काठमाडौँ, २९ मंसिर ।
दलित महिलालाई मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी इन्चार्ज जिल्ला तानिएका छन् । घटनाको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले समेत गम्भीरताका साथ अनुसन्धान गर्न प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।
काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार प्रहरी चौकी चौबासका इन्चार्ज असइ प्रेमपुकार चौधरीलाई जिल्ला तानिएको छ भने बुधबारदेखि नयाँ इन्चार्ज पठाइनेछ । स्थानीय शिक्षकको नेतृत्वमा विद्यालयको पोलमा बाँधेर कुटपिट गरी दिसा खुवाएको तेस्रो दिन प्रहरीले मिलापत्र गराएको थियो, चौथो दिन महिलाको मृत्यु भएको थियो ।
दुव्र्यवहार भएपछि न्याय माग्न आएका पीडितलाई प्रहरी इन्चार्जले आफूहरूले महिलाको विषय नहेर्ने भन्दै फर्काइदिएका थिए । तर, गाउँमा गएका प्रहरी इन्चार्जले थप अनुसन्धान गर्नुको सट्टा मिलापत्र गराएका थिए । तर, मिलापत्रमा बोक्सी र मलमूत्रको कुरा लेखिएको छैन । ‘निवेदन र मिलापत्रको कागज हेर्दा बोक्सीको विषय कतै देखिएको छैन,’ एसपी थापा भन्छन्, ‘तर पनि आरोप लागेपछि वास्तविकता बुझ्न उनलाई जिल्लामा ल्याइएको हो ।’
नयाँ पत्रिकाबाट