‘उपसभामुख मैले रोजेको पद होइन’ : उपसभामुख तुम्बाहाम्फे

‘पीडाबोध गर्नुभन्दा यथार्थलाई स्वीकार्नु उचित हुन्छ’
119
  •  
  •  
  •  

विद्यार्थी अान्दाेलनमा संलग्न हुँदै राजनीतिमा प्रवेश गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलार्इ राजनीति जीवनमा धेरै नै उतार चढाव अाउनुका साथै विगतमा विभिन्न् चुनाैतिहरुकाे सामना समेत गर्नु पर्‍याे।

राजनीतिमा लागेपछि कयाैँ पटक उनी जेलसमेत बस्नु परेकाे थियाे। तर देशकाे लागि केही गर्छु भन्ने भावना राखेर हरेक चुनाैतिकाे सामना गर्दै उपसभामुख तुम्हाम्फे अन्तत: राजनीतिमा अब्बल सावित हुन पुगिन्। यसै विषयमा केद्रीत रही ओएनएस न्युज डटकमका लागि सम्झना पौडेलले उपसभामुख तुम्बाहाम्फेसँग गरिएकाे कुराकानीको बाँकी संक्षिप्त अंश:

कुनै त्यस्तो घटना यहालाई अहिले पनि ताजै छ, जसले छोरा र छोरीको बिचमा विभेद गरेको ?

०३५ सालमा हामी जहाँ बस्थ्यौँ, जग्गा जमिन थियो, त्यो जमीन नापी भएको थिएन । त्यो तात्कालीन महारानीको जग्गा हो । त्यो जग्गा ०३५ सालमा नापी आइसकेपछि मात्र दर्ता भयो । त्यतिखेर हदबन्दी तोकेको थियो । एक व्यक्तिलाई तीन विगाह हद थियो । हामीसँग जग्गा धेरै थियो । मेरा दाजुभाइ चारजना, बाबाआमा र म गरी सात जना थियौँ । चार दाजुभाइ र बुबालाई जग्गा छुट्याउँदा त जग्गा बच्ने भयो । अनि मैले भनेँ, ‘यो बचेको जग्गा त मेरो नाममा राख्दा नि हुन्छ नि !’ मलाई यो अधिकार, त्यो अधिकार भन्ने थाहा थिएन । मैले त्यसो भनेपछि छरछिमेकी र प्रधानपञ्चले थाहा पाइहाले । अनि उनीहरुले छोरीलाई किन दिने, उब्रेको जग्गा त हामी मिलाएर लिन्छौँ भन्दै योजना बनाउन थाले । त्यसपछि मलाई थाहा भयो कि हामीमा घरभित्र त्यस्तो विभेद नभए पनि समुदायले आएर हस्तक्षेप गर्दाे रहेछ । पछि त्यो जग्गा अरुलाई दिनुभन्दा र बेचिदिनुभयो बुवाले । पछि छोरीलाई पनि जग्गा दिनुपर्छ भनेर, तेह्रथुममा हामीसँग प्रसस्त जग्गा थियो, त्योचाहिँ छोरीको नाममा भनेर छु्ट्याइदिनुभयो । विराटनगरमा एउटा घडेरी पनि छुट्याइदिनुभयो । समाजमा बस्दा समाजले गलत बाटोमा डोर्‍याउँदा पनि कहिलेकाहीँ त्यतै डोरिनुपर्दाे रहेछ भन्ने अनुभूति भयो त्यसपछि ।

बिहे गरिसकेपछि भने त्यस्तो प्रकारको विभेदको अनुभूति भयो कि भएन ?

विहे गरिसकेपछि मेरो घरमा त्यस्तो विभेदको अनुभूति मैले गरिनँ । सबै राजनीतिक रुपले पनि सचेत हुनुहुन्थ्यो । त्यस घरमा गइसकेपछि छोरी र बुहारीको बीचमा समाजमा देखिने विभेदको पनि मलाई कहिल्यै अनुभूति भएन् । मेरा देवर, नन्द सबै साथीजस्तै गफ गर्थे, व्यवहार हुन्थ्यो । सासू ससुराबाट पनि कहिल्यै त्यस्तो खालको व्यवहार भएन् । एउटा कुराचाहिँ फरक पाएँ । जेठानी र देउरानीबीच भने समाजमा जुन खालका घटना देखिन्छन्, ती मैले पनि अनुभव गरेँ । हुन त हामी दुवैजना राजनीतिमा लागेका थियौँ, विशुद्ध कुनै व्यवसायमा थिएनौँ । पैसा आर्जन गर्ने र नगर्ने बीचमा पनि फरकपन हुँदो रहेछ र पुरुषले भन्दा महिलाले त्यो बढी महसुस गर्नुपर्दो रहेछ । नेपाली समाजमा पैसा कमाउनेले नकमाउनेलाई कसरी डोमिनेट गर्दाे रहेछ भन्ने मैले महशुष गरे । घरमा झगडा हुनुको एउटा कारण आर्थिक रहेछ भन्ने अनुभूति पनि भयो ।

महिला अधिारको अभियानमा होस् या पार्टीले जिम्मेवारी दिँदा, प्राप्त जिम्मेवारी पूरा गर्न सकिनँ भनेर कहिल्यै हीनताबोध भयो कि ?

