बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?’

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न

‘सत्य’ पक्राउ गर्न गएको प्रहरीले ‘शक्ते’ लाई समातेर मुद्दा चलायो । अदालतले २० वर्ष कैद गर्ने फैसला गर्यो । ती निर्दोष कैदी शशिकुमार तितुङ ‘शक्ते’ को मुद्दा दुई वर्षदेखि सर्वोच्च अदालतमा ‘पालो नआएर’ अड्किरहेको छ ।

sakteकाठमाडौँ, २० पुस : प्रधानन्यायाधीश पदमा नियुक्त भएपछि सुशीला कार्कीले सार्वजनिक कार्यक्रममा पटक–पटक दोहोर्याएर भनिन्, “बरु १० जना दोषी छुटुन्, एकजना पनि निर्दोष नपरून् ।” प्रधानन्यायाधीशको यो भनाइले नगरेको अपराधमा सजाय भोगिरहेका व्यक्तिलाई मुलुकको न्यायप्रणालीप्रति आशा र भरोसा जगाउनु स्वाभाविक थियो ।

२८ मंसीर २०७३ मा सेतोपाटी अनलाइनले राष्ट्रिय समाचार समितिको एउटा समाचार छापेको छ । समाचार प्रधानन्यायाधीश कार्कीले २७ मंसीरमा चितवनको सौराहामा ‘फौजदारी न्यायप्रणालीमा नागरिकको प्रतिरक्षा सम्बन्धी अधिकार’ विषयमा न्यायाधीशहरूको दुईदिने सम्मेलनमा गरेको सम्बोधनको विषयमा छ । समाचारमा प्रधानन्यायाधीशले ‘निर्दोष व्यक्ति नपर्ने गरी न्यायसम्पादन गर्न र निर्दोष मान्छे नपरोस् भनेर विचार गर्न समेत न्यायाधीशहरूलाई आग्रह गरेको’ उल्लेख छ ।

अहिले कार्की प्रधानन्यायाधीश भएको १० महीना पुगेको छ । अब पुग–नपुग चार महीनामा उनी अवकाश हुनेछिन् । तर, प्रधानन्यायाधीश कार्कीको भनाइ जति स्पष्ट, तार्किक र मार्मिक छ गराई त्यसअनुरुप देखिइरहेको छैन । त्यसको एउटा उदाहरण हो, साविक पदमपोखरी गाविस वडा नं. ४ र हाल हेटौंडा उप–महानगरपालिका वडा १३ का ‘शक्ते’ भन्ने शशिकुमार तितुङको मानव बेचबिखन सम्बन्धी मुद्दा ।

६ पुस २०७१ मा सर्वोच्च अदालतमा दर्ता भएर १५ असार २०७३ मा पहिलो पटक पेशीमा चढेको उक्त मुद्दा अहिलेसम्म पाँच पटक पेशीमा चढे पनि चार पटक पालो नआएर स¥यो । आफूले गर्दै नगरेको अपराधमा मकवानपुरको भीमफेदी कारागारमा साढे चार वर्षदेखि जेल जीवन विताइरहेका ‘शक्ते’ भन्ने शशिकुमार तितुङ्ग प्रधानन्यायाधीशले बोलेका भाषण रेडियोमा सुनेर आफूले नगरेको अपराधबाट छुट्कारा पाइने आशामा छन् । “निर्दोष मान्छे नपरुन् भन्ने न्यायाधीशज्यूको भाषण सुनेर आश जागेको छ” कारागारमा रहेका ‘शक्ते’ भन्छन्, “मुद्दाको पालो नै आएन, नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?”

हुन पनि १५ असार २०७३ मा प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोपाल पराजुलीको बेञ्चमा परेको उक्त मुद्दाको पालो नै आएन । दोस्रो पटक ६ भदौ २०७३ मा दीपककुमार कार्की र ईश्वर खतिवडाको बेञ्चमा परेको सो मुद्दालाई हेर्न नभ्याइने भन्दै सारियो । ७ कात्तिक २०७३ मा गोपालप्रसाद पराजुली र सपना प्रधान मल्लको बेञ्चबाट झगडिया झिकाउने आदेश भयो भने ९ मंसीरमा परेको अर्को पेशीमा हेर्न नमिल्ने भनेर सारियो । ११ पुसमा न्यायाधीश शारदाप्रसाद घिमिरे र मीरा खड्काको इजलासमा परेर हेर्न नभ्याइएको उक्त मुद्दाको अबको पेशी १२ माघ २०७३ का दिन तोकिएको छ ।

