वहसमा बंशिय पहिचान र राज्यविहिनता

62
  •  
  •  
  •  

नागरिकता सम्बन्धि विधेयक संसदको राज्यव्यवस्था समितिमा छलफलमा छ । यो हरेक नागरिकको स्वाभिमान र पहिचानसँग जोडिएको विधेयक हो ।

विन्दा पाण्डे

फरक–फरक अवस्थामा राज्यविहिन हुन पुगेका समुदायले भोग्न परेका समस्या र यसबाट स्वाभिमानमा लागेको चोटको बारेमा सम्बन्धित पक्षले समितिमै आएर आफ्ना अनुभूतीहरु सुनाएका छन् । अभियन्ताहरुले यसका विविध पक्षको बारेमा स्पष्ट पार्ने प्रयत्न गरिरहेकै छन् ।

सवै कुरा सुनिबुझी सकेको राजनीतिक नेतृत्व कोही पनि नेपाली नागरिकको सन्तान राज्यविहिन हुनुहुँदैन भन्ने बारेमा संसदमा होस वा सडक र समाज, आफ्नो प्रतिबद्धता जाहेर गर्दै आएको छ ।

प्रतिबद्धता, अभियान, व्याख्या, सहानुभूती जे–जे गरे पनि चुरो कुरा बन्दै गरेको कानूनले नेपालीका सन्तानलाई राज्यविहिन नबनाइने सुनिश्चितता गर्छ वा गर्दैन ? मुल कुरा यही हो ।

लामो लडाईपछि आजको तहमा विकसित भएको लोकतन्त्रले हरेक नेपालीलाई आफ्नो सरोकारका विषयमा तथ्यमा उभिएर तर्कपूर्ण रुपमा प्रश्न उठाउन सक्ने क्षमता र आफ्ना कुरालाई उचो शिर गरेर राख्न सक्ने आत्मविश्वास र अवसर उपलव्ध गराएको छ । जनताको तहवाट यो काम हुदै आएको पनि छ र नेतृत्वले नागरिकको स्वाभिमानको सम्मान कसरी गर्छ (?) भन्ने कुरालाई नजिकबाट नियाली रहेका पनि छन् । नागरिकताका बारेमा बंशज र अंगिकृत दुई फरक विधा हुन् । यहाँ चर्चा गर्न खोजिएको विषय नेपाली सन्तानको बंशिय पहिचानसँग सम्बन्धित छ ।

के भन्छ संविधानले ?

संविधान सबैभन्दा महत्वपूर्ण कानून हो र यससँगै बाझिएको हदसम्म कानूनी प्रावधान खारेज हुन्छ भन्ने बारेमा हामी सबै सचेत छौं । बंश र बंशजको नागरिकताको बारेमा संविधानमा भएको व्यवस्थाको बारेमा पनि हामि जानकार छौं । जहाँ भनिएको छ, महिलाको हक अन्तरगत संविधानको धारा (३८–१) मा ‘प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशिय हक हुने छ ।’ नागरिक–नागरिकबीचको समानताको बारेमा धारा १८ को (१) मा ‘सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, वैवाहिक अवस्था, ‘लिङ्ग’ वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन र (३) राज्यले नागरिकहरूका बीच उत्पत्ति, ‘लिङ्ग’ वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनिएको छ ।

त्यसैगरी गोपनियता सम्बन्धि हक (धारा २८) मा ‘कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनिएको छ । यस धाराको कार्यान्वयनका सम्बन्धि वैयक्तिक गोपनियता सम्बन्धमा बनेको कानूनको दफा ३–३ ले पनि यस सम्बन्धि व्यवस्था गरिसकेको छ । यी सबैभन्दा माथि संविधानको प्रस्तावनामा नै लैंगिक विभेद अन्त्य गरी समतामुलक समाजको निर्माण गर्ने संकल्प गरिएकोछ ।

नागरिकता सम्बन्धित धारा (११–२–ख) ले गरेको व्यवस्था ‘कुनै व्यक्तिको जन्म हुदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति बंशजको आधारमा नागरिक हुनेछ र धारा ११–५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भन्दै गर्दा यसै उपधारामा ‘तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ भनिएको छ जब की आमा विदेशी भएको ठहरेमा त्यस्तो सन्तानको वारेमा संविधान मौन छ ।

यसरी धारा ११–५ मा गरिएको यो प्रतिवन्धात्मक व्यवस्था माथि उल्लेख गरिएका धाराहरुको विपरित मात्र होइन, सिंगो संविधानको प्रस्तावनामा उल्लेख गरिएको मर्म र भावनाको समेत विपरित छ ।

