हुम्लामा तारा एयरको विमान दुर्घटना

75
  •  
  •  
  •  

हुम्ला, १२ (ओएनएस) :  हुम्लावाट सुर्खेत उडान भर्न लागेको तारा एयरको विमान दुर्घटना भएको छ । सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि एन एबीएम कलसाइनको विमान सिमकोट विमानस्थलमा दुर्घटना भएको हुम्ला प्रहरीले जनाएको छ ।

विमानमा चालक दलका सदस्य सहित १६ यात्रु थिए । जसमध्ये चार जना घाइते र १२ सकुशल रहेको सिमकोट विमानस्थलका प्रमुख भीमदत्त पन्तले बताए । विमान दुर्घटना भए लगत्तै सबै यात्रुको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको थियो । १३ जना यात्रु जनपद प्रहरी हुन् । उनीहरु हुम्लामा चुनावी सुरक्षाको लागि खटिएका थिए । गत आइतबार चुनाव सकिएपछि उनीहरु सुर्खेत फर्कदै थिए ।

दुर्घटनामा घाइते भएका प्रहरी सहायक निरीक्षक यमप्रसाद दाहालको पेटमा समस्या देखिएकोले जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकोप्टरमार्फत नेपालगंज लगिएको प्रहरीले जनाएको छ ।
पेटको दायाँ भागमा चोट लागेकी एयर होस्टेज श्रेया श्रेष्ठलाई पनि प्रारम्भिक उपचारपछि नेपालगंज लगिएको छ भने अन्य १२ जना सकुशल रहेका तारा एयरमा मिडिया कोअर्डिनेटर राजेन्द्र शर्माले बताए । उनका अनुसार सवै यात्रु जोखिममुक्त छन् ।

दुर्घटनामा विमानका पाइलट बसन्त लामा र को–पाइलट अमित गुरुङको नाकमा चोट लागेको छ । उनीलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि तारा एयरकै अर्को विमानबाट नेपालगंज लगिएको छ ।

फाेटाे: अश्विनी काेइराला र तीर्थराज राेकाया


  •  
  •  
  •