो भने थप एक वर्ष कैद हुन्छ । यो सजाय पर्याप्त हो कि होइन भन्ने बेग्लै बहसको विषय छ । हामीले यो पर्यापत छैन भनेका छौँ ।

कानुन आउनु आफैमा राम्रो कुरा हो । यौन दुराचारविरुद्धको लडाइँमा कानुनी हिसाबले हामी बलियो हुँदै आएका छौँ भन्ने आधार पनि हो यो । बालकहरु कानुनी उपचार र न्यायको खोजीमा आउने क्रम बढेको छ ।

प्रायः पीडित बालकहरुले आफ््नो परिवारलाई भनेको हुँदैन । आफ्ना साथीहरुलाई भनेको हुन्छ तर साथीहरुबाट सही सल्लाह पाएको हुँदैन । कानुनी प्रक्रियामा जान त न बालकहरु तयार हुन्छन्, न तिनका अभिभावक नै । कतिपय बालकले आफ्नो कुरा भन्दा पनि उल्टै परिवारले नै भनिदिन्छन्, ‘तिम्रो दाइको साथीले पनि यस्तो गर्छ र ? यस्तो भएको होइन होला । तिमी कन्फ्युज भएको होला ।’ यस्ता कुराहरुले परिवारलाई समेत सम्झाउन गाह्रो पर्छ ।

अर्को जटिल पक्ष पीडितको सुरक्षा हो । हामीले यौन दुराचारका कारण संकटमा परेका बालकहरुको उद्धार गरेका छौँ । कानुनी लडाइँ पनि लडेका छौँ । कानुनी सहायता, सहजीकरण र परामर्शको काम गरेका छौँ ।

यस्ता घटनाहरु हामीसम्म आइसकेपछि हामीलाई विभिन्न खालका अप्ठेराहरु आउँछन् ।

कानुनी प्रक्रियामा पीडितको सुरक्षा गर्ने विश्वासिलो व्यवस्था नभइदिँदा पनि यो क्षेत्रमा काम गर्न गाह्रो । जस्तो, एउटा भाइ टोल फ्री नम्बरमा कुरा गरिसकेपछि आए । तिनको कुरा सुनिसकेपछि हामीले काउन्सिलिङ पनि गर्यौँ । हामीले सबै कुराहरु भनिसकेपछि उनी कानुनी प्रक्रियामा जान तयार भए । उनीमाथि भएको बलात्कारको भिडियो रहेछ । यदि कतै भनिस् भने त्यो भिडियो सार्वजनिक गरिदिन्छु भनेको रहेछ, पीडकले ।

कानुनी प्रक्रियामा जान तयार भइसकेका ती बालक त्यही भिडियोका कारण त्रसित भए । उनलाई राम्रोसँग सुरक्षित महसूस गराउने परिवेश भइदिएमा त्यति धेरै त्रसित हुने थिएनन् ती बालक ।

‘तपाईँले देखेको—सुनेको छैन भन्दैमा छैन भन्न मिल्दैन । बालिका मात्र होइन, बालक पनि यौन शोषणमा पर्छन् ।’

कतिपय पीडितको मन्जुरीमै हामीले मध्यस्थकर्ताको भूमिका खेल्दै कानुनी प्रक्रिया अघि बढाउन सहयोग गरेका छौँ । तर, प्रहरीले बोलाएको बेला नआइदिने आदि कारण पनि हाम्रो लडाइँ कमजोर हुन्छ । हाम्रो कानुनमा खड्किएको विषय नै यही हो । पछिल्ला दिनमा यस विषयमा कार्यविधि त बनेको छ । व्यवहारमा कुन रुपमा आउँछ, हेर्न बाँकी छ ।

नलुकाऔँ, सोच बदलौँ

हाम्रो समाजमा यस्तो किसिमको घटना घट्यो भनेर १० जनाले थाहा पाएमा २ जनाले राम्रो व्यवहार गर्लान् तर ८ जनाले त नराम्रो व्यवहार गर्छन् । उसलाई समाजले हेर्ने दृष्टिकोणमै फरक आउँछ । यो त उसले भनेपछिको अवस्था भयो । तर, भन्दै भनेन, आफैभित्र गुम्सिएर रह्यो भनेचाहिँ ऊ आफै डिप्रेसनमा जान सक्छ ।

कानुनी तथा मनोसामाजिक परामर्शका माध्यमबाट यस्ता जटिलताको सम्बोधन गर्न सकिन्छ । मूल कुरा पीडित बालकको आत्मविश्वास बढाउने, सुरक्षाको अनुभूति गराउने र जीवनप्रति आशा जगाउने हो । यति भएपछि कानुनी प्रक्रियामा जान आफै तयार हुन्छन् ।

हामीले के सोच्नुपर्छ भने यौन दुर्व्यवहार गर्ने व्यक्ति कुनै झाडीमा लुकेर बसेको हुँदैन । ऊ हामीसँगै हुन सक्छ । हाम्रै समाजमा हुन सक्छ । र, जो पनि हुन सक्छ । त्यसकारण हामी यसमा सचेत हुनुपर्छ । हाम्रो समाज, हाम्रो परिवारले यो कुरा लुकाउनुहुँदैन ।

त्यसैले हामीले नारा नै बनाएका छौँ, ‘तपाईँले देखेको—सुनेको छैन भन्दैमा छैन भन्न मिल्दैन । बालिका मात्र होइन, बालक पनि यौन शोषणमा पर्छन् ।’

हामीले विभिन्न क्याम्पसमा अभियान चलाइरहेका छौँ । आमा समूहहरुमा यस विषयमा छलफल गरिरहेका छौँ । त्यसैले यस्ता कुराहरु नलुकाऔँ, बाहिर ल्याऔँ । किनभने, एउटा घटनाले गर्दा अरु घटना पनि बाहिर आउँछन । पीडकलाई कारवाही गर्न सजिलो हुन्छ । र, बालिकालाई जस्तै बालकलाई पनि निगरानीमा राखौँ ।

(शाह साथसाथनामक संस्थाकी रिसोर्स एक्जुकेटिभ हुन् ।)

Comments are closed.

'
Scroll To Top