शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

 ‘देशकै खुसी र गौरवका निम्ति खेल्नेछु’

सुदूरकी चेली पुनमको स्वर्ण अनुभव

punam rawal1काठमाडाैं, १९ पुस (अाेएनएस) : हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबको वर्चस्व रह्यो । त्यसमा पनि बक्सिङमा धेरै स्वर्ण जित्यो । बक्सिङतर्फ आर्मीलाई स्वर्ण दिलाउनेमध्ये सबैभन्दा कान्छी खेलाडी हुन्, पुनम रावल । उमेरले १९ बसन्त पार गरेकी पुनमको बाजुरादेखि राष्ट्रिय स्वर्णसम्मको यात्रा अनुभव :

मैले त कुनै खेलमा पदकबिना फर्किनुपरेको छैन । यसअघि म जुनजुन खेलमा गएँ, कुनै न कुनै पदक जितेकै छु । तर, यसपालि मैले मात्र होइन, सिंगो आर्मी क्लबले जित्यो ।**

हामीलाई पनि यसले झन् खुसी र हौसला दिएको छ । यसरी संगठनकै शिर उच्च राख्न सक्नुलाई मैले ठूलो उपलब्धि मानेकी छु ।
यसपटक मनमा केही ढुकढुक थियो । एक त राष्ट्रिय गेमका लागि झापा जाने तयारी गर्दा गर्दै पेट दुख्यो । पेट दुखिरहेकै बेला खेलेँ ।

फाइनल खेल्दा अनुभवी र मभन्दा निकै सिनियर खेलाडीसँग खेल्नुपर्यो । म निकै कान्छी, पहिलोपटक राष्ट्रिय खेलमा भिड्दै थिएँ । फेरि अन्य क्षेत्रीय क्लबहरूभन्दा विभागीय टिमहरुसँग खेल्नु निकै टफ हुन्छ । तर, मैले आफूलाई कमजोर ठानिनँ । मैदानमा उत्रिइसकेपछि मैले आफूलाई सर्वाधिक बलियो खेलाडीका रुपमा पाएँ । मुटु दरो पारेँ । र, खेल्न सुरु गरेँ । जब स्वर्ण जितेँ, त्यसपछि भने मनोबल बढेको छ ।
०००
पहिला बाजुरामा भलिबल खेल्थेँ । ८ कक्षादेखि बक्सिङ खेल्न थालेँ । बाजुरामा गुरु योगेन्द्र थापाले मलाई बक्सिङमा अगाडि बढाउन निकै सहयोग गर्नुभयो । त्यसपछि नै विभिन्न प्रतियोगितामा एक्सपोजर पाएँ ।

खेलमा रुचि त सानैदेखि थियो । हाम्रै बाजुराकी निर्मला भारतीले एथलेटिक्समा नाम राखेको सुन्थेँ । म पनि कुनै दिन त्यही उचाइमा पुग्छु भन्ने सपना देख्थेँ । आज मैले बक्सिङमा राष्ट्रिय रुपमै च्याम्पियन भएर त्यो सपना पूरा भएजस्तो लागेको छ । मालिका उच्च मावि, मार्तडीमा पढ्दा प्राचार्य शुभराज पाध्याय लगायत शिक्षक–शिक्षिकाहरुले पनि मलाई प्रोत्साहित गर्नुहुन्थ्यो । मैले मालिकाको तर्फबाट खेलेका खेलहरुमा पनि आफ्नो स्कुल र गुरुहरुप्रति न्याय नै गर्न सकेको ठानेकी छु ।

गाउँमा म बिहान बिहानै एक्लै दौडन्थेँ । व्यायाम गर्थेँ । कतिपयले एक्लै बिहान बिहान किन दौडेको भनेर गिज्याउँथे पनि । तर, म विचलित भइनँ । मैले आफ्नो लक्ष्य बिर्सिइनँ । प्रयास जारी राखेँ ।

आर्मीमा प्रवेश गर्नुअघि र पछिको अनुभव
punam rawal2हरेक खेलाडीले जितेकै सपना देख्छ । त्यसका निम्ति आफै प्रयास पनि गर्छ । तर, एक्लो प्रयासमा नियमित व्यायाम, प्रशिक्षण र आहार पुग्दैन । हाम्रा क्षेत्रीय टिमहरुको प्रदर्शन कमजोर हुने कारण पनि यही हो । मैले पनि आर्मीमा प्रवेश गर्नुअघि यिनै समस्या बेहोरेँ ।

