मन्त्री महासेठले भने- ‘वामदेवलार्इ चुनाव लडाउँने आधिकारिक निर्णय भएको छैन’

71
  •  
  •  
  •  

काठमाडौं, २४ असाेज (ओएनएस) : भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । बुधबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले सो दाबी गरेका हुन् ।

उनले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

उनले थप्दै भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामवीर मानन्धरले राजीनामा दिने भनेर भन्नुभएको छ । तर, राजीनामा दिनुभएको छैन । र, उहाँले राजीनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजीनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’

उनले सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ । लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ ।’

महासेठले सरकार अहिले संकटमा नभएको पनि जिकिर गरे । उनले भने,‘सरकार दुई तिहाईको छ । हामी दायाँरबायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’ उनले अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाई दिनेपनि दाबी गरे ।

उनले भने, ‘जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं । आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ ? कसैले कल्पना पनि गर्न सक्दैन् ।’

सरकारको कामप्रति असहमति जनाउँदै बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा बोलेको कुराप्रति टिप्पणी गर्दै महासेठले भने,‘संसदमा उहाँले नेताभन्दा पनि प्रतिनिधिसभा सदस्यको हैसियतले बोल्नुभएको छ । उहाँले बोलेको ठिक की बेठीक भनेर म अहिले टिकाटिप्पणी गर्न चाहान्न । किनकि टिकाटिप्पणी गर्ने हाम्रो आफ्नै ठाउँ छ । हामी अहिले एउटै कमिटीमा बसिरहेका छौं ।

उनले विकासको दृष्टिकोणमा आफूहरुले धेरै नयाँ–नयाँ योजनाहरु ल्याएको पनि दाबी गरे । महासेठले भने,‘विकासको काममा हामीले धेरै फड्को मारेका छौं । १२ सय किलोमिटरको मदन भण्डारी राजमार्गको काम हामीले सुरु गरिसकेका छौं । अहिलेसम्म २२ वर्षदेखि बनाउन नसकेको हुलाकी राजमार्ग यो तीन वर्षभित्रमा हामी पूर्ण रुपमा सम्पन्न गर्न गैरहेका छौं । म यही मञ्चबाट मिडियामार्फत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भन्न चाहन्छु की आगामी चुनावमा तपाईहरुले यही बाटो हिँडेर भोट चाहीँ माग्न सक्नुहुन्छ।’


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here