‘राजनीति गर्न पाउने सर्तमा बिहे गरेँ’ : उपसभामुख तुम्बाहाम्फे

‘केटाहरुले खेल्न नदिए कुटेर भए पनि हामी खेल्थ्यौँ’
217
  •  
  •  
  •  

विद्यार्थी अान्दाेलनमा संलग्न हुँदै राजनीतिमा प्रवेश गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलार्इ राजनीति जीवनमा धेरै नै उतार चढाव अाउनुका साथै विगतमा विभिन्न् चुनाैतिहरुकाे सामना समेत गर्नु पर्‍याे।राजनीतिमा लागेपछि कयाैँ पटक उनी जेलसमेत बस्नु परेकाे थियाे। तर देशकाे लागि केही गर्छु भन्ने भावना राखेर हरेक चुनाैतिकाे सामना गर्दै उपसभामुख तुम्हाम्फे अन्तत: राजनीतिमा अब्बल सावित हुन पुगिन्। यसै विषयमा केद्रीत रही ओएनएस न्युज डटकमका लागि सम्झना पौडेलले उपसभामुख तुम्बाहाम्फेसँग गरिएकाे कुराकानीको संक्षिप्त अंश:

पहिलेको र अहिलेको दैनिकीमा के भिन्नता आएको छ ?

पहिला म बढी स्वतन्त्र थिएँ । आफ्नै प्रकारको दैनिकी थियो । बिहान कलेज पढाउँथेँ । कानुनको विद्यार्थी भएकाले दिउँसो कानुनकै अभ्यासमा जान्थेँ । कहिले मानब अधिकार महिला अधिकारसम्बन्धी काम गर्ने संस्थाहरुलाई पनि समय दिनुपथ्र्याे । त्यतिखेर कुन आवश्यकता हो, कहाँ जान उचित रहन्छ भन्ने मलाई महसुस हुन्थ्यो । त्यतिखेर आफ्नो स्वविवेक प्रयोग गरेर जान्थेँ । अहिले यो भूमिका निर्वाह गरिरहँदा के गर्ने, के बोल्ने, कति बोल्ने, कहाँ जाने, कहाँ जान मिल्छ वा मिल्दैन आदि विचार गर्नुपर्छ ।

स्वतन्त्रताको कुण्ठित भएजस्तो लाग्छ ?

त्यसो त होइन । हाम्रो भूमिका संविधानमै उल्लेख गरिएको छ र संविधानले तोकिएकै अधिकार उपयोग गर्नुपर्छ । तर, म यो पदमा नहुँदा एकदमै स्वतन्त्र ढंगले विचार अभिव्यक्त गर्न पाउँथे । तर, अहिले त्यहीअनुरुप मैले गर्न सक्दिनँ । मेरो निजी विचार यहि हो भन्ने भन्दा पनि यहाँ बसिसकेपछि कतिसम्म भन्न वा बोल्न हुन्छ, आकलन गरेर बोल्नुपर्ने हुन्छ ।

यो पदको कारणले आफ्नै मुख बन्द भएजस्तो लाग्दैन ?

लाग्दैन । अधिकारको कुरा अभिव्यक्त गर्नु र व्यक्तिगत विचार प्रकट गर्नु फरक कुरा हो । जस्तो, कुनै विषयमा व्यक्तिगत विचार त भन्न सकिनँ तर यसको बारेमा संविधानमा के बोलेको छ, ऐनमा के छ भन्ने कुरा खुलेर भन्न मिल्छ र सक्छु पनि । संविधानले महिलाको लागि ३३ प्रतिशतको कुरा गरेको छ । त्यो कुरा मैले गर्न मिल्छ र गर्छु पनि ।

तपाईँ नै आबद्ध नेकपामा ३३ प्रतिशत महिला सहभागिता नभएकै कारण प्रमाणपत्र पाउने कि नपाउने भन्ने दुविधामा फस्यो । त्यतिखेर आफ्नो विचार अलिकति कुण्ठित भएजस्तो लागेन ?

