विरूवा रोपेर प्रधानमन्त्रीले सुरु गरे सिंहदरबार सरसफाई अभियान

345
  •  
  •  
  •  

काठमाडौँ, २९ माघ(ओएनएस) : मुलुकको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबार परिषरमा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्तचन्दनको विरूवा रोपेर ‘सिंहदरबारबाट सरसफाइ, हरियाली प्रवर्द्धन तथा बगैंचा व्यवस्थापन अभियान’को शूभारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजन नजिकै रहेको खाली जग्गामा रक्त चन्दनको विरूवा रोपेर अभियानको शूभारम्भ गरेका हुन् । उनले रक्त चन्दनको विरूवा रोप्ने क्रममा सरकारले सुरू गरेको यो अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् । उनले मुलुकको केन्द्र सिंहदरबारमा फोहोर देखिँदा राम्रो नहुने भन्दै यसलाई सुन्दर राख्न सबैले प्रयत्न गर्नुपर्ने बताएका छन् ।

सिंहदरवार सरसफाईको अभियानका क्रममा सिंहदरबारमा रहेका पुराना गाडि हटाउने, बँगैचा बिस्तार गर्ने, ट्राफिक चिन्हहरू र सडक पेटीमा पार्किङ गर्न नदिने, विद्युत र टेलिफोनका तारलाई व्यवस्थापन गरिने बताइएको छ । प्रधानमन्त्री ओलीले सिंहदरवारलाई सफा आकर्षक बनाउनुपर्ने भन्दै पुराना गाडी काम लाग्ने भए मर्मत गरेर चलाउनुपर्ने र काम नलाग्ने भए कवाडीमा बेच्नुपर्ने बताएका छन् ।

अभियानका क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाप, वातावरणमन्त्री विश्वेन्द्र पासवानले रुद्राक्ष र मुख्यसचिव डा. सोमलाल सुवेदीले श्रीखण्डको बिरुवा रोपेका थिए ।

उद्यानमा रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, बोधीचित्त, चाप, लोठसल्ला, मालागिरी, धुपी, राजवृक्ष, तेजपातलगायतका ५२ बिरुवा रोपिएको छ ।


  •  
  •  
  •