१२ वैशाख २०६९ मा मानव बेचबिखन आरोपमा प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो । गाउँघरमा साइकल मर्मत गर्ने, चियापसल चलाउने र माछा बेचेर गुजारा गर्ने उनी जेल पर्नुको कारण भने रमाइलो छ ।

घटना २०४६ साल भदौको हो । मकवानपुर मनहरी गाविसका सीताराम थिङ, उनकी श्रीमती विन्दिया र विन्दियाकी फुपू काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दा रहेछन् । पदमपोखरी गाविस वडा नम्बर १ बस्ने श्यामकुमार बम्जन, विन्दियाका श्रीमान् र मकवानपुरकै अर्को एकजना ‘सत्य’ भन्ने व्यक्तिले ‘भारतमा राम्रो तलब पाइन्छ काम गर्न जाऊँ’ भनेर उनीहरूलाई मुम्बई पुर्याएका रहेछन् । २२ वर्षसम्म उनीहरू बेचिएको चर्चा कहींकतै भएन ।

२२ वर्षपछि विन्दिया नेपाल फर्किइन् र आफूलाई बेच्ने श्रीमान् सीताराम थिङ, श्यामबहादुर बम्जन र ‘सत्य’ भन्ने व्यक्ति विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालिन् । सीताराम र श्यामबहादुरलाई पक्राउ गरेपछि ‘सत्य’ भन्ने व्यक्ति खोजिरहेको प्रहरीले गाउँघरमा ‘शक्ते’ भनेर चिनिने शशिकुमार तितुङलाई १२ वैशाख २०६९ मा पक्राउ गर्यो । पक्राउ परेपछि उनले आफ्नो नाम शशिकुमार तितुङ ‘शक्ते’ भएको बताए । तर, उनको कुरा न प्रहरीले सुन्यो न सरकारी वकील र न्यायाधीशले । ‘सत्य’ का नाममा ‘शक्ते’ फसे ।

अपराधी खोज्नका अल्छीले प्रहरीले निर्दोष मानिस फसाएको भनेर शक्तेका छिमेकी र गाउँघरका मानिसहरू अहिले पनि बोल्न तयार छन् । गाउँघरमा बोलाउने ‘शक्ते’ र शशिकुमार तितुङ भन्ने व्यक्ति एउटै भएको भनेर हेटौंडा उप–महानगरपालिका, संयुक्त वडा कार्यालयले प्रमाणित गरेर सिफारिश समेत गरेको छ । (हे. सिफारिश पत्र)

recommendedमानव बेचबिखन अपराधमा ‘शक्ते’ को संलग्नता छैन भनेर गाउँघरका जो–कोही बताउन तयार छन् । ‘शक्ते’ लाई सानैदेखि जाने बुझेका पदमपोखरी गाविसका बासिन्दा र समाजका अगुवा समेत निर्दोष मानिस फसाइएको बताइरहेका छन् । बेचबिखनमा परेकी विन्दियाले (मृत्यु भइसकेकी) समेत मकवानपुर जिल्ला अदालतमा गरेको बयानमा आफूलाई बेच्ने व्यक्ति ‘शक्ते’ नभएको भन्दै आफूले निर्दोष व्यक्तिलाई नफसाउने बताएकी थिइन् ।

अनौपचारिक कुराकानीमा पदमपोखरीका स्थानीयहरू सो अपराधमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको ‘सत्य’ भन्ने अर्कै व्यक्ति गाउँमा छ भनेर पनि बताउन तयार छन् । तर, अनुसन्धान प्रक्रियामा भएको लापरबाही र त्रुटि अनि कानून र प्रमाणको विश्लेषणमा गरिएको कमजोरीका कारण अपराधमा संलग्न नहुँदानहुँदै पनि उनी अहिले भीमफेदी कारागारमा सजाय भोगिरहेका छन् । ‘बरु दोषी छुटुन् एकजना पनि निर्दोष नपरुन्’ भन्ने प्रधानन्यायाधीश सुशीला कार्कीको भनाइ सुनेदेखि ‘शक्ते’ का आँखा सर्वोच्च अदालततिरै छन् ।

खोज पत्रकारिता केन्द्रका लागि 

Comments are closed.

'
Scroll To Top