म यहाँकाे सञ्चार माध्यम मार्फत के स्पष्ट गराउँन चाहन्छु  भने अहिले म उपसभामुखकाे जिम्मेवारी सम्हालिरहेकाे छु । याे अवस्थामा रहदाँ तपाइले भन्नु भएजस्तै नेकपाकाे कुनै पनि जिम्मेवारीमा छैन्,र पार्टी सदस्य पनि छैन्। अर्काे कुरा मलाई विचारै कुण्ठित भएजस्तो अनुभव हुँदैन। मैले स्वतन्त्र ढंगले जसरी विभिन्न दलहरुसँग आबद्ध महिलाहरुले आवाज उठाएर पार्टी नेताहरुलाई भट्न जाने, आफ्ना कुराहरु बोल्ने र ती समूहसँग प्रत्यक्ष जोडिएर गर्न त मिलेन । तर, दल दर्ता ऐनबारे बोल्नै हुँदैन भन्नेचाहिँ होइन । दल दर्ता ऐनको १५ (४) अनुसार ३३ प्रतिशत महिला अनिवार्य पुर्याउनै पर्छ भन्ने लेखिएको छ भन्नचाहिँ मलाई कसैले बन्देज गरेको छैन । चाहे त्यो व्यक्ति होस् या दल, सबैले कार्यान्वयन गरेर जानुपर्छ भन्ने कुरा कसैले रोकेर रोकिने कुरा पनि होइन ।

यो व्यवस्था कार्यान्वयन हुन्छ जस्तो लाग्छ यहाँलाई ?

ऐनमा लेखिसकेपछि कार्यान्वयन गर्नैपर्छ । यसमा धेरै बोल्नै पर्दैन । केही समय लाग्न सक्छ । तपाईँले नेकपाको प्रसंग उठाउनुभयो । त्यसभन्दा अगाडि आएका दलहरुले पनि ३३ प्रतिशत महिला सहभागिता पु¥याएको थिएन रहेछ र दर्ता त भएका रहेछन् । त्यसपछि एक महिनाभित्र आआफ्नो दलमा ३३ प्रतिशत महिला सहभागिता पु¥याएर ल्याउनू भनेर निर्वाचन आयोगले पत्राचार गरेको रहेछ । आयोगले किन यसरी लेख्यो भन्दा त्यो कुरा ऐनमा लेखिएको छ । तसर्थ, दलहरुले त्यो कुरा पूरा गर्नैपर्ने देखिन्छ ।

आफू जन्मिएको गाउँघरको पृष्ठभूमि हेर्दा आज यस्तोसम्म भूमिकामा आइपुगिएला भनेर कहिल्यै सोच्नु भएको थियो ?

म जन्मिएको तेह्रथुममा हो । पहाडमा जतिबेला यातायातको सुविधा थिएन, सञ्चार सुविधा थिएन । मैले झापामा पढेको हो । झापाबाट एसएलसी गरेर काठमाडौँ आएँ । ल क्याम्पसबाट बीएल गरेँ । महेन्द्ररत्न क्याम्पस, ताहाचलबाट बीएड गरेँ । प्राइभेटबाट स्नातकोत्तर हुँदै विद्यावारिधि गर्दासम्म म काठमाडौँमा थिएँ । पछि विराटनगर फर्केर पढाउन थालेँ । मेरा बाले भन्नुहुन्थ्यो, ‘केही न केही नयाँ काम गरेर मात्र नाम रहन्छ है, नत्र त त्यत्तिकै हराएर गइन्छ ।’
म स्कुल पढ्दा विभिन्न विद्यार्थी संगठनबीच अहिलेभन्दा धेरै झगडा हुन्थ्यो । एउटा संगठनले अर्काे संगठनलाई कुट्ने हुन्थ्यो । त्यही प्रसंगमा ०३९ सालमा प्रहरीले पक्राउ गर्‍यो मलाई, घर घेरा हालेर । बुवा त्यहीँ हुनुहुन्थ्यो । म कहिल्यै पनि घर छोडेर नहिँडेको । तर, बुबाले भन्नुहुन्थ्यो, ‘डराउने होइन छोरी, यिनीहरुले केही पनि गर्दैन ।’ यो मलाई सधैँ याद आउँछ । स्कुलमा केटाहरुले खेल्न नदिए उनीहरुलाई कुटेर भए पनि हामी खेल्थ्यौँ । यसले साहस बढ्दै गयो । त्यही बेलादेखि मलाई देशको कुनै न कुनै नेतृत्व गर्ने पदमा पुग्छु भन्ने थियो ।

भनेपछि, तपाईँ उपसभामुखको पदसम्म आइपुग्नको लागि बुबाले त्योबेला भनेका कुरा प्रेरणादायी बन्न पुगे ?

मान्छे त एक दिन मर्छ तर नाम बाँचिरहन र देशका जनताले सधैँभरि सम्झिरहनको लागि कुनै नयाँ काम गरेर देखाउनुपर्छ भनेर बाले भन्नुहुन्थ्यो । त्यो कुरा अझै पनि म सम्झिरहन्छु । जसले केही नयाँ काम गर्नको लागि, अगाडि बढ्नको लागि अभिप्रेरित गर्छ मलाई ।

०३९ सालपछि फेरि कहिले पनि जेल पर्नु भयो कि भएन ?

