बाह्र घण्टापछि विमानस्थलमा उडान-अवतरण सुचारु

39
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): बाह्र घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध भएकाे विमानकाे उडान-अवतरण सुचारु भएकाे छ।

बिहीबार राति विमानस्थलको रनेवेबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेपछि बन्द रहेको उडान-अवतरण १२ घन्टापछि सुरु भएको हाे।

विमानलाई रनवेतिर ल्याइएकाले अब बाह्य र आन्तरिक उडान अवतरण सुचारु भएको विमानस्थल प्रशासनले जनाएकाे छ।

नेपाली सेना, प्रहरी र निगमका प्राविधिक कर्मचारीले संयुक्त रुपमा विमानलाई केहीबेरअघि दुर्घटनास्थलबाट तानेर पार्किङ क्षेत्रमा ल्याएका हुन्। उक्त कार्यमा नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए। विमान रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको थियो।

मलेसियाको क्वालालाम्पुर उड्न लाग्दा मालिन्दो एयरको जहाज गएराति धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको थियो।

ओडी १८१ नम्बरको मालिन्दा जहाजमा जम्मा १३९ यात्रु थिए। उनीहरुको राति नै सकुशल उद्धार गरिएको थियो। विमानस्थल बन्द भएपछि रातिदेखि नै अवतरणका लागि आएका अन्तरराष्ट्रिय विमानहरु भारत र बंगलादेशतिर डाइभर्ट गरिएकाे थियो। डोमेस्टिक उडान पनि बन्द गरिएकाले सयौं यात्रु अलपत्र परेका थिए।


  •  
  •  
  •