शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

बाढीपीडितको घाउमा राहतकाे मल्हम लाउन पाउँदा‍…

‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,
आँधी आए तराईमा पहाडले छेक्नु पर्छ।
होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ।।

 

सर्जक दीनेश अधिकारीका शब्दको कालजयी  गीत हो यो। 
 जब मुलुकमा विपत्ति आइलाग्छ तबतब  यो गीत गुञ्जिरहन्छ। हिमाल, पहाड, तराई–मधेस सबै ठाउँमा।   

साउन २९ गते बेलुका ७ बजे। काठमाडौंको लाजिम्पाटस्थित कोठामा एक्लै छु। आज दिनभरी मन विचलित भइरह्यो। छटपटी भइरह्यो । न कलेजमा पढ्ने मन लाग्यो, न रेडियोमा राम्ररी काम गर्ने मन नै लाग्यो। दिनभरी तराईसहित देशका विभिन्न भागमा आएको बिनासकारी बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिका समाचार सुन्दा, पढ्दा र हेर्दा अत्यास लागिरह्यो। मोबाइलमा फेसबुक खोले।

फेसबुकका भित्ताभरी बाढी र पहिरोबाट अकालमा मृत्युवरण गरेका अभागीहरूका बडो मार्मिक तथा मुटु चुडिने तस्बिरहरू राखिएका छन्। पहिरोमा पुुरिएका एकै परिवारका लालाबाला, आमाबाबुका तस्बिर। बाढीले डुबेका गाउँबस्ती। यस्तो लाग्छ, मानौं तराई एकाएक जलकुण्डमा परिणत भएछ। ज्यान जोगाउन ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका मानिस, जताततैं हाहाकार। हे, दैव तेरो कस्तो बिनासलीला।

फेसबुकमा केहीले विनित भावमा अपिल गरेका छन्– ‘तराई बचाऔं, सक्दो सहयोग गरौं।’ सधैं तितो मात्रै सोच्ने र बोल्नेहरूले बाढीको बिनासको जिम्मेवार सरकारलाई बनाएका छन्– ‘मनलागी छुद्र भाषामा गाली गरेर आफ्ना कुण्ठा पोखेका छन्।’ फेसबुकमा राखिएका स्टाटस, सन्देश तथा तस्बिर हेरिरहे।

स्नातकोत्तर प्रथम वर्षका सहपाठी बिष्णु लामिछानेको स्टाट्स देखे। उनले बाढीपीडितका लागि राहत संकलन गरिरहेको तस्बिर राखेका रहेछन्। एकाएक मेरा विचलित मन केही शान्त भयो। मैले तत्काल अठोट गरे– ‘मेरो देशका लाखौं नागरिक बाढी र पहिरोको त्रासदीमा छटपटाई रहेका बेला मैले पनि आफ्नो ठाउँबाट उहाँहरूको पीडामा मल्हम लगाउनु पर्छ। मुलुक बिनासकारी बाढीको चपेटामा परेका बेला म रमिते बनिरहनु हुँदैन।’

मैले साथीहरूलाई फोन गरे। विभिन्न विद्यार्थी संगठन (नेविसंघं अनेरास्ववियु, अखिल क्रान्तिकारी आदि) मा आवद्ध विद्यार्थीहरूमध्येबाट केहीले स्वतन्त्र समूह बनाएर बाढीपीडितका लागि राहत संकलन कार्य अघि बढाएका रहेछन्। मैले पनि सहभागी हुने इच्छा व्यक्त गरे। साथीहरूले भन्नुभयो– ‘पूण्यको काम हो, स्वागत छ।’ दिनभरी थकान एकाएक हरायो। बिचलित मन हल्का भयो। आफूमा स्फूर्ति आएको अनुभव गरे। म खाना पकाउने सुरसारमा लागे। ‘भोलि पूण्य कमाउने काम गर्ने भए’ खाना खाएर यस्तै कल्पना गर्दै म निदाएँ। 

भोलिपल्ट, साउन ३० गते। बिहान सबेरै निद्रा खुल्यो। आफूमा स्फुर्ती महसुस गरे। मलाई कतिबेला राहत संकलन गर्ने ठाउँमा पुगौं भन्ने लागिरह्यो। नित्यकर्म गरिवरी नास्ता गरे। आज मलाई बिहान लामो भएको जस्तो लाग्यो। म अफिस पुगे। केही समय काम गरेपछि मैले ‘राहत संकलनमा जाने’ भनेर छुट्टी मागे। र, साढे ११ बजे क्याम्पसनेर आइपुगे। ६–७ जना साथीहरू आइसक्नु भएको रहेछ। अरू साथीहरूको समूह राहत संकलनका लागि गइसक्नु भएको रहेछ। हामी राहत सामग्री संकलनका लागि पाटनतिर हिँड्यौं।

