साढे ३३ किलो सुन तस्करी प्रकरण : २८ आरोपी विरुद्ध मुद्दा दर्ता हुँदै

1347
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख (ओएनएस) : साढे ३३ किलो सुन तस्करी प्रकरणमा २८ आरोपी विरुद्ध मुद्दा दर्ता हुन लागेकाे छ।

जिल्ला प्रहरी कार्यालय मोरंगले उक्त साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उनीहरु विरुद्ध बुधबार अदालतमा मुद्दा दर्ता गराउन लागेकाे छ।

प्रहरीकाे उच्चस्राेतका अनुसार हालसम्म पक्राउ परेकाहरु सुन व्यवसायी, नेता, तस्कर र प्रहरी अधिकृत तथा तल्लाे स्तरका प्रहरीहरु रहेका छन्।

पक्राउ परेका सबैलार्इ  मोरंग प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छानविन समितिले जनाएकाे छ ।पक्राउ परेकाे मध्ये भारतीय नागरिकसमेत रहेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय मोरंगले पक्राउ परेकाहरुकाे कसुर हेरी उनीहरु विरुद्ध कर्तव्य ज्यान, तस्करी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा दर्ता गर्न लागेकाे छ।

आरोपीलाई चलाइनु पर्ने मुद्दाको प्रस्तावसहितको प्रतिवेदन उक्त प्रहरी कार्यालयले सरकारी वकिललाई बुझाइसकेले मुद्दा दर्ताकाे प्रकृयालार्इ अगाडी बढाइएकाे हाे।

गत माघ ९ मा दुबईबाट नेपाल भित्रिएकाे साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट सेटि‌ङं मिलाइ पास भएपछि ओसारपसारको क्रममा हराएपछि खोजबिन सुरु भएको थियो। त्यही सुन खोज्ने क्रममा मोरंग उर्लाबारीका सनम शाक्यको १८ साउनमा हत्या भएपछि यो प्रकरण सतहमा आएको थियो।

त्यसलगत्तै तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको थियो। १४ फागुनमा काठमाडौंको गौरीघाटबाट हराएका शाक्यको सुन तस्करकै समूहले हत्या गरेको खुल्यो। उनको शव विराटनगरमा एक गाडीभित्र फेला परेको थियो।

२९ फागुनमा उर्लाबारीवासीले शाक्य घटनाको निश्पक्ष छानबीन हुनुपर्ने भन्दै कृष्ण प्रधानको नेतृत्वमा गठन गरेको ५१ सदस्यीय संघर्ष समितिले प्रधानमन्त्री कार्यालयलाई गुहार्यो।

प्रधानमन्त्रीको निर्देशनमा चैत ३० को मन्त्रिपरिषद् बैठकले संगठित अपराध ऐन,२०७० का दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेपछि यो घटनाले नयाँ मोड लियो।

छानविन समितिकाे अथक प्रयासपछि कतिपय अाराेपी याे प्रकरण प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेकाे स्वीकार समेत गरीसकेकाे स्राेतले बताएकाे छ।

घटनास्थल झापा, मोरंग र काठमाडौंसम्म छानबीनको घेरा रहेको यो प्रकरणमा पक्राउ परेकाहरुको संख्या तीन दर्जन पुग्न लागिसकेको छ।

यो प्रकरणमा गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, मोहनकुमार अग्रवाल, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई, कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल, भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायत फरार छन् ।

छानविन समितिका अनुसार घटनामा संलग्न हालसम्म २७ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।


  •  
  •  
  •