साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

समूह‘बी’को उपविजेतासँग बुधबार प्रतिस्पर्धा गर्ने
478
  •  
  •  
  •  

विराटनगर, २ चैत(ओएनएस) : विराटनगरमा जारी साफ महिला च्याम्पियनिसिप फुटबल अन्तर्गको आजको खेलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।

हारले पनि बंगलादेश समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको खेल आइतबार हुनेछ ।

विराटनगरस्थित शहीद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । एक गोल भने नेपालले उपहार पाएको थियो ।

खेलको छैटौं मिनेटमा सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपनि सोही मिनेटमा नेपालले आत्मघाती गोलबाट अग्रता बनायो । कप्तान निरु थापाको चलाखीपुर्ण पासमा सावित्राले गोलरक्षकलाई बिट गरेपनि गोल गर्न सकेकी थिइनन् ।

सोही समयमा अनिता बस्नेतको क्रसमा मसुरा प्रभिनले हेडमार्फत बचाउन खोजेपनि गोल हुन पुगेको थियो । १०औं मिनेटमा कप्तान निरु थापा पनि वान भर्सेस वानमा चुकिन् ।

१५औं मिनेटमा मन्जली कुमारी योन्जको पेनाल्टी एरियाभित्रको प्रहारलाई बंगलादेशकी गोलरक्षक रुपना चक्नाले मुस्किलले बचाइन् ।

१७औं मिनेटमा सावित्रा भण्डारीको हेडर पोस्टबाट थोरै बाहिरियो । लगतार दुई सुन्दर मौका खेर फालेको सावित्राले २३औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता बनाइन् । उनले डिफेन्डरबाट बल खोस्दै गरेको प्रहार दोस्रो नजिकबाट गोल भएको थियो ।

२८औं मिनेटमा मन्जली कुमारी योन्जनले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । सावित्राले बक्सभित्र उपलब्ध गराएको पासलाई मन्जलीले वान टचमै गोल गर्न सफल भएकी थिइन् । बंगलादेशले भने नेपालको पोस्टमा गतिलो अक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा पनि नेपालले बंगलादेशमाथि दवाव सिर्जना गरेपनि थप गोल गर्न सकेको थिएन् । ५८औं मिनेटमा सावित्रा भण्डारीको शक्तिशाली प्रहारलाई ससमासुरा परभिनले बचाइदिए ।

६४औं मिनेटमा सावित्राको प्रहारलाई मसुराले त्यसरी नै बचाइदिए । त्यसपछि थप गोल हुन नसक्दा नेपाल ३–० विजयी हुन सफल भयो ।
नेपालले समूह‘बी’को उपविजेतासँग बुधबार दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ।


  •  
  •  
  •