सामाजिक सुरक्षा भत्ता अब आठ प्रकार, क-कसले पाउँछन्?

78
  •  
  •  
  •  

काठमाडौं, ५ कार्तिक (ओएनएस) : सामाजिक सुरक्षा भत्तालार्इ सरकारले अब आठ प्रकारमा विभाजन गरेकाे छ। चालू आर्थिक वर्ष ०७५/७६ मै नागरिकहरुले राज्यबाट विभिन्न ८ वर्गका सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

अब ज्येष्ठ नागरिकसहित अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, आर्थिक रूपले विपन्न, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने र लोपोन्मुख जातिले सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन्।

यसअघि विपन्न नागरिक तथा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था थिएन । तर व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार चालू आर्थिक वर्षबाटै उनीहरु लाभान्वित हुने प्रावधान ल्याइएको छ ।

यी हुन आठ प्रकारका सामाजिक सुरक्षा भत्ता

१) ज्येष्ठ नागरिक भत्ता
दलित समुदाय र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछि र अन्य नागरिकले भने ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेछन् ।

२) अपांगता भत्ता
पूर्ण अपांगता भएका व्यक्तिले सरकारले तोकेबमोजिम भत्ता पाउने व्यवस्था छ ।

३) अशक्त र असहाय भत्ता
असहाय तथा अशक्त अवस्थामा रहेका नागरिकलाई पनि राज्यले मासिक भत्ता दिनेछ ।

४) विपन्न नागरिक भत्ता
आर्थिक रूपले विपन्न नागरिकले पनि सामाजिक सुरक्षा भत्ता पाउने गरी ऐन निर्माण गरिएको छ ।

५) असहाय एकल महिला
६० वर्ष उमेर पुगेका तर सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका, विवाह नगरेका महिलालाई यो शीर्षकमा भत्ता वितरण हुनेछ । यसबाहेक जीवनयापनको आयस्रोत नभएको, सरकारले तोकेभन्दा कम आयस्रोत भएका, श्रम गर्न नसक्ने एकल महिलाले समेत यस्तो सुविधा पाउने ऐनले स्पष्ट पारेको छ ।

६) बालपोषण भत्ता
अतिविपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर नपुगेका बालबालिकाले पनि बालपोषण भत्ता पाउने प्रावधान ल्याइएको छ । यसअघि यो सुविधा दलित र कर्णाली अञ्चलका बालबालिकाका लागि मात्र उपलब्ध थियो । अब भने देशभरका बालबालिकालाई लक्षित गरी यो प्रावधान समेटिएको हो ।

७) आफ्नो हेरचाह आफैँ गर्न नसक्नेलाई स्याहार भत्ता
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई उसको स्याहार सुसार गर्न सामाजिक भत्ता प्रदान गरिने ऐनमा उल्लेख गरिएको छ ।

८) लोपोन्मुख जाति भत्ता
सरकारले लोपोन्मुख सूचीमा राखेका जातिले प्रक्रिया पूरा गरी राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउनेछन् । लोपोन्मुख जातिको सूचीमा कुसुन्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कसबाडिया ९पत्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया० रहेका छन् ।


  •  
  •  
  •