काठमाडौं, १ फागुन (ओएनएस) : गत बिहीबार सेयर बजार परिसूचक नेप्से करिब २७ अंकले घटेर १ हजार २ सय ९६.२३ विन्दुमा झरेको हो ।
०७२ फागुन १९ गते नेप्से यसैगरी ओरालो लागेर १ हजार २ सय ९५.७३ विन्दुमा पुगेको थियो । त्यसपछि बढ्दै गएको नेप्से गत साउन १२ गते हालसम्मकै उच्चविन्दु १ हजार ८ सय ८१ मा पुगेको थियो । फेरि ओरालो लागेको नेम्से बिहीबार १३ सय भन्दा तल झरेको हो ।
बजार निरन्तर रूपले घट्न थालेपछि लगानीकर्तामा चरम निराशा देखिएको छ । बजारमा सेयर बिक्री गर्नेहरुको ताँती लागेको छ । तर, किन्ने फेला पार्न दलालहरुलाई मुस्किल भइरहेको छ । बिक्री चाप बढ्नु तर सेयर खरिदको दर निकै निराशाजनक रहनुले सेयर बजार नै जोखिमको नजिक रहेको आकलन विश्लेषकहरुले गरेका छन् ।
बिहीबार ५ हजार ५ सय ७१ वटा कारोबार हुँदा १ सय ३४ कम्पनीका सेयर किनबेच भएका थिए । ती किनबेचबाट ५७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । बुधबार ३४ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो निराशाजनक कारोबारले सेयर बजारको आकार अर्थात् बजार पुँजीकरण १४ खर्ब ५८ अर्ब रुपैयाँमा सीमित भएको छ ।
किन भयो यस्तो ?
कुनै बेला सेयर बजारमा केही खेलाडीहरु बिहानै गएर ब्रोकरहरुका काउन्टरमा जान्थे । निश्चित कम्पनीका सेयर अस्वाभाविक रुपमा सस्तोमा खरिद गर्थे । दिनभरि ढुक्थे ।अनि दिन ढल्किनै लाग्दा त्यही सेयर बेच्थे । यही उनीहरुको दैनिकी हुन्थ्यो । आज एउटा–दुइटा कम्पनीको कारोबार त्यसरी अस्वाभाविक रुपमामाथि चढ्थ्यो भने भोलि–पर्सिबाट अरु–अरु कम्पनीको त्यस्तै हुन्थ्यो । तिनै खेलाडीहरु मिडियामा सेयर विश्लेषक भएर प्रस्तुत हुन्थे । समाचारका खेलाडी पनि तिनै हुन्थे । खेल मैदानमा खेलाडी आफै, समाचारको स्रोत आफै र विश्लेषक समेत आफै भएपछि ती खेलाडीहरुले जे फुक्थे, त्यतै घुम्थ्यो सेयर बजार ।
रेफ्री छ भनिए पनि अहिलेसम्म सेयर बजारले भरपर्दो रेफ्रीपाइसकेको छैन । त्यसकारण रेफ्रीसमेत तिनै बलशाली खेलाडीहरु भएपछि जित कसको पोल्टामा पर्ला, अनुमान आफै गर्न सकिन्छ ।
सेयर बजारका खेलाडीह रुकुन क्षेत्रको सेयरमा लगानी गर्दा रातारात मालामाल भइन्छ भन्ने कुरा आकर्षक शब्दावली र तथ्यांक प्रस्तुत गर्थे । आफूले कुम्ल्याएको नाफाको अंक, कुनै क्षेत्र विशेषका कम्पनीको सेयरले शिखर चढेको ग्राफ देखाएर सेयरबारे निरक्षर सर्वसाधारणलाई लठ्ठै पारिदिन्थे । गरीखाने वातावरणको शून्य अवस्था रहेको नेपाली उद्यम बजारमा आउन खोजेको सानोतिनो लगानीलाई सेयर बजारका खेलाडीहरुले तान्थे । सर्वसाधारण पनि तिनै खेलाडीले जताइशारा गर्यो, त्यतै ओइरिन्थे रातारात दोब्बर, तेब्बर नाफाकमाउने धुनमा ।
