राष्ट्रपतिमा कसको पल्लाभारी ?

भण्डारी र खनाल प्रमुख दाबेदार, छिनोफानो गर्न आज स्थायी समिति बैठक
350
  •  
  •  
  •  

काठमाडौँ, २२ फागुन (ओएनएस) : राष्ट्रपतिको उम्मेदवारको छिनोफानो गर्न नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दै छ । साँझ ४ बजेपछि बालुवाटारमा बस्ने भनिएको बैठकमा एमालेभित्रैका दुई खेमाले अलगअलग उम्मेदवार प्रस्ताव गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली खेमाले हालकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने तयारी गरेको छ भने झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम लगायतका नेताहरु भने नयाँ उम्मेदवार हुनुपर्ने पक्षमा छन् । ओलीको प्रस्तावमा असहमत पक्षले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्नेछ ।

स्थायी समितिमा ओली नै अल्पमतमा

विगतमा ओली र गौतम एउटै कित्तामा हुँदा एमाले संस्थापनले स्थायी समितिबाट आफ्ना प्रस्ताव सहज रुपमा पारित गराउन सक्थ्यो । यतिखेर उपाध्यक्ष गौतम ओलीसँग असन्तुष्ट छन् । गौतमले गएको निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा पराजय बेहोरेपछि ओली खेमाप्रति शंका व्यक्त गर्दै आएका छन् ।

वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतमले दह्रोसँग खनालको पक्षमा अडान लिएमा भण्डारीको नाम पारित गराउन ओलीलाई हम्मेहम्मे पनि पर्न सक्छ । तर, खनालको पक्षमा अन्य नेताहरु कुन हदसम्म उभिन्छन् भन्नेचाहिँ एकीन छैन ।
मतदान भएमा चाहिँ २२ सदस्यीय स्थायी समितिमा ९ जना मात्र स्पष्टतः ओलीपक्षीय सदस्य छन् । अध्यक्ष ओली, महासचिव ईश्वर पाखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य शंकर पोखरेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल मात्र प्रस्टतः ओली पक्षीय देखिन्छन् ।

उपाध्यक्ष गौतमले ओलीलाई असहयोग गर्ने लाइन लिएमा उनी पक्षका किरण गुरुङ समेत गरी दुई भोट प्रभावित हुनेछ । गुरुङ प्रदेश ४ को मुख्यमन्त्री हुन नपाएकामा पनि ओलीप्रति रुष्ट छन् ।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल गरी तीनजना उपाध्यक्षहरु नेपाल पक्षधर हुन् । उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई पनि नेपाल पक्षधर हुन् । नेपाल पक्षकै स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेले पनि खनाललाई समर्थन गर्न सक्नेछन् ।

भण्डारीको पक्षमा तीब्र लबिङ

तर, ओलीले आफ्नो प्रस्ताव पारित गराउन रातभरमा निकै कसरत गरिसकेका छन् । आज बिहान पनि वरिष्ठ नेता नेपालर उपाध्यक्ष गौतमसँग पटकपटक छलफल गरेका छन् । ओली र गौतमबीचको वार्तामा के कुरा भयो भन्ने स्पष्टसँग बाहिर आइसकेको छैन ।

तर, गौतमले खनाललाई पूर्णतः सहयोग गर्ने वचन पनि दिइसकेका छैनन् । त्यसैगरी नेपाल निकट मानिने तर ओलीसँग पनि उत्तिकै विश्वासको सम्बन्ध बनाएका अर्का उपाध्यक्ष रावलले आफूलाई बीचमा नपार्न र सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनलाई नै लक्षित गरी ओलीले जानीजानी मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेका छन् । यसबीचमा ओलीले नेपाललाई आफ्नो पक्षमा पार्न अनेक कोशिस गरेका छन् । सुरुकै दिन मन्त्रिपरिषदमा नेपाल पक्षधर नेता लालबाबु पण्डितलाई मन्त्री बनाए । त्यसपछि ओलीले नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव समेत विभिन्न माध्यमबाट पठाए । ओलीकै सन्देश लिएर माओवादी अध्यक्ष प्रचण्ड समेत माधव नेपालकहाँ गएका थिए । तर, नेपालले नै आफू राष्ट्रपतिमा इच्छुक नभएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए ।


  •  
  •  
  •