शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

यस्तो छ, प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया

काठमाडौं, ११ जेठ (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा स्वीकृत गरेसँगै सरकार काम चलाउ भइसकेको छ।

प्रचण्डले सत्तासाझेदार कांग्रेससँग भएको समझदारीअनुसार बुधबार पदबाट राजीनामा दिएका थिए।
राजीनामा पछि सरकार काम चलाउ भएसँगै अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ।

प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुनेछ। सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ ।

राष्ट्रपति भण्डारीले एक सातको समयसीमा तोकेर सहमतीय आधारमा सरकार गठनका लागि आह्वान गर्नेछिन्। सहमतीय आधारमा सरकार गठन हुन नसके प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया अघि बढाउनेसम्बन्धी पत्र प्राप्त भएपछि सो प्रक्रिया अधि बढने छ।

तर, अहिलेको समीकरण हेर्दा सहमतिको सम्भावना देखिदैन। कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको समझदारीअनुसार अब बन्ने प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन्।
ती दुई दलबीच भएको भद्र सहमतिअनुसार कांग्रेस सभापति देउवालाई सत्ताको नेतृत्व हस्तान्तरण हुने छ ।

नेपालको संविधानको ‘संक्रमणकालीन व्यवस्था’ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था उल्लेख छ। धारा २९८ (मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था) को उपधारा २ मा ‘व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ।

Comments are closed.

'
Scroll To Top