संविधानमा बाझिएका धाराको व्यवस्थापनको बारेमा संविधान संशोधनको समयमा फेरी छलफल गर्दै गरौंला । यहाँ संविधानले आमालाई स्पष्ट शब्दमा वंशजको रुपमा स्विकार गर्दा पनि अपरिवर्तित परम्परागत

मानसिकताका कारण नेपाली महिला र तिनका सन्तानले भोग्न परेका १३ फरक किसिमको समस्याको बारेमा चर्चा गर्न खोजिएको छ, जुन निम्न अनुसार छन् ।

बंशजको नातालाइ विवाहसंग जोडिने गैर संवैधानिक प्रावधानका कारण उत्पन्न समस्या नागरिकता लिनु पहिला विदेशीसंग विवाह गरेकी छोरीलाई विवाहपछि नेपाली नागरिकता लिने कुरामा अड्चन दिने गरिएको छ । बंशजको नाता रगतसंग जोडिएको हुन्छ भने वैवाहिक सम्बन्ध भावनात्मक पक्ष होे । तर, विवाहको आधारमा वंशजको नाता तोडिने कुरा फगत पितृसत्तात्मक मानसिकताको उपजका कारण नागरिकतामा विभेद गरिएका नेपाली महिला सन्तान ।

नेपाली आमाले नेपालमा नै जन्माएका सन्तानको सहज रुपामा बाबुको पहिचान प्रस्तुत गर्न नसक्दा आमाले समाज र राज्यबाट अपमानपुर्ण व्यवहार खप्न र सन्तान राज्यविहिन हुन परेका अवस्थाहरु रोजगारीको सिलसिलामा बाहिरबाट गएका सुरक्षाकर्मी, कर्मचारी शिक्षक लगायतले कार्य क्षेत्रमा रहदा स्थानिय महिलासंग विवाह गरेर बच्चा जन्मिएपछि बिना जानकारी अन्यत्र सरुवा हुने क्रममा सम्पर्क विहिन भइदिने अवस्थामा आमाले हुर्काइ बडाइ गरिएका सन्तानलाई आमाको पहिचानमा नागरिकता दिन इन्कार गरिएका कारण राज्यविहिन बनाइएका सन्तान ।

बाबुआमाबीचको असमझदारीका कारण छुट्टिएर बसेको अवस्थामा आमासंग वसेका सन्तानको नागरिक पहिचानको सन्दर्भमा पहिचान दिन नचाहने बाबुका कारण राज्यविहिन बनाइएको सन्तान ।

बाबु वेपत्ता भएको अवस्थामा आमाले हुर्काएको सन्तानको नागरिक पहिचान दिदा सम्पत्तीमाथि दावा हुन सक्छ भन्ने आंकलनका आधारमा बाबु पक्षका नातेदारले सिफारिस गर्न नमानेर राज्यविहिन हुन पुगेका सन्तान ।

फरक ठाउँबाट अध्ययन वा काम वा अन्य कारणले बाबु आमाको वतनभन्दा फरक तेस्रो स्थानमा वैवाहिक सम्बन्धवाट बच्चा जन्मिएपछि बाबुको मृत्यु वा बेपत्ता भएका कारण आमाले हुर्काएर वालिग भएपछि आमाको वतन भएको ठाउले बाबुको पहिचान खोजेर राज्यविहिन बनाइएका सन्तान ।

द्धन्द्धकालमा भएको यौन हिंसा र जबरजस्तीकरणीका कारण आफ्नै ठाउमा जन्मिएका वा सामाजिक कारणले आमालाई नै अन्यत्र कतै गएर जन्माएर हुर्काइएका कारण राज्यविहिन हुन पुगेका सन्तान ।

समाजको आधुनिकिकरण र विकासको क्रममा वैवाहिक सम्बन्ध बाहिर जन्मिएर बाबुले स्विकार नगरी आमाले हुर्काएका कारण राज्यविहिन हुन पुगेका सन्तान ।

बाबु विदेश गएको वा बेपत्ता भएको वा आपराधिक केसमा जेल सजाय पाइरहेका कारण आमाले हुर्काएका र बाबुको पहिचान दिन नसकेको वा नचाहेका कारण राज्यविहिन हुन पुगेका सन्तान ।

जबरजस्तीकरणीवाट रहन गएको गर्भबाट विभिन्न सेल्टरमा जन्मिएर आमाले हुर्काइएको र वावुको पहिचान दिन नसकेको कारण राज्यविहिन हुन पुगेका सन्तान ।

संविधानले आमालाइ समान बंश माने पनि बाबु विदेशी भएको कारण देखाउदै विविध किसिमका अल्झन देखाउँदै नागरिकता दिन इन्कार गरिएकाले राज्यविहिन हुन पुगेको अवस्थाहरु

