‘हामी पनि सक्षम छौँ’

263
  •  
  •  
  •  

काठमाडौं, २६ वैशाख (ओएनएस) : “खै, हामी सांसद महिला मात्र पछि पर्यौँ भन्ने लागेको थियो होइन रहेछ, पत्रकार महिलालाई पनि सिहंदरबार बिरानो नै रहेछ ।” मंगलवार संसद सचिवालय प्रवेश गर्दै गर्दाकाे समयमा पत्रकार महिला नआएकोमा ब्यंग्य गर्दै सांसद बिन्दा पाण्डेले यसो भनेपनि ‘महिला भएकै कारण क्षमताले हरेक क्षेत्रमा स्थान नपाएको हो’ भन्ने उनको भाव प्रष्ट झल्किन्थ्यो।’ उपसभामुख शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले पत्रकार महिला र सांसद महिला वीचमा राख्नु भएको छलफलमा त झन् कुरा प्रष्टै आयो । पत्रकार महिलाले गुनासो गरे “तपाई सांसद महिलाहरु किन मिडियामा आउनु हुन्न, जहिले पनि संसदका कुरा पुरुष सांसदले मात्रै भन्नु पर्ने ?” पत्रकारहरुको सामुहिक जस्तै थियो प्रश्न ‘ नीति निर्माणको कुरा र राजनीतिको कुरा त तपाईहरुले पनि गर्दा हुन्छ नि ! किन मिडिया मैत्री नबन्नु भएको हो !’

पत्रकार महिलाहरुले आफूले खोजेको समयमा सांसदहरुले समय नदिएकोमा तितो पोख्ने भन्दा पनि महिलाहरु सबैठाउँमा सक्षम छन् र हुनुपर्छ भन्ने भावना मिसाउन खोजे । पत्रकार महिलाहरुले जसरी प्रश्न गरिरहे उत्तिनै सांसद महिलाहरुले अवसर पाए जस्तो गरेआफ्नो मन भित्रको पीडा बिसाउन। जसरी पत्रकार महिलाहरुको जिज्ञासा र सुझाव मिलेको थियो त्यस्तै मिल्यो सांसदहरुको पीडा र भावना पनि ।

भेटघाटको उदेश्य सहित उपसभामुख शिवमाया तुम्बाहाम्फेले सिंगो महिलाहरुको अवस्था र संसदमा खेल्न सक्ने भुमिकाका र क्षमताको बारेमा धारणा राखेर सुरुवात मात्र के गरेकी थिइन् अन्य सांसदहरुले पनि क्षमता नभएर होइन महिला भएकै कारणले मिडियाले स्थान नदिएको दुखेसो पोख्न थाले ।

उनीहरुले महिलाकै ‘इश्यु’मा खोजे पनि अन्य राजनीतिक विषयमा आफूहरुको स्थान नभएको बिभिन्न उदाहरण पेश गरे । ‘आफूहरुका क्षमता पुरुष सांसदहरुको भन्दा राम्रो हुनसक्ने भए पनि त्यो क्षमता छ भन्ने प्रमाणित गर्ने अवसर मिडियाले नदिएको’ तर्क गरे। मिडियामा पनि पुरुष पत्रकारहरुकै बाहुल्यता रहनु र पत्रकार महिलाहरु सिंहदरवार वा संसदमा नआउनुको सिकार आफूहरु जस्तो राजनीति गर्ने महिलाहरु भएको उनीहरुको भनाई थियो ।

सांसद बिमला बिकले भनिन् “हामी महिलालाई सबै पक्षले हेर्ने आँखा र गर्ने व्यवहारमा बिभेद छ त्यसैले हामी कमजोर मानिएका हौ बास्तबमा हामी क्षमता नभएका कमजोर छैनौ ।” आक्रोस मिसिएका उनका भनाइमा पिडा पनि उत्तिकै भेटियो ।

नेपालगञ्ज एयरपोर्टमा एक पुरुष सांसदलाई त्यहाको प्रहरीले स्यालुट हानेर भीअार्इपी कक्षमा लाँदैगर्दा उनीले पनि त्यही लोगो देखाउदा स्यालुट त के त्यो कक्ष नै प्रयोग गर्न पाईनन । उनले भनिन् ‘ म पनि मान्छे, लोगो पनि एउटै छ तर पनि मलाई सांसद स्विकार गर्न ती प्रहरी तयार भएनन् किन ? किनभने म महिला हुँ ।” घटना फरक भएपनि महिला भएकै कारण हेपिएको अनुभव सांसद अञ्जना बिसंखेका पनि धेरै रहेछन् । उनले भनिन् “हामी महिलाहरु पनि पार्टीमा कुनै पुरुष भन्दा कम योगदान गरेर यो स्थानमा आएका हुँदैनौँ तर हामीलाई किन कमजोर रुपमा प्रस्तुत गरिन्छ ?” पत्रकार महिलाहरुलाई उनको प्रश्न थियो “ सञ्चारकर्मी साथीहरुको नजरमा किन महिला सांसद पर्न सकेनौ ? हाम्रो कार्य क्षमतामा केहि कमीकमजोरी छ भने सल्लाह सुझाव दिनुहोस तर महिला र पुरुष भएकै कारण विभेद भने नहोस्”