 

‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ। आँधी आए तराईमा पहाडले छेक्नु पर्छ। होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र । माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ’ राहत संकलन कार्यक्रम, स्वतन्त्र सहभागी यी पंक्तिअंकित व्यानर बोकेर हामी काममा जुट्यौं। 

 

हामी जाउलाखेल पुग्यौ र आठ जनाको समूह बनाएर राहत सामग्री संकलनमा लाग्यौं।

तराईमा भएको बाढीको बिनासबारे प्रायः सबैलाई थाहा छ। हामीले अनुरोध गर्‍यौं– हामी आरआर क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरू बाढीपीडितहरूलाई केही सहयोग गर्न सकिन्छ कि भनेर तपाईंहरूकहाँ आएका छौं। पुरै तराई बाढीबाट तहसनहस भएको छ। लाखौं मानिस बेघरबार भएका छन्। भोकभोकै छन्। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै बाढीले बगाएको छ। सक्दो सहयोग गर्नुहोस्।

मानिसले धमाधम नगद, लत्ताकपडा, चाउचाउ, बिस्कृट, नमकिन दिन थाले। केही व्यक्तिले ‘कति सहयोग गर्नु?’ भनेर पन्छिए। केहीले तितो पोखे– संकलन गरेको रकम र सामग्री आफैं खाने त होला, बाढीपीडितसम्म त के पुग्ला? हामीले भन्यौं– हामी क्याम्पसका विद्यार्थी हौं। हाम्रो नाम, ठेगाना, फोन नम्बर लिनुहोस्। बल्ल उनीहरू हामीप्रति केही विश्वस्त भएको महसुस भयो।

केही घन्टाभित्रै राहत सामग्रीको थुप्रो लाग्यो। प्रायः पसलले लत्ताकपडा प्रदान गरे। बाटोमा हिँडिरहेका मानिसले हामीले थापेको चद्दरमा पैसा फाले। हामी दिनभरी भोकप्यास बिर्सेर राहत सामग्री संकलनमा लागिरह्यौं। केही ठाउँमा हामीले देशभक्ति गीत प्रस्तुत गरेर पीडितहरूको दुस्खकष्टमा ऐक्यवद्धता जनाउन आह्वान गर्‍यौं। कृष्ण जन्माष्टमी पर्व परेकोले कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो भीड थियो। हामीले बोकेको व्यानर पढेर थुप्रै मानिसले चन्दा प्रदान गरे। साँझ पर्न थालेको थियो। हामीले संकलन गरेका सामग्री सबै एउटा गाडीमा राखेर आरआर क्याम्पस पुर्‍यायौं।

आज मलाई जीवनमा धेरै ठूला पूण्यको काम गरेको अनुभव भयो। बाढी र पहिरोमा परेर ज्यान गुमाएका व्यक्तिका परिवार, घाइते, विस्थापित सहितका पीडितहरूलाई सानो भए पनि सहयोग सामग्री जुटाउन पाएकोमा अपार सन्तुष्टि महसुस भइरहेको छ। हामीले करिब ३० लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री संकलन गर्ने अठोट गरेका थियो। यो राहत सामग्री रौतहट जिल्लाका बाढी पीडितलाई प्रदान गर्ने भनेर स्थानीय प्रशासनसंग समन्वय गरेका थियौं।

हामी लगातार तीन दिनसम्म राहत संकलनमा जुट्यौं। पाटन, जाउलाखेल, बागबजार, पुतलीसडक, सुन्धारा, न्युरोड, महावौद्ध, भृकुटीमण्डप, लगायतका स्थानबाट लत्तकपडा, खाद्य सामग्री, रकम संकलन गर्‍यो। हामीले महिला, पुरुष र बालबालिकाका लागि संकलित लुगाकपडा छुट्याएर राख्यौ। त्यस्तै, औषधि, खानेकुरा र अरू सामान अलगअलग बोरामा प्याक गर्‍यौं, ता कि पछि वितरण गर्न सजिलो हो। हामी ५० जना भन्दा बढी विद्यार्थी अलग अलग समूह बनाएर राहत संकलनमा लागिरह्यौं।

