कास्की, ५ माघ(ओएनएस) : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारले कर्मचारी, प्रहरी लगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् ।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश कार्यसमिति गण्डकीले शनिबार पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको भनाइ राखे ।
सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको बताए । उनले भने, ‘वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ ।’
हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको बताए ।
देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको भन्दै उनले अवसर पाउँदा पनि सरकारले अवसरको सदुपयोग गर्न नसकेको बताए ।