उपस्थित सांसदहरुको भनाईको भाव एउटै छ ‘हामी पुरुष सरह नै हरेक पक्षमा सक्षम छौ भने पनि महिला भएकै कारण हामीलाई विभेद गरिन्छ ।” बल्ल बल्ल संसदका कुरा राख्ने मौका पाइन्छ राष्ट्रिय सवालमा पनि बोलिन्छ तर सञ्चार माध्यममा सुन्यो हेर्यो सबै पुरुषले बोलेका कुरा मात्रै ।

‘हामी पुरुष सरह नै हरेक पक्षमा सक्षम छौ भने पनि महिला भएकै कारण हामीलाई विभेद गरिन्छ ।”

सांसद उमा अधिकारीको तर्क थियो अब महिलाहरु थप सक्षम बन्नु पर्छ , हरेक राजनीतिकघटना क्रममा अपडेट हुदै नयाँ प्रबिधिहरुको बारेमा पनि जानकारी लिने गर्नु पर्छ । उनेले भनिन सबै नभए पनि केहि सक्षम क्षमतावान सासंद महिलाहरु हुनुहुन्छ तर पनि सञ्चार माध्यमले स्थान नदिएर दोस्रो दर्जाको मानिसको रुपमा लिन्छन् यो हाम्रो लागी ठूलो चुनौती हो ।
सांसद डा. डिला सग्रौलाले राम्रो भएन मात्रै भन्ने होइन आफूहरुको कमजोरी पनि औल्याउन आग्रह गर्दै भनिन् “महिलाका विषय बाहेकका मुद्धामा पनि महिला सांसदहरू विज्ञ छन् तर सञ्चार माध्यमले पुरुष सांसदलाई प्राथमिकता दिन्छन किन ? यो कुरा हामीले बुझन सकेनौँ ।”

सांसद डा. विन्दा पाण्डेले अहिले विभिन्न ऐन तथा नियमावली निर्माणको क्रममा रहेको भन्दै संसदमा प्रस्तावित विधेयकमा सांसद महिलाले महिला पक्षीय संशोधनहरू राखिरहेको बताईन् । उनको पनि गुनासो छ “ सांसद महिलाको संशोधन प्रस्ताव लगाएतका सहरानीय कामहरु संसदमा गरेका छन् तर सञ्चार माध्यमले त्यता तिर ध्यान दिँदैनन् । ”
उपसभामुख तुम्बाहाम्फेले संसदीय रिपोटिंगमा पनि पत्रकार महिलाहरुको उपस्थिति अपरिहार्य रहेको बताईन् । उनले भनिन् “अधिकांश पत्रकार महिलाको प्रतिनिधि तथा राष्ट्रियसभामा पहुँच नभएको महशुष भएको छ तपाईहको सहज प्रवेशका लागि पास नै कारक बनेको छ भने त्यसको लागि मेरो प्रयास सकारात्मक सहयोग रहने छ ।”

आफूहरुको गुनासो पोख्ने ठाउँ नभएर पत्रकार महिलाहरुलाई सुनाएको भन्दै राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले दुखोसो पोखिन् “ हाम्रो कुरा सुन्ने पत्रकार भएनन् महिलाको कुरा महिलाले त पक्कै बुझ्नेछन र भाेलीका दिनमा हामीलाई थप सजिलो होला भन्ने लागेर तपाईहरुसँग प्रगान बनाउन पनि हामीले यो भेटघाटको आवश्यकता महशुष गर्यौ र त्यसै अनुसार बोलाएको हो । ”

बिभिन्न सञ्चार गृहमा काम गरिरहेका पत्रकार महिलाहरूले सांसद महिला र पत्रकार महिलाबीच निकट सम्बन्ध कायम गर्न छलफल निकै उपयोगी भएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउन सकेमा यसको प्रभावकारीता हुने बताए ।
कार्यक्रममा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, सांसदहरू पुष्पा भुसाल, मिनाक्षी झा, विमला वि.क, सरिता न्यौपाने, रंगमती शाही, शान्तीमाया पाख्रिन लगायत सांसदहरुको उपस्थिती थियो ।


  •  
  •  
  •