यो हो वास्तविक हैसियत
अहिले एकाएक सेयर बजारले आफ्नो वास्तविक हैसियत देखाएपछि खाई–नखाई जम्मा गरेको रकम सेयरमा लगानी गरेकाहरु पछुताउन थालेका छन् ।उनीहरु निन्याउरा मुखलाएर उनीहरु १५ सयमा किनेको सेयर ५ सयमा भए पनि बेच्न तयार छन्, तर उनीहरुको सेयर यो मूल्यमा पनि तत्कालै बिक्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
सयको दुई सय पाउने आशामा भित्रिएका लगानीकर्ताहरु ५ सयको सेयर अढाई सयमा बेचेर फर्किन पाउँदा समेत खुसी मान्नुपर्ने बाध्यतामा पुगेका छन् लगानीकर्ताहरु ।
बैंकहरुले ऋणमा कडाइ गरिदिएपछि सेयरका खेलाडीहरुको चलखेल केही कम भएको छ । नत्र भने कुन कम्पनीको मूल्य बढाउनु छ, कसलाई खसाल्नु छ, सब उनीहरुको हातमा हुन्थ्यो । कुन क्षेत्रतिर लगानीकर्ता तान्ने, कुन क्षेत्रबाट लगानीकर्तालाई भगाउने, यो सब उनीहरुकै सनकमा चल्थ्यो । रातारात सेयर बढाउने, चढाउने, लगानीकर्तालाई उक्साउने अनि आएका लगानीकर्तालाई एक रात पनि राम्रोसँग निदाउन नदिने ती खेलाडीहरुको जगजगी कम भएसँगै सेयर बजार वास्तविक धरातलमा ओर्लन खोजेको देखिन्छ ।
भारतीय नोटबन्दीको प्रभाव भनून् वा बैंकहरुमा लगानी योग्य रकमको अभाव, राजनीतिक तरलता होस् वा बैंक तथा बीमा कम्पनीहरुको चुक्ता पुँजीसम्बन्धी नयाँ नीति । बहाना जे देखाएपनि नेपालीअहिले सेयर बजार र लगानीकर्ताहरुको वास्तविक हैसियत यतिखेर देखिएको छ ।
यसबाट प्रस्ट भएको छ, नेपाली लगानीकर्ताहरु ससाना घटनाबाट विचलित भइहाल्छन् । उनीहरुसँग धैर्य गर्ने क्षमता छैन । स्वविवेकले निर्णय गर्ने क्षमता पनि छैन । जता हावा लाग्यो, त्यतै बहकिने उनीहरुको बानीले कहिले आफै खाल्डामा पर्छन् त कहिले बजारलाई नै खाल्डामा पुर्याउँछन् । यतिमात्रहोइनअलिअलिबचत रकमभएकाआफन्तजनलाई समेत यिनैले डुबाइरहेका छन् ।
छैनन् लगानीकर्ता
जसले जेसुकै भने पनि एफपीओ र आईपीओ सेयरका नाममा लाग्ने लाइनले नेपाली लगानीकर्ताको वास्तविक अवस्था देखाउँदैन । एक करोडको सयर खुल्दा पर्ने एक अर्बको आवेदनले पनि नेपाली लगानीकर्ताहरुको वास्तविक लगानी योग्यक्षमता प्रदर्शन गर्दैन । यो त घुमन्ते पैसा हो ।
आज एउटा कम्पनीको नाममा आईपीओ खुल्दा सर्वसाधारण त्यहीँ लाइन लाग्छन् । सय–पचास कित्ताको आवेदनसहित त्यहीँ जम्मा गर्छन् । दुई–चार महिना बैंकहरुलाई सित्तैमा त्यो पैसा चलाउन दिन्छन् । त्यही पैसा अर्को कम्पनीको एफपीओ खुल्दा अर्को बैंकमा जम्मा हुन पुग्छ । त्यही पैसा केही समय त्यस बैंकले चलाउँछ ।
