फोरम र राजपाकाे माग अनुसार संविधान संशाेधनमा प्रम अाेलीले चाले यस्ताे कदम

125
  •  
  •  
  •  

काठमाडौँ, २९ जेठ (ओएनएस) : विगत लामाे सयमदेखि मधेश केन्द्रीत दल संघीय समाजवादी फाेरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले संविधान संशाेधन लगायतकाे मुद्दा उठाउँदै अाएकाे मागकाे सुनवार्इ हुने भएकाे छ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको बलुवाटार स्राेतले बताएकाे छ।
संविधान संशाेधनसहित दुर्इ बुँदे लिखित सम्झाैता गरी फाेरम सरकारमा सहभागी भएपछि यसका लागि ने क पा का शीर्ष नेताहरु आफै संवादमा जुटेका छन् । मधेशवादी दलका नेताहरु सरकार संविधान संशोधनमा सकारात्मक संकेत देखाएकाे बताएछन्।

राजपा नेपाल र फोरम नेपालले प्रस्तुत गरेको ११ बुँदे संविधान संशोधन मागमध्ये दुईवटा मागमा मात्र संविधान संशोधन गर्न सरकारले संवाद अगाडी बढाएकाे स्राेतले बताएकाे छ । नागरिकता र भाषाको विषयमा संविधान संशोधन गर्न सरकार तयार भएको फाेरम नेपालका एक नेताले जानकारी दिए ।

भाषा आयोगको सिफारिसमा सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गर्ने र त्यसलाई संविधानको अनुसूचीमा थप गरेर भाषालाई सम्बोधन गर्ने भनी संविधानमा संशोधन गर्नुपर्ने राजपा र फोरम नेपालको माग छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि नेपालको वैवाहिक अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था गरी नागरिकता विवाद सम्बोधन गर्ने गरी सहमति भएको स्रोतले जनाएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ भदौ ५ गते संसदमा संशोधन विधेयक प्रस्तुत गरेको थियो । तर बहुमतले सो विधेयक अस्वीकृत भएको थियो ।

बैठकमा निर्णयार्थ पेश भएको संविधानको दोस्रो संशोधनको विधेयकको पक्षमा दुई तिहाइ मत पुग्न सकेन । ५५३ मतमध्ये प्रस्तावको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो । तर पक्षमा परेको मत संसदमा तत्काल कायम ५९२ सदस्य सङ्ख्याको दुई तिहाइ नपुगेकाले सो विधेयक अस्वीकृत भएको थियो । काङ्ग्रेस, माओवादी केन्द्र तथा फोरम र राजपाले सो विधेयकको पक्षमा मत दिएका थिए ।

विधेयक अस्वीकृत भए पनि राजपा र फोरम नेपालले त्यसलाई मुख्य मुद्दा बनाएर चुनावमा भाग लिएका थिए । मधेसी जनताको भावना अनुसार जसरी पनि संविधान संशोधन गराउने भनी प्रतिबद्धता जनाउँदै चुनाव जितेका फोरम र राजपाले सरकारमा संशोधनका लागि निरन्तर दबाब दिइरहेका थिए।

फलस्वरुप अाज सरकार मधेश केन्द्रीत दलले उठाएकाे मुद्दामा केही हदसम्म सकारात्मक संकेत देखाएकाे छ। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोसँग ने क पा का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले संविधान संशोधनको प्रकृया अगाडि बढाउने विषयमा पटक–पटक छलफल गरेपछि सरकार उक्त प्रक्रियामा जुटेकाे स्राेतले बताएकाे छ।


  •  
  •  
  •