प्राकृतिक विपदा पहिले नै सूचना दिएर आउँदैन। विज्ञान प्रविधिले पूर्वानुमानसम्म गर्न सक्छ। तर, कति ठूलो प्रकोप आउँछ र कति जनधनको क्षति गर्छ भन्ने पहिले नै अनुमान गर्न सकिदैन। अहिले मेरो देशको तराई बाढीमा डुबेको छ। जताततै जलमग्न छ। बाढी र पहिरोसंगै मानिसका आँसुका भेल बगेका छन्। घरपरिवार, आफन्त, धनसम्पत्ति गुमाएका लाखौ मानिस एकमुठी अन्न, एकसरो लुगा र एक गज ओभानो ठाउँको आशमा रहेका छन्।

बाढी र पहिरोले गरेको बिनासका अनगिन्ती कथाव्यठा, तस्बिरले मन व्याकुल हुने नै भयो। हे ईश्वर, बाढीमा मृत्यु भएको अवोध बालकलाई गाड्ने ठाउँ नपाएर बाबुले कपडामा बेरेर पानीमै बगाएको तस्बिर पनि हेर्नुपर्‍यो। एक सय १३ जनाभन्दा बढीको मृत्यु भएको छ। उत्तिकै संख्यामा मानिस वेपत्ता भएका छन्। लाखौं मानिस घरबारबिहीन बनेका छन्। लाखौं हेक्टर जमिनमा लगाइएको अन्नबाली स्वाहा भएको छ। हजारौं पशुचौपाया बगेका छन्। जताततै बिनास नै बिनास। तीनचार दिनसम्म रेडियो, टेलिभिजन, अखबार, अनलाइनमा देशभरीका विभिन्न ठाउँका बाढी र पहिरोको बिनासका अत्यासलाग्दा कथाव्यथाहरू आइरहे। सिंगो मुलुक शोकमग्न अवस्थामा रह्यो।

 

कुनै पनि ठाउँका नेपालीले यस्ता विपद् भोग्नु पर्दा अन्यत्रका नेपालीको मन दुख्नै पर्छ। दुई वर्ष अघि आएको महाभूकम्पको घाउँ अझैं आलै छ, त्यसैमा बाढीले बिनास गरेको छ। लाखौं पीडितहरू पीडाले छट्पटाइरहेका बेला हामी सबैका सहयोगी हातहरू एकजुट हुनै पर्दछ।

 

अहिलेको यो बिनासकारी बाढी र पहिरोबाट ज्यान गुमाएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घरबार गुमाउनु भएका तपाईंंहरू सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइको पीडामा हामी साथमा छौं।

बाढी पीडितहरूका लागि राहत संकलनमा म सहभागी बन्न पाए। यसले मैले आफ्नो जीवन सफल भएको ठाने। तराईमा आएको बिनासकारी बाढीका पीडितहरूका लागि राजधानीसहित देशभरीबाट जसरी राहत संकलन भयो र सक्दो सहयोग गर्न जसरी मानिसहरू अग्रसर भए, त्यसले हामीले राजनीतिक स्वार्थका लागि जातजाति, क्षेत्र, वर्ग, वर्णका आधारमा गरेका विभाजनका रेखाहरूलाई मेटाएको मैले अनुभूति गरे।  विपद् पर्दा कोही कसैले मधेस भन्दैन रहेछ, हिमाल वा पहाड भन्दैन रहेछ। बाढीले तराई क्षतविक्षत बनाएको छ। जताततै शोक र पीडा मात्रै देखिन्छन्। तर, अहिले सिंगो मुलुक तराईको पीडामा मलम लगाउन जुरमुराएको छ।

हृदयदेखि नै लाखौंलाख धन्यवाद छ, तपाईहरू सबैमा जसले हाम्रो तीन दिनसम्मको राहत संकलन कार्यक्रममा खुला हृदयले सहयोग रकम र सामग्री प्रदान गर्नुभयो। सबै स्वयंसेवक साथीहरूलाई धन्यवाद, कि मलाई पनि यो पूण्य कार्यमा सहभागी बनाउनुभयो। हाम्रो यो सानो प्रयासले केही परिवारको भोको पेटमा अन्न पुगोस, नाङ्गो आङ ढाकियोस्, बिरामीको मुखमा औषधिमुलो परोस्। सहयोगी सबैमा फेरि पनि हृदयदेखि नै आभार।

Comments are closed.

'
Scroll To Top