नेपाली महिलाले विदेशी नागरिकसंग नेपाल मै विवाह गरी यही जन्मिएर हुर्किएका सन्तानलाई विदेशी बाबु भएको कारण बंशिय पहिचानवाट बञ्चित गरिएक सन्तान ।

वैदेशिक रोजगारीको सिलसिलामा यौनजन्य हिंसाका कारण गर्भ वा वच्चासहित नेपाल फर्किएका नेपाली आमाका कारण राज्यविहिन हुन पुगेका सन्तान ।

विदेशीसंग बिवाह भइ विविध कारणले श्रीमानको परिवारमा वस्न नसकी नेपाली नागरिक आमासंगै नेपाल आएर हुर्किका कारण राज्यविहिन हुन पुगेका सन्तान ।

विदेशमा रहदा विदेशी पुरुषसंग विवाह भई विदेशमा जन्मिएका तर नेपाली नागरिक आमासंग नेपाल आइ हुर्किएका र नेपाली भएर वाच्न चाहे पनि विदेशमा जन्मिएका विदेशी बाबु भएको कारण राज्यविहिन हुन पुगेका सन्तान ।

संविधानमा उल्लेख गरिएको आमा वा बाबुलाई समान हैसियतको वंश मान्ने गरी उल्लेख गरिएको भाषा र भावना दुबैका आधारमा परम्परागत मानसिकतामा परिवर्तन गर्ने हो भने माथि उल्लेख गरिएका कुनै पनि किसिमको समस्या नेपाली आमाको हुर्काइमा रहेका सन्तान राज्यविहिन हुन नपर्ने हो । तर, वास्तविकता त्यस्तो हुन सकेको छैन ।

त्यसैगरी, राज्यविहिनताको अवस्थाका थप दुई क्याटेगोरीमा

२०६३ सालमा जन्मका आधारमा नागरिकता लिने क्रममा आमा–वावु र उमेर पुगेका दिदी–दाजुले नागरिकता पाएका र त्यस समयमा नावालिग रहेका तिनै आमा–बाबुका सन्तान वा दिदी–दाजुका भाइ–बहिनी अहिले उमेर पुगेर पनि आफ्ना अभिभावकाको सिफारिसमा नागरिक पहिचान प्राप्त गर्न नसकेर राज्यविहिन हुन पुगेका छन् ।

नेपालमा पुस्तौदेखि बसोबास गर्दै आए पनि

गरिबीका कारण कुनै जग्गा जमिन वा अचल सम्पत्तीमा स्वामित्व नभएका वा स्थायी वतनका प्रमाण पु¥याउन नसकेको श्रम गरी जीवन निर्वाह गर्दै आएका श्रमजीवी जनताका सिंगो परिवार नै नागरिक पहिचान विहिन अवस्थामा रहेका छन । यसरी गरिवीका कारण राज्यविहिन हुनेमा बहुसंख्यक परिवार दलित समुदायवाट रहेका छन ।

नयाँ संविधानले समावेसीता, सहभागिता र सामाजिक न्यायसहितको समतामुलक समाज निर्माणको भावनालाई आत्मसात गरे पनि अझै हजारौं नेपाली नागरिक पहिचानको अनिश्चिततामा बाँचिरहेका छन् । यसको कारण राज्य र राजनीतिक पार्टीका नीति नभएर होइन, आधिकारिक ठाउँमा रहेका राजनीतिक नेतृत्व र अधिकारीमा रहेको विभेदपूर्ण परम्परामा आधारित मानसिकता हो भन्ने कुरामा कुनै भ्रम छैन ।

परिवर्तित समय, चेतना र सामाजिक न्यायको मागको सापेक्षतामा बनेको नया संविधानको भाषा र भावनाको कार्यान्वयनका लागि मानसिकता र सोचमा पनि परिवर्तन आवश्यक छ भन्ने कुरा सवैले वुझ्न र आत्मसात गर्न जरुरीछ । एउटा नागरिक भोकै रहेसम्म सवै नेपालीले खान पाएका छन भन्ने सकिंदैन भने झैं एउटा व्यक्ति राज्यविहिनतामा तड्पिदासम्म सबै नेपालीको स्वाभिमानी शीर उचो भएको मान्न सकिदैन भन्ने भावनाका साथ अब बन्ने कानुनले सबै नेपालीका सन्तानलाई राज्यविहिन हुनबाट निकास दिन सक्ने गरी संसदिय समिति, सिंगो संसद र राजनीतिक दलहरुको ध्यान पुग्ने कुरामा प्रभावित पक्षहरु अपेक्षारत छन् । पाण्डेको ब्लकबाट

(लामो समयदेखि नागरिकताका विषयमा आवाज उठाउँदै आएकी पाण्डे नेकपा सांसद हुन् ।)

 


  •  
  •  
  •