एनआरएनएमा अब ६ उपाध्यक्ष

88
  •  
  •  
  •  

काठमाडौं, २७ असाेज (ओएनएस) : गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ले ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेकाे छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभा बैठकले विषयगत रुपमा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको हाे । एनआरएनएका महासचिव डा बद्री केसीले ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्न लागिएकाे बताए।

विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने उनले जानकारी दिए । परिषद्को कार्यकाल भने साविक झै दुई वर्ष नै रहने भएको छ । महाधिवेशनमा प्रतिनिधि सङ्ख्या भने पुरानै विधानअनुसार प्रति एक हजार बराबर १०० नै रहने भएका छन् ।

हाल तीन उपाध्यक्ष रहेकामा विषयगत उपाध्यक्ष थप्ने, एनआरएनएको दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने, महाधिवेशन प्रतिनिधि सङ्ख्यामा पुनःमूल्याङ्कन गर्नेलगायत प्रस्ताव विधानसभामा प्रस्तुत भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।

वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै ६ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो ।


  •  
  •  
  •