प्रतिनिधि सभा बैठकमा सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश गरिदैँ

51
  •  
  •  
  •  

काठमाडौं, २८ भदौँ (ओएनएस) : संसदका विभिन्न ५ वटा विषयगत समितिले सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश गर्न लगेकाे छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा उक्त विधेयकहरु पेश गर्ने कार्यक्रम रहेकाे संसद सचिवालयले जनाएकाे छ।

प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ । आगामी असोज २ गते भित्र मौलिक हकसँग सम्बन्धित बिभिन्न कानुन बनाईसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले दर्जन बढी विधेयक ल्याएको थियो । यि विधेयकहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिबाट प्रमाणित भएर कानुनका रुपमा आउनेछन् ।

बिहीबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता संरक्षण विधेयक र रोजगारीको हक सम्बन्धी विधेयक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची रहेको संसदका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

सहप्रवक्ता अर्यालका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य अधिकारसम्बन्धी विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनियता सम्बन्धी विधेयक, विकास तथा प्रविधि समितिले आवास अधिकार सम्बन्धी विधेयक प्रतिवेदनसहित पेश गर्नेछन् ।

संसदकै शिक्षा तथा स्वास्थ्य समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक प्रतिवेदनसहित बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।


  •  
  •  
  •