मैले गर्छु भनेपछि योजना बनाएर साथीहरु बोलाएर टिम बनाएर त्यो काम जसरी पनि पूरा गरिहाल्छु । मैले यो गर्न पाइनँ भन्ने कहिल्यै लागेन । म सांसद बन्नुभन्दा अगाडि विराटनगरमा बस्थेँ । त्यतिखेर म महिला अधिकारको क्षेत्रमा पनि काम गर्थेँ । महिला मानव अधिकार रक्षक सञ्जालको म केन्द्रीय सदस्य पनि भएर काम गरेँ । त्यतिबेला मलाई मोरङको जिम्मा थियो । मोरङमा हामीले यस्तो काम गर्यौँ कि, मान्छेले आफ्नो क्षमतालाई सँगै डो¥याएर लान्छ भन्ने कुरा हुँदो रहेछ । त्यतिखेर राजनीतिक दलदेखि सरकारी कार्मचारी, अधिकारकर्मी सबैलाई सँगसँगै लिएर चलाउनुपर्छ भन्ने लागेको थियो र चल्दो रहेछ । आज पनि त्यस्तै काम गर्न पाए कति रमाइलो हुन्थ्योजस्तो लाग्छ ।

आफूले आफैलाई मूल्यांकन गर्दा आत्मसन्तोष मिल्छ त ?

मेरो सुरुको जुन योजना थियो, त्यो योजना पूरा गरेरै छोडेँ । मैले ठूलो भएपछि पढाइ सुरु गरेको हो । सायद म एक कक्षा भर्ना हुँदा ११ वर्षको थिएँ । त्यतिखेर के लाग्थ्यो भने नेपालमा जति पढाउँछन्, सबैभन्दा ठूलो के हुन्छ, त्यतिचाहिँ पढेर छोड्छु । ०३८ सालको जनमत संग्रह चल्दा बुर्जुवा शिक्षा बहिष्कार गर, नपढ, भूमिगत हौ भन्थे । मैलेचाहिँ भूमिगत जाने साथीहरु जानू, मचाहिँ जसरी भए पनि पढ्छु भनेँ, पढेँ । कति मेरा साथीहरु भूमिगत भए । पछि मात्र थाहा भयो कि नेपालमा पीएचडी गर्न पाइँदोरहेछ । जसरी भए पनि पढ्नुपर्छ भनेर लागिरहेँ र आखिर यो टुंग्याएँ । कुनै एउटा काम गर्छु भनेर लागिरह्यो भने त्यसमा अवश्य सफल भइँदो रहेछ । गर्छु भनेर लागेको काम पूरा भएपछि मान्छेलाई आत्मसन्तुष्टि त हुन्छ नै ।

आफूले समातेका बाटोमध्ये यो भने गलत पर्यो भन्ने कहिल्यै लाग्यो के भन्नुहुन्छ ?

सानैदेखि पढ्नुपर्छ भन्ने थियो र मैले पढाइ छाडिनँ । त्यस्तै, कसैले मलाई उत्साहटमा राजनीतिमा लगाएको भए कहिलेकाहीँ त्यस्तो हुन्थ्यो होला । स्वतःस्फूर्त रुपमा समाजमा भएको विभेद अन्त्य गर्नुपर्छ भनेर लागेकी हुँ । त्यसैले मलाई कहिल्यै त्यस्तो गल्तीको बोध भएन । बुझेर नबुझेर पढछु पढनुपर्छ भन्ने लागेको थियो अनि बिभेद अन्त्यमा लागिपर्छु भन्ने थियो यी दुबैबाट कहिल्यै पछि पनि हटिन र गलत गरेछु भन्ने पनि महशुष भएन लाग्छ अब त हुने ठाउ पनि छैन ।

उपसभामुख तपाईँले राजेको पद हो ?