अहिले पनि केही कम्पनीहरुले एफपीओ जारी गर्ने तयारी गर्दै छन् । नेपाली लगानीकर्ताहरु त्यही एफपीओका लागि कुरिरहेका छन् । सरकारले नै स्थापित गरेका कतिपय कम्पनीहरुको आईपीओ आउने हल्लाले पनि लगानीकर्ताहरुले आफ्नो थैली फुकाउन चाहेका छैनन् । अर्थ मन्त्रालयको नेतृत्वतहमा सुन तस्करीका भुरा र ठूला माछाको चर्चाले सेयर बजारका साना लगानीकर्ताहरु झनै हतोत्साहितभएका छन् । बिहान लगानी गरेर साँझ झोलाभरि मुनाफा भरेर घर फर्केको लोभ लाग्दो दृश्य देखाउनेहरु अहिले नोटबन्दीको अभाव झेलिरहेका छन् ।
अझै झूठको खेती
तैपनि, ती खेलाडीहरु लगानीकर्तालाई उक्साउनका लागि भन्दै छन्, अहिले सेयरमा लगानी नगर्नेहरु जीवनमा कहिल्यै सेयर किन्दैनन् । अर्थात्, यतिखेर जुन रुपमा सेयरको भाउ र कारोबार ओरालो लागेको छ, यति सस्तो सेयर कहिल्यै हुने छैन भनेर उनीहरु प्रचार गरिरहेका छन् । यो सरासर झूठ हो । लगानीकर्तालाई उचाल्ने र पछार्ने दाउको नयाँ संस्करण हो ।
सबैभन्दा महत्वपूर्ण पक्ष त के भने कम्पनीका खातापाता हेरेर, नाफा–नोक्सानको हिसाब गरी लगानी गर्न कहिल्यै प्रोत्साहित गरिएन नेपालमा। किनभने, हावाहुन्डरीका भरमा सेयर बजार चलाउन खोज्नेहरु लगानीकर्ता साक्षर र सचेत भएको हेर्न चाहँदैनन् ।
बैंकिङ क्षेत्र : कम छैन जोखिम
नेपाली सर्वसाधारण लगानीकर्ताले बुझ्नुपर्ने गाँठी कुरा के हो भने नेपालको सेयर बजार धानेको क्षेत्र बनेको बैंक र बीमा हो । केही हदसम्म बैंकिङ क्षेत्रले मुनाफा पनि दिइरहेको छ । नेपालको बैंकिङ क्षेत्र पनि नीतिगत अस्थिरताका कारण जुनसुकै बेला ढलपल हुन सक्छ । कुनै पनि बैंक धरापमा पर्नका लागि खराब कर्जाको आकार मात्र ठूलो हुनुपर्दैन । उसको धनको ठूलो अंश गैरबैंकिङ सम्पत्तिका रुपमा थुप्रिँदा पनि समस्या पर्न सक्छ ।
अझ कतिपय बैंकहरु सीईओ तथा उच्च तहका कर्मचारीहरुको धान्नै नकिने तलब सुविधाहरुका कारण थला पर्ने अवस्था छ भने नेपालका धेरै जसो बैंकहरु अव्यावसायिक कर्मचारीले भरिएका छन् । उनीहरु बजारबाट स्वस्थ प्रतिस्पर्धाबाट छानिनुको सट्टा ठूला शक्ति केन्द्र र स्वयं बैंकका संस्थापक–सञ्चालकहरुको भनसुनको भरमा आकर्षक तलबभत्ता खान आइपुगेकाहुन् । त्यसकारण यो क्षेत्रमा लगानी गर्नेहरुलाई पटकपटक नमिठो स्वाद हात परिसकेको छ । र, अब लगानी गर्दा निकै सोचविचार गर्नुपर्ने अवस्था छ ।
अर्कोतर्फ, सेयर बजारका खेलाडीहरुले उक्साउँदैमा लगानी गर्न हतारिनुपर्ने अवस्था किन पनि छैन भने नेपालमा भएका सबै बैंक र बीमा कम्पनीहरुले आफ्नो पुँजीवृद्धि गर्नु अनिवार्य छ ।उनीहरुले अग्राधिकारयुक्त सेयर (राइट सेयर), कम मूल्यमा बेचिते सेयर (एफपीओ) र दावी नगरिएका राइट सेयरहरु सर्वसाधारणलाई नदिई सुखै छैन ।
केही राम्रा कम्पनीहरु एफपीओ जारी गर्न तम्तयार भएर बसेका पनि छन् । केही आईपीओ आउँदै छन् । त्यसैले केही समय कुरेर केही बित्ने वाला छैन ।