बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

पूर्वराष्ट्रपतिका घरधनीलाई प्रश्न : १५ दिनभित्र घर नछाडे जबरजस्ती निकाल्नुहुन्छ ?

पूर्वराष्ट्रपतिका घरधनीलाई प्रश्न : १५ दिनभित्र घर नछाडे जबरजस्ती निकाल्नुहुन्छ ?

काठमाडौँ, २० कात्तिक (ओएनएस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाममा घरभाडा नतिरेको भन्दै घरधनी रविभक्त बिष्टले एक पत्रिकामा १५ दिने अल्टिमेटमसहित सूचना जारी गरेका छन् । बिष्ट हाल अमेरिकामा बस्दै आएको र उनको वारेस रही सूचना निकाल्ने अरुण श्रेष्ठले ओएनएसका भोविन्द्र शाहसँग सोही विषयमा कुराकानी गरेका छन्—

सम्झौता कोसँग र कहिलेसम्मका लागि भएको हो ?
घर बहालको सम्झौता राष्टपति कार्यालय शीतलनिवाससँग भएको हो । पूर्वराष्ट्रपति बसेको आठ महिनापछि मात्रै घरबहालको सम्झौता भयो । उहाँ बस्नु भएको २०७२÷७÷१२ गतेबाट हो । पटकपटक सम्झौता नवीकरण भए पनि अन्तिम सम्झौता २०७४ असार मसान्तसम्मका लागि मात्रै हो । त्यसअघि वैशाख २५ गते नै हामीले पूर्वराष्ट्रपतिलाई घरमा नराख्ने सूचना दिएर हिसाबकिताब चुक्ता गरिदिन शीतलनिवासलाई पत्र पनि पठाइसकेका थियौँ । त्यसको बोधार्थ पूर्वराष्ट्रपतिलाई पनि दिएका छौँ ।

घरबहालको रकम कति पाउन बाँकी छ ?
पैसा गत साउनदेखिको पाउन बाँकी हो । कर कट्टी गरेर महिनाको १ लाख ३० हजार पाउनुपर्ने हो । जम्मा रकम चार महिनाको ५ लाख २० हजार, बत्ती र खानेपानीको अलग्गै छ । तर, पानी धारामा आउँदैन । बत्तीको बाँकी नै छ ।

ram baran suchana

तपाईँको दावी राज्यसँग हो कि पूर्वराष्ट्रपतिसँग ?
सम्झौता राज्यसँग गरेको हो । सम्झौता अनुसारको पैसा लिन पटकपटक राष्ट्रपति कार्यालय जाँदा शीतलनिवासका सचिवले रकम पूर्वराष्ट्रपतिको खातामा दुई लाख पठाउँछौँ, त्यहीँबाट लग्नु भन्ने जवाफ दिए मलाई । पूर्वराष्ट्रपतिसँग बुझ्दा आफूलाई राज्यले ल्याएर बसालेको हो, मलाई सडकमा बसाए पनि अन्त कतै बसाए पनि राज्यले नै जिम्मा लिने हो, तपाईँको पैसा मैले हैन राज्यले तिर्ने हो भन्ने जवाफ आउँछ । बिना सम्झौता म कसरी बसाउन सक्छु ?

तपाईँले पाउनुपर्ने भाडाबारे पूर्वराष्ट्रपतिले कुनै पहल गर्नुभयो ?
तिहार सकिएपछि म प्रक्रिया अगाडि बढाइदिउँला भनेर उहाँले नै मलाई भन्नुभएको हो । तर तिहार लगत्तै छठ थियो, मैले छठपछि भए पनि प्रक्रिया अगाडि बढाइदिनू भन्दा पनि नमानेपछि के गर्ने त ?rambaran house

गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिप्रती यस्तो व्यवहार हुँदा तपाईँलाई कस्तो अनुभूति भइरहेको छ ?
राष्ट्रपतिजस्तो व्यक्ति हाम्रो घरमा बस्नु सौभाग्यको कुरा हो तर राज्यले गरेको बेवास्ताले साह्रै दुख लागिरहेको छ । राज्यले गौरव गर्नुपर्ने ठाउँमा उसैले बेवास्ता गर्दा दुःख त लागिहाल्छ नि ।

अहिले यो अपमानजनक अवस्था आउनुमा घरधनी पक्षको कुनै दोष छैन ?
यसमा हाम्रो कुनै दोष छैन । यो दोष राज्यले लिनुपर्छ । आफू घरधनी भएका हिसाबले पटकपटक सम्झौता गरौँ भन्दा पनि नमान्ने । बिनासम्झौता घरमा कसरी बसाउन मिल्छ ?

के सम्झौता पूरा नभए सार्वजनिक सूचना निकाल्ने भन्ने पनि सहमति थियो ?
राष्ट्रपति कार्यालय शीतलनिवासले तपाईँ प्रक्रियामा जानुहोस् भनेपछि मात्रै हामीले सूचना निकालेका हौँ ।

यदि पूर्वराष्ट्रपतिले तपाईँको घर छोड्नुभएन भने जबरजस्ती निकाल्नुहुन्छ ?
यसमा राज्यले चाहेमा म्याद थप गर्न सक्छ । म्याद थप गर्नका लागि तीन महिनाको सम्झौता गरौँ भन्दा पनि नमान्ने । यसका लागि कानुनी प्रक्रियामा त जानै पर्छ ।

के हो त्यो कानुनी प्रक्रिया ?
यसका लागि कानुनी सल्लाह लिइरहेका छौँ ।

Comments are closed.

'
Scroll To Top