भरतपुर प्रकरण : एमालेले भन्यो–सर्बोच्चको फैसला दुखद् (विज्ञप्तिसहित)

uml-meeting-
काठमाडौं, १६ साउन (ओएनएस) : प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसला गलत भएकाे निश्कर्ष निकालेकाे छ ।

एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले भरतपुर प्रकरणमा पुनः मतदान गर्न फैसला गर्नु दुखद् भएको जनाएको छ । बैठकले सर्वोच्चको फैसलालाई लिएर विशेष प्रस्ताव नै पास गरेको छ ।

आफू हार्ने भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेको एमालेको आरोप छ । ‘सुनियोजित ढंगले मतपत्र च्यातिएको तर, मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनु पर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद छ ।’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चको फैसलाले जनताको अभिमतको अपमान भएको र गलत नजिर बस्ने शंका बढेको एमालेको ठहर छ ।
बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुने भएकाले त्यसको तयारीमा जुटन पनि स्थानीय पार्टीलाई निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

साथै एमालेले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउन पनि सरकार र सत्तारुढ दलहरुलाई चेतावनी दिएको छ ।

बैठकले काठमाडौंसहित ६ जिल्लाको जिल्ला समन्वय समितिका उम्मेदवार पनि तय गरेको छ । काठमाडौंको जिसस प्रमुखमा शिव बैद्य र उपप्रमुखमा सरिता दाहाल, सिन्धुली जिसस उपप्रमुखमा शंकर बर्मा, दैलेखका प्रमुखमा प्रेमबहादुर थापा र उपप्रमुखमा लक्ष्मी शाह, ताप्लेजुङको प्रमुखमा घनेन्द्र मादेन र उपप्रमुखमा देवीमाया नेपाली, सिन्धुपाल्चोक प्रमुखमा गोपाल तामाङ र उपप्रमुखमा बालकुमारी सपकोटा र धादिङ जिससको प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा बिन्दा दराम नेपालीलाई उम्मेदवार बनाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ विज्ञप्ति :

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष निवास भक्तपुर बालकोटमा आज बस्यो । बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा हिजो सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव यसप्रकार छः

गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरह“दा जेठ १४ गते राती माओवादी केन्द्रका प्रतिनिधिहरुले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको र स्वतन्त्र एवम् स्वच्छ निर्वाचनका पक्षधरहरुलाई आक्रोशित तुल्याएको तथ्य स्मरणीय छ ।

यसै सन्दर्भमा हिजो सर्वोच्च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ । यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ ।

यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ ।

बैठकले जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार निम्न जिल्लामा निम्नअनुसार निर्णय गरेको छ : 

दैलेख : प्रमुख पे्रमबहादुर थापा, उपप्रमुख लक्ष्मी शाह, ताप्लेजुङ : प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली, सिन्धुपाल्चोक : प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, धादिङ : प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दा दराम नेपाली, काठमाडौं : प्रमुख शिव वैद्य, उपप्रमुख सरिता दाहाल,
सिन्धुली : उपप्रमुख शंकर बर्मा ।
योगेश भट्टराई
प्रमुख

 

SHARE