०४२ सालमा शिक्षकहरुले काठमाडौँमा आन्दोलन गरे । मेरो जेठो दाइ शिक्षक । आन्दोलन गर्न झापाबाट काठमाडौँ आउनुभयो । शिक्षक जतिलाई प्रहरीले पक्राउ गर्‍यो र आआफ्नो जिल्ला लगेर जेल हाल्यो । दाइलाई भेट्न हप्तामा एकपटक दुईपटक जान्थेँ । एउटा बार बनाइदिएको थियो र अँध्यारोमा अनुहार मात्र हेर्न सकिने बनाएको थियो र कहिलेकाही बाहिरै निकालेर छेउमा राखेर कुराकानी गर्न दिन्थ्यो । त्यस्तै क्रममा हामीलाई पनि पक्रियो । अनि त्यो जेलको गेट खोलेर भित्र छिरायो । सबै छक्क परे । भेट्न आएको मान्छेलाई किन ? पछि तारेखमा छोडियो । दाइहरुलाईचाहिँ धेरै पछि छोड्यो । त्यसपछि म काठमाडौँमा आएँ र विद्यार्थी आन्दोलनमा संलग्न भएँ । ०५२ सालमा विद्यार्थी संगठन छोडेँ । त्यतिबेला म केन्द्रीय उपाध्यक्ष थिएँ । विद्यार्थीका केन्द्रीय स्तरका संगठनहरुमा म नै पहिलो महिला थिएँ, उपाध्यक्ष हुनेमा ।

०६२–६३ को आन्दोलनको अनुभव कस्तो रह्यो ?

०६२–६३ को आन्दोलनमा म विराटनगर थिएँ । हामीले १९ दिनसम्म आन्दोलन गरेका थियौँ । त्यतिखेर त्यस्तो धरपकड भएन । निश्चित समय थियो, निश्चित ठाउँ थियो । त्यहाँ जाने, भाषण गर्ने, कविता वाचन गर्र्ने, जे कला छ त्यो प्रस्तुत गर्ने गर्यौँ । अनि नारा जुलुस त भइहाल्यो ।

विवाहको पाटो कोट्याउँदा के भन्नुहुन्छ ?

मैले ढिलो विहे गरेँ । अनेरास्ववियुमा काम गर्दा तत्काल विहे गर्ने सोच थिएन । तर, एकजना साथीको प्रस्ताव आयो । अनि मेरो सर्त थियो, राजनीति गर्न दिने भए मात्र विहे गर्छु, नत्र गर्दिनँ । भेट्ने कुरा आयो । भेट्यौँ, रत्नपार्कको रातो घर, जहाँ अखिल कार्यालय थियो । ‘ठीकै छ, राजनीति गर्दा हुन्छ भनेपछि कुरा अगाडि बढ्यो ।

वैवाहिक जीवन सुरु गर्दा राजनीतिमा तुषारापात हुने आशंका थियो ?

पहिला नै हाम्रो सहमति त भएकै थियो तर पछिको कुरा के हुन्छ भन्ने फरक कुरा भयो । मैलेचाहिँ राजनीति गर्छु नै भन्ने थियो । जतिबेला मैले अलिकति समाज बुझेँ । छोरा र छोरीबीचको विभेद बुझेँ । त्यसपछि यो फरकपनलाई अन्त्य गर्नुपर्छ भनेर अगाडि बढेको हो । मलाई कसैले राजनीति गर वा गर्नुपर्छ भनेर लागेको होइन । कसैले सिकाएको पनि होइन । आदिवासी जनजाति समुदायमा छोराछोरीबीच विभेद कम छ । तर जब उनीहरु घरदेखि बाहिर आउँछन्, अनि समाजमा जस्तो खालको विभेद छ, त्यसले छोपिदिन्छ । यदि त्यस्तो विभेदले मलाई नढाकेको भए सायद म यसरी यो कल्पना गरेर यसरी अगाडि बढ्न सक्ने थिइनँ । झापामा राजनीति गर्दा रातिराति बैठक बस्थ्यो, हामी सेल्टर भन्थ्यौँ । त्यहाँ जाँदा कहिलेकाहीँ मेरो दाजुहरुले पर्‍याइदिनुहुन्थ्यो ।

ओएनएस न्युज डटकमका लागि सम्झना पौडेलले उपसभामुख तुम्बाहाम्फेसँग गरेकी कुराकानीको संक्षिप्त अंशकाे बाकि भाग अर्को श्रृंखलामा………


  •  
  •  
  •