मैले यो पद पाउनुपर्छ, मलाई यहाँ लगियोस् भन्ने कुरा कहिल्यै गरिनँ । तर यहाँसम्म आउनको लागि मेरो परिवार, जहाँ म जन्मिएँ त्यो घरबाट यो शिक्षा र यसरी अगाडि बढ्नुपर्छ भनेर बाटो लगाइदिएको कारण सम्भव भयो । बिहे गरिसकेपछि पनि घरपरिवारको सदस्यले उत्साहित गराइदिएको कारणले मैले सबै कुरा म्यानेज गर्न सकेँ । पार्टीले कसरी मूल्यांकन गर्यो भन्ने पार्टीको कुरा हो । मलाई मन्त्रिपरिषद्मा लानुपर्छ, मैले पनि केही गर्न सक्छु भन्ने थियो । तर, पार्टीले पछि आएर उपसभामुख बन्नुप¥यो भन्दा म मनोनयन गर्न पनि सक्दिनँ भनेकी थिएँ । होइन, गर्नुपर्छ भनेपछि म पार्टीकै निर्णयले यहाँ आएकी हुँ । जसरी कुनै मन्त्रालय सम्हालेर आफ्नो क्षमता देखाउने, जनताको बीचमा जाने बाटो हुन्छ, यहाँ त्यो सम्भावना एकदमै सिमित हुन्छ ।

आम महिला जगत र यो समाज परिवर्तनमा तपाईँको भूमिका के हुन्छ ?अब के सोच्दै हुनुहुन्छ ?

संविधान, ऐन कानुन, नियमावलीमा भएका कुरा जसरी भएपनि कार्यान्वयन हुनुपर्छ । त्यसका निम्ति म प्रयासरत छु । विभिन्न तहमा छलफल गर्छु । कानुनमा यो छ, ऐनमा यो बोलिएको छ भनेर स्मरण गराउन सकिन्छ । संविधान, ऐन नियममा यस्तो लेखिएको छ है, योभन्दा तलमाथि गर्न पाइँदैन भन्न सकिन्छ ।

तपाईँ लगायत नेतृहरुले क्षमता प्रदर्शन गर्न पाउने मन्त्रालय वा त्यस्तै कार्यकारी भूमिका नपाउँदा ठूलो पंक्ति निरुत्साहित भएजस्तो लाग्दैन ? तपाईँ के भन्नुहुन्छ ?

चाहेजस्तो अवसर पाइएन भनेर कहिल्यैपनि निरुत्साहित हुनु हुँदैन । मैले विद्यार्थी संगठनमा काम गर्दाका धेरै साथीहरुले निकै पहिला अवसर पाएका थिए । सांसद, मन्त्री भएका थिए । त्यतिबेलापनि मेलै अवसर पाइनँभनेर कहिल्यै निरुत्साहित भइनँ । अहिले पनि अवसर नपाउने साथीहरुले पनि हीनताबोध गर्ने वा मन खिन्न बनाउनु हुँदैन । चाहेको पद नपाउँदैमा कामै गर्न नसकिने भन्ने हुँदैन । त्यो पद पो पाइएन तर बाँकी सबै गतिविधि त गर्न सकिन्छ नि । त्यो गर्नु पर्छ ।

राजनीतिक संघर्षका क्रममा साथ दिने श्रीमान् अहिले साथमा हुनुहुन्न । यो पदमा पुग्दा खुसी मनाउने जीवनसाथी नहुँदा कस्तो अनुभव हुन्छ ?

हो, मेरो श्रीमान् घनेन्द्र जीमी ०६७ सालमा हृदयघात भएर बित्नुभयो, ४९ वर्षको उमेरमा । सुरुमा अखिलको राजनीति गर्नुभयो । उर्लाबारी गाविसको दुई कार्यकाल अध्यक्ष पनि हुनुभयो । धेरै कामको चाप भएको बेला कतिपय कुरायादमा नै आउँदैनन् तर जति बेला फुर्सद हुन्छ, त्यतिबेला उहाँ भइदिएको भए अझ रमाइलो हुन्थ्यो, जस्तो लाग्छ । तर, काल्पनिकताका आधारमा पीडाबोध गर्नुभन्दा यथार्थलाई स्वीकार्नु उचित हुन्छ । त्यसैले काममा सहयोग हुन्थ्यो, यस्तो भए हुन्थ्यो, त्यस्तो भए हुन्थ्यो भन्नेचाहिँ लाग्दैन । मेरो काम आफ्नो हो र मैले आफै गर्नुपर्छ । भूमिका आफ्नो आफ्नो हुन्छ जुन पूरा गर्ने दायित्व पनि आफ्नै हुन्छ यसको लागि आफ्नो क्षमता देखाउने हो । तर यो पोजिसनमा पुगेर बस्दा सँगै हुँदा अलि रमाइलो अवश्य हुन्थ्यो होला । मलाई मात्र नभएर छोराहरु अनि सिङ्गो परिवारलाई पनि रमाइलो हुन्थ्यो होला तर अव त्यो सम्भव छैन हाम्रो माझमा भएको बास्तविकतालाई स्विकार गर्दै अघि बढनु उत्तम हुन्छ ।

‘राजनीति गर्न पाउने सर्तमा बिहे गरेँ’ : उपसभामुख तुम्बाहाम्फे (अन्तरवार्ताकाे पहिलाे भाग) क्लिक गर्नुहाेस्


  •  
  •  
  •