आर्मीमा प्रवेश गरेपछि एउटा खेलाडीका लागि न्यनूतम आवश्यक खानपान, तालिम र रहनसहनको समस्या भएन । वास्तवमा आर्मीमा प्रवेश नै मेरो खेलजीवनको महत्वपूर्ण मोड बन्न पुग्यो ।

महिला भएर खेल्दा
सुरुसुरुमा म बाजुराबाट बाहिर खेल्न जाँदा मान्छेहरुले कुरा काट्थे । हिजो कुरा काट्ने मान्छेहरु नै आज प्रशंसा गर्न थालेका छन् । महिनावारीको दुखाइ बढी हुने खेलाडीले अलि समस्या बेहोर्छन् । कतिपय महिला खेलाडीले बच्चालाई साथै लिएर खेल्न पुगेका दृश्य पनि देखिन्छन् ।

मैले महिला भएकै कारण कुनै समस्या झेल्नुपरेको छैन । म पहिला दुर्गम, पिछडिएको ठाउँको भएकाले आफूलाई कमजोर ठान्थेँ । मानव विकासको सूचांकमा ७५औं नम्बरमा रहेको बाजुरा । तर, यो सोचाइ पनि गलत रहेछ । प्रमुख कुरा अवसर रहेछ । अवसर पाएपछि जोसुकैले जस्तोसुकै सफलता हासिल गर्न सक्ने रहेछ । आफ्नो प्रयास र लगनशीलता सबभन्दा ठूलो कुरा हो ।

फेरि बक्सिङ भन्ने खेल धेरैले मुक्का र तागतले जितिने खेल ठान्छन् । तर, यो खेल तागतले मात्र जितिँदैन, ट्याक्टिकल पनि हुनुपर्छ । मनोबल अर्को मुख्य कुरा हो । मैले मनोबल उच्च राख्न कोदाको रोटी र पहाडको चिसो पानी खाएको धाक दिएर पनि प्रतिस्पर्धीलाई कमजोर बनाउन सफल भएकी छु ।

अबको तयारी
punam rawalयो जितसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान मेरो बाटो खुलेको छ । मुख्य कुरा क्लबको निर्णय हो । दक्षिण एसियालगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय खेलमा गएर मुलुकलाई पदक दिलाउनु मेरो अबको धोको हो । मलाई अझ बलियो र उम्दा बनाउन क्लबका गुरु तथा सिनियरहरुले पनि आवश्यक सहयोग र हौसला दिने काम गरिरहनुभएको छ । म आफै पनि अझै धेरै गर्नु छ भन्ने ठानिरहेकी छु ।

अहिले मेरो परिवार जति खुसी छ, त्योभन्दा बढी खुसी म पढेको स्कुल मालिका उच्च मावि, मेरो जिल्ला बाजुरा र सिंगो सुदूरपश्चिम भएको छ । मलाई माननीय सांसदज्यू, पूर्वमन्त्री, जिल्लादेखि केन्द्रसम्मका नेता, वरिष्ठ पत्रकारहरुदेखि गाउँमा हलो जोतिरहेका किसान, भारी बोकिरहेका मजदुर, भर्खर कखरा सिकिरहेका स्कुले भाइबहिनी समेतले बधाई र शुभकामना दिएर हौसला बढाउनुभएको छ । म ती सम्पूर्ण मेरा शुभेच्छुकहरुप्रति आभारी छु ।

मलाई हौसला बढाउन फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमा अभियान नै चलाएको पनि मैले पाएँ । मेरो पक्षमा यति ठूलो मास रहेछ भन्ने बल्ल थाहा पाएँ । त्यसैले मलाई लाग्छ, म एक्लो छैन । अबका मेरा हरेक स्पर्धाहरु अब म मेरा लागि खेल्ने छैन । मप्रति शुभेच्छा राख्ने मेरो जिल्ला, क्षेत्र र देशकै खुसी र गौरवका निम्ति म खेल्नेछु । अब म सिंगो देश नै खुसी र गर्व गर्ने सक्ने सफलताका लागि मरिमेट्नेछु ।

कहिलेसम्म खेल्ने ?

जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ, तहिलेसम्म खेल्छु । भारतमा मेरी कोम, हाम्रै नेपाल पुलिसकी अनुराधा लामाले विवाह मात्र हैन, बच्चाबच्ची ठूल्ठूला हुँदासम्म पनि खेलिरहनुभएको छ । म पनि स्वास्थ्य र सबै परिस्थितिले साथ दिएसम्म र अवसर पाएसम्म खेल्नेछु ।

nepal army team

Comments are closed